काठमाडौं । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरण प्रकरणमा मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ।
विशेष अदालतका अनुसार यसअघि दीपक भट्टसमेतलाई प्रतिवादी बनाएर दर्ता भएको मुद्दामा थप अनुसन्धानपछि पूरक आरोपपत्र पेश गरिएको हो।
पूरक आरोपपत्रमा विष्णु प्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनी (प्रालि) गरी कुल १६ जनालाई प्रतिवादी बनाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार प्रतिवादीहरूले दीपक भट्टलगायतको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत छिपाउने उद्देश्यले सहयोग गरेको आरोप लगाइएको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मतियारको भूमिका खेलेको अभियोग लगाइएको विभागले जनाएको छ।
विभागले विष्णु प्रसाद पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै एभरेष्ट बैंक लिमिटेडमा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा जफत गर्नसमेत मागदाबी गरेको छ।
विशेष अदालतले जारी गरेको सूचनाअनुसार थप अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पूरक आरोपपत्र दर्ता गरिएको हो। अब उक्त मुद्दाको सुनुवाइ विशेष अदालतको नियमित न्यायिक प्रक्रियाअनुसार अघि बढ्नेछ।
यसअघि यही प्रकरणमा व्यवसायी दीपक भट्टविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भइसकेको थियो।


