काठमाडौँ: जापानी फुटबल स्टार खेलाडी केइसुके होन्डा अहिले काठमाडौंमा छन्। उनी एसियाली फुटबल महासंघको तेस्रो डिभिजनको क्लब प्रतियोगिता एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटको खेल खेल्न नेपाल आएका हुन्।
तीन दिनअघि नेपाल आएका होन्डा भुटानको पारो एफसीसँग यसै सिजन आबद्ध भएका थिए। भुटानी क्लबमा आबद्ध भएका सबैभन्दा ठूला स्टार होन्डा संयोगले नेपाल पनि आइपुगे। च्यालेन्ज कपको प्रारम्भिक छनोटमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग खेल्न उनी नेपाल आएका हुन्।
चर्च ब्वाइज र पारो एफसीबीच प्रारम्भिक चरणको खेलमा मंगलबार साँझ ६ बजे दशरथ रंशगालामा प्रतिस्पर्धा हुँदैछ। यो खेलको विजेता कपको समूह चरणमा पुग्नेछ।
नेपाल आएपछि पारो एफसीले भद्रकालीस्थित आर्मीको मैदान र दशरथ रंशगालामा प्रशिक्षण गरिरहेको छ। तर मैदानको अवस्थालाई लिएर भुटानी क्लब भने सन्तुष्ट छैन। पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले मैदानको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।
‘नेपालमा आएर खेल्न पाउँदा धेरै खुसी लागेको छ। तर हामीले मैदानको अवस्था ठीक पाउन सकेनौं। पहिलो दिन पनि मैदानका कारण प्रशिक्षणमा ढिलाइ भयो,’ उनले सोमबार एन्फा कम्प्लेक्समा प्रि-म्याच कन्फरेन्समा भने।
भुटानी टोलीका सबैभन्दा अनुभवी तथा स्टार खेलाडी होन्डा पनि नेपालको मैदानलाई लिएर सन्तुष्ट नभएको प्रशिक्षक शर्माले बताए। ‘होन्डाले नेपालको मैदानलाई आफ्नो करिअरको अहिलेसम्कै खराब मैदान भन्नु भएको छ,’ प्रशिक्षक शर्माले होन्डाको भनाइ उद्धृत गर्दै भने।
उनले नेपालको चर्च ब्वाइजविरुद्धको खेलमा पहिलो चुनौती नेपालको मौसम र दोस्रो चुनौती नेपालको मैदान भएको पनि बताए। प्रशिक्षक शर्माले टोलीको नतिजामा अभ्यास/प्रशिक्षणले मात्र नपुग्ने बताउँदै खेलाडीको सुविधाका लागि पनि सोच्न पर्ने बताए। ‘हामी सकेसम्म खेलाडीलाई खुसी पार्ने कोशिस गरिरहेका छौं,’ उनले भने।
त्यसो त होन्डाले आर्मी र दशरथ रंगशालाको मैदानको विषयमा व्यक्त गरेको भनाइ अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। उनी आर्मी मैदान पुग्दा त्यहाँ घाँस काटिरहेको भिडिओमा देख्न सकिन्छ। त्यसपछि होन्डाले मैदानको विषयमा जापानी भाषामा टिप्पणी गरेका थिए।


