Sunday, August 2, 2026
Homeखेलकुदनवौँ महिला एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै

नवौँ महिला एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै

काठमाडौँ: एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको नवौं संस्करण आज शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ ।

साउन ४ देखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रूपमा युएई छ ।

प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।

शुक्रबारको खेल

नेपालविरुद्ध युएई (अपराह्न १४ः१५ बजे)
भारतविरुद्ध पाकिस्तान (राति १९ः१५ बजे)
पहिलो दिन दुई खेल

प्रतियोगिताको पहिलो दिन शुक्रबार नै नेपाली टोलीले आफ्नो पहिलो खेल खेल्नेछ । नेपालले समूहगत चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो । नेपाल र युएईबिचको खेल नेपाली समयअनुसार, अपराह्न १४ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो अर्को खेल पनि हुनेछ । शुक्रबारको दोस्रो खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान आपसमा भिड्ने छन् । भारत र पाकिस्तानबिचको खेल नेपाली समय अनुसार, राति १९ः१५ बजे सुरु हुनेछ ।

नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ ।

नेपालको तीन अभ्यास खेल

एसिया कपको अन्तिम तयारी र सहभागिताका लागि नेपाली टोली करिब दुई साताअघि नै श्रीलङ्का पुगिसकेको छ । एसिया कपअघि नेपाली टोलीले श्रीलङ्कामै अभ्यास खेल पनि खेलेको थियो । नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग खेलेको तीनवटा अभ्यास खेलमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।

नेपाली टोली पहिलो अभ्यास खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । नेपाली टोली दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको थियो । तेस्रो अभ्यास खेलमा भने नेपाली टोलीले दुई रनको रोमाञ्चक जित हासिल गरेको हो ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका