बैंकक । थाइल्याण्ड र कम्बोडियाबीचको सीमा विवाद फेरि चर्किँदै गएको छ। ऐतिहासिक प्रेह विहेर मन्दिर क्षेत्रलाई लिएर जारी विवादबीच पछिल्लो केही दिनमा गोली हानाहानदेखि हवाई हमला र रकेट प्रहारसम्मका घटना घटेका छन्।
पछिल्लो घटनाक्रममा थाइल्याण्डले कम्बोडियाको सैन्य अखडामाथि हवाई आक्रमण सुरु गरेको छ। यसअघि बिहीबार बिहान दुवै देशका सैनिकबीच सीमामा गोली हानाहान भएको थियो। कम्बोडियाको विदेश मन्त्रालयले थाई सेनालाई पहिले गोली चलाएको आरोप लगाएको छ, भने थाई सेनाले कम्बोडियाले पहिले ड्रोन पठाएर उत्तेजक गतिविधि गरेको र त्यसपछि तोप तथा लामो दूरीका बिएम-२१ रकेट प्रहार गरेको दाबी गरेको छ।
इतिहासले बोकेको विवाद
११०० वर्ष पुरानो शिव मन्दिर ‘प्रेह विहेर’ ९औं शताब्दीमा खमेर सम्राट सूर्यवर्मनले निर्माण गरेका थिए। मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई राष्ट्रवाद, राजनीति, र सैन्य शक्ति प्रदर्शनको प्रतीकसमेत बनेको छ।
सन् १९०७ मा फ्रान्सेली उपनिवेशकालीन नक्शाले मन्दिर कम्बोडियाको भूभागमा देखाएपछि सीमा विवादको सुरुआत भएको मानिन्छ। थाइल्याण्डले १९३० मा यसको विरोध गरे पनि अन्तर्राष्ट्रिय न्यायालयले सन् १९६२ मा मन्दिरको स्वामित्व कम्बोडियालाई दिने निर्णय गर्यो। तर, थाइल्याण्डले त्यस निर्णयलाई पूर्ण रूपमा स्वीकार गरिसकेको छैन।
राजनीतिक भूकम्पको प्रभाव
२ जुलाई २०२५ मा थाई प्रधानमन्त्री पैतोंगटार्न सिनावात्रा अदालतद्वारा निलम्बित भएपछि परिस्थितिमा झनै तनाव बढ्यो। एक सार्वजनिक भएको फोन वार्तालापमा उनले कम्बोडियाका वरिष्ठ नेतालाई “काका” भनेको पाइएपछि, राष्ट्रिय स्वाभिमानको प्रश्न उठ्दै उनको राजीनामा माग गरिएको थियो।
ताजा हिंसात्मक झडप
मे २०२५ मा थाइल्याण्डले कम्बोडियन ड्रोन आफ्नो क्षेत्रमा देखिएको दाबी गर्दै सैन्य प्रतिक्रिया स्वरूप एफ-१६ लडाकु विमान प्रयोग गर्यो। कम्बोडियाले भने थाई सेनाले बिना उत्तेजना आक्रमण गरेको र उनीहरूले आत्मरक्षामा मात्र जवाफ दिएको दाबी गरेको छ।
पछिल्लो झडपमा बिहीबार कम्बोडियन सेनाको गोलीबाट थाइल्याण्डका १४ जनाको मृत्यु भएको छ, जसमा १ सैनिक र १३ सर्वसाधारण छन्। घटनामा १० भन्दा बढी घाइते भएका छन्।
स्थिति अझै तनावपूर्ण
यद्यपि केही महिनाअघि स्थानीय तहमा सम्झौता भए पनि पछिल्लो झडपले परिस्थिति पुनः भड्काएको छ। दुबै देशका सेनाहरू मन्दिर क्षेत्र वरपर बाक्लो उपस्थितिमा छन्, र राष्ट्रवादी भावना चर्किँदै गएको छ।
विश्लेषकहरूका अनुसार यदि तत्काल कूटनीतिक पहल भएन भने यस विवादले अझै ठूलो क्षेत्रीय संकटको रूप लिन सक्ने खतरा छ।


