Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियचीनमा ७०० किमी प्रतिघण्टा गतिको म्याग्लेभ रेल सफल परीक्षण

चीनमा ७०० किमी प्रतिघण्टा गतिको म्याग्लेभ रेल सफल परीक्षण

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले केवल दुई सेकेन्डमै ७०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्ने सुपरकन्डक्टिङ म्याग्लेभ रेलको सफल परीक्षण गरेका छन्।

चीनको राष्ट्रिय रक्षा प्रविधि विश्वविद्यालयका वैज्ञानिक टोलीले करिब एक टन तौलको म्याग्लेभ रेल विशेष रूपमा तयार गरिएको ४०० मिटर लामो ट्र्याकमा परीक्षण गरेका हुन्। यस परीक्षणसम्बन्धी भिडियो बिहीबार सार्वजनिक गरिएको छ।

परीक्षणका क्रममा रेलले केही क्षणमै रेकर्ड गति हासिल गरी सुरक्षित रूपमा रोकिन सफल भएको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार यो हालसम्म निर्माण गरिएको सबैभन्दा छिटो सुपरकन्डक्टिङ इलेक्ट्रिक म्याग्लेभ रेल हो।

इन्जिनियरहरूको टोलीले यस परियोजनामा करिब १० वर्षदेखि काम गर्दै आएको जनाएको छ। यसअघि सन् जनवरीमा यही ट्र्याकमा रेलले ६४८ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको थियो भने पछिल्लो परीक्षणमा ७०० किलोमिटर प्रतिघण्टाको नयाँ कीर्तिमान कायम भएको हो।

सार्वजनिक गरिएको भिडियोमा रेल बिजुली चम्किएझैँ तीव्र गतिमा ट्र्याकमा दौडिरहेको देखिन्छ। म्याग्लेभ प्रविधिको विशेषता अनुसार रेल ट्र्याकलाई छोएर चल्दैन। शक्तिशाली चुम्बकीय प्रणालीले रेललाई हावामा उठाएर अगाडि बढाउँछ, जसले घर्षणलाई पूर्ण रूपमा हटाउँछ र अत्यधिक उच्च गति सम्भव बनाउँछ।

वैज्ञानिकहरूका अनुसार यस प्रविधिको भविष्यमा रकेट प्रक्षेपण प्रणालीमा समेत प्रयोग हुन सक्छ। यात्रुवाहक रेलमा यो प्रविधि अपनाइए प्रमुख सहरहरूबीचको यात्रा समय केही मिनेटमै सीमित हुन सक्ने अनुमान गरिएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यस परियोजनामा उच्च गतिको विद्युत–चुम्बकीय प्रणाली, हावामा स्थिरता, अचानक शक्तिको उतारचढाव नियन्त्रण तथा शक्तिशाली सुपरकन्डक्टिङ चुम्बक प्रयोगजस्ता जटिल प्राविधिक चुनौतीहरू समाधान गरिएको छ।

राष्ट्रिय रक्षा प्रविधि विश्वविद्यालयका प्राध्यापक ली जीका अनुसार यस अल्ट्रा हाई–स्पीड म्याग्लेभ प्रणालीको सफलताले चीनमा सुपरफास्ट रेल अनुसन्धानलाई नयाँ उचाइमा पुर्‍याउनेछ र भविष्यमा अझ तीव्र गतिका रेल निर्माणका लागि आधार तयार गर्नेछ।

उक्त विश्वविद्यालयले करिब ३० वर्षअघि चीनको पहिलो म्याग्लेभ रेल विकास गरेको थियो, जससँगै चीन यो प्रविधि विकास गर्ने विश्वको तेस्रो देश बनेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका