Sunday, April 19, 2026
Homeखेलकुदटी–२० विश्वकपमा आज नेपाल र इटाली भिड्दै, सुपर–८ यात्राका लागि निर्णायक खेल

टी–२० विश्वकपमा आज नेपाल र इटाली भिड्दै, सुपर–८ यात्राका लागि निर्णायक खेल

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ । मुम्बईस्थित वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे नेपाल र इटालीबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । समूह ‘सी’ मा सुपर–८ चरणमा पुग्नका लागि यो खेल दुवै टोलीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ । अर्को हारले दुवै टोलीको विश्वकप यात्रा लगभग समाप्त हुन सक्ने भएकाले खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ ।

वानखेडे रंगशालामा इंग्ल्यान्डविरुद्ध उच्च स्कोरिङ खेल खेलेको नेपालले उक्त मैदानको पिच र अवस्थाबारे राम्रो अनुभव बटुलेको छ । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले मुम्बईमा खेल्नु नेपालका लागि फाइदाजनक भएको बताएका छन् । उनले इटालीलाई बलियो टोली मान्दै बनाइएका रणनीति मैदानमा उतार्ने तयारी रहेको बताए ।

इटाली भने कोलकाताको इडेन गार्डेनबाट मुम्बई आएको हो । इटालीले अभ्यास सत्र वानखेडे रंगशालामा नभई डिवाइ पाटिल रंगशालामा गरेको छ । इटालीका प्रशिक्षक जोन डेभिसनले नेपालविरुद्धको खेल चुनौतीपूर्ण हुने बताउँदै जितका लागि मैदान उत्रने बताएका छन् । यद्यपि, काँधमा चोट लागेका कप्तान वेन म्याडसनले नेपालविरुद्धको खेल गुमाउने भएका छन् ।

नेपाल र इटालीबीच टी–२० अन्तर्राष्ट्रिय खेलमा यो पहिलो भेट हुनेछ । यद्यपि, दुई टोलीबीच यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा भएको थियो । ती तीनै खेलमा नेपाल विजयी भएको थियो ।

नेपाली टोली पछिल्ला वर्षहरूमा टी–२० फर्म्याटमा बलियो बन्दै गएको छ । सन् २०२५ मा वेस्ट इन्डिजविरुद्धको सिरिज २–१ ले जित्नु नेपालका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यद्यपि, नेपालले विश्वकपमा पछिल्लोपटक सन् २०१४ मा अफगानिस्तानलाई हराएको थियो । त्यसयता नेपाल विश्वकपमा जितविहीन छ । त्यसैले इटालीविरुद्धको खेल नेपालका लागि १२ वर्षपछि विश्वकप जित हासिल गर्ने अवसरका रूपमा हेरिएको छ ।

नेपाली टोलीको ब्याटिङमा ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख भर मानिएका छन् । मिडल अर्डरमा कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीका महत्वपूर्ण खेलाडी हुन् । बलिङतर्फ सन्दीप लामिछानेको लेग स्पिन, करण केसी र नन्दन यादवको तीव्र गति तथा युवा बलर शेर मल्लको प्रदर्शन टोलीका लागि बलियो पक्ष बनेको छ । तर डेथ ओभरमा रन रोक्नु नेपालका लागि चुनौती देखिएको छ ।

इटाली पहिलो पटक विश्वकप खेलिरहेको छ । नियमित कप्तान अनुपस्थित भए पनि जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडी मानिएका छन् ।

यस खेलमा अर्को रोचक संयोग पनि देखिन सक्छ । इटालीका मानेन्टी र मुस्का दाजुभाइसँगै नेपालका आरिफ र आसिफ शेख गरी एकै खेलमा तीन जोडी दाजुभाइ मैदान उत्रने सम्भावना रहेको छ, जसले दुर्लभ कीर्तिमान बन्न सक्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका