भैरहवा — चार वर्षअघि उद्योगमा जडित ट्रंक विद्युत् प्रसारण लाइनको शुल्कलाई लिएर विद्युत् प्राधिकरण र स्थानीय उद्योगीबीच विवाद बल्झिएको छ । भैरहवा–बुटवल औद्योगिक करिडोरअन्तर्गतका २३ वटा ठूला उद्योग र प्राधिकरणबीच शुल्कका विषयमा लामो समयदेखि विवाद छ ।
सम्बन्धित उद्योगले माग नगरेको र विद्युत् प्राधिकरणले जानकारीबिनै एकतर्फी रूपमा ट्रंक विद्युत् लाइन जडान गरेर महँगो महसुल असुल्न खोजेको व्यवसायीले आरोप लगाउँदै आएका छन् । उनीहरू त्यस्तो महसुल चुक्ता गर्न तयार छैनन् । प्राधिकरणले भने ट्रंक लाइनबापत बक्यौता महसुल भन्दै जरिवानासहित तिर्न बारम्बार व्यवसायीलाई ताकेता गर्दै आएको छ ।
प्राधिकरणले ट्रंक लाइन विद्युत्बापतको बक्यौता महसुल असार मसान्तभित्रै भुक्तानी गर्न र नसके जरिवाना लाग्ने भन्दै पछिल्लोपटक सूचना जारी गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । व्यवसायीले यस विषयलाई लिएर आन्दोलनको चेतावनी दिएका छन् । विभिन्न व्यावसायिक संघसंस्थाले व्यवसायीको आन्दोलनलाई पूर्ण रूपमा साथ दिने प्रतिबद्धता आइतबार आयोजित पत्रकार सम्मेलनमा गरे । ‘व्यवसायीले माग्दै नमागेको ट्रंक विद्युत् लाइन प्राधिकरणले एकतर्फी रूपमा जडान गर्ने र दुई वर्षपछि जबर्जस्ती बक्यौता महसुल असुल्न खोज्ने प्रवृत्ति कुनै पनि हालतमा सह्य हुन सक्दैन,’ नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘हामी सबै व्यवसायी र व्यावसायिक संघसंस्था प्राधिकरणको यस अन्यायविरुद्ध एक छौं ।’ आफूखुसी निर्णय गरेर व्यवसायीमाथि जबर्जस्ती महसुल लाद्ने अधिकार प्राधिकरणलाई नभएको उनले बताए । २०७४ चैतमा प्राधिकरण भैरहवा वितरण केन्द्रले
आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न भन्दै योगीकुटी–भैरहवा करिडोरका उद्योगलाई १० देखि १५ दिनसम्म सटडाउन लिई भरौलिया सबस्टेसनबाट विद्युत् आपूर्ति गरेको थियो ।


