काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई रोमाञ्चक जित हात पार्दै दुई विकेटले हराएको छ। स्कटल्यान्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीले दिएको ९८ रनको लक्ष्य एक बल बाँकी छँदै ८ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन जोडे। दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ तथा किरन ठगुन्नाले १० रनको योगदान गरे। स्कटल्यान्डतर्फबाट सफ्यान शरिफ र माइकल लिस्कले समान दुई दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो। माइकल लिस्कले ४६ रन बनाए भने म्याथू क्रसले १५ र ब्राण्डन म्याकमुलनले १० रन जोडे। बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका बलरमध्ये सन्दीप लामिछाने सर्वाधिक सफल रहे। उनले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिँदै एक मेडेन ओभर पनि पूरा गरे। दीपेन्द्र सिंह ऐरी र करण केसीले पनि समान दुई दुई विकेट लिए।
नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्म गएकाे प्रतिस्पर्धामा पराजित भएको थियो।







