Tuesday, May 19, 2026
Homeअन्तराष्ट्रियचीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्युडको भूकम्प : २ जनाको मृत्यु, हजारौँ विस्थापित

चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्युडको भूकम्प : २ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्र मा सोमबार बिहान गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्।

चीनको भूकम्प नेटवर्क केन्द्र (सीइएनसी) का अनुसार स्थानीय समयअनुसार सोमबार बिहान १२:२१ बजे लिउझाउ सहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा केन्द्रित भूकम्पका कारण आसपासका क्षेत्रमा ठूलो धक्का महसुस गरिएको थियो।

चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) का अनुसार भूकम्पका कारण लिउझाउ क्षेत्रमा कम्तीमा १३ वटा भवनहरू भत्किएका छन्। जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रबाट ७ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

भूकम्प लगत्तै स्थानीय प्रशासनले व्यापक खोज तथा उद्धार अभियान सुरु गरेको जनाएको छ। बेपत्ता व्यक्तिको खोजीका लागि ५१ वटा दमकल तथा उद्धार सवारी साधनसहित ३०० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको छ। घटनामा घाइते भएका चार जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ भने उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।

भूकम्पपछि रेलमार्ग लगायत यातायात पूर्वाधारमा क्षति पुगेको आशंकामा प्राविधिक परीक्षणका लागि केही रेल सेवाहरू अस्थायी रूपमा रोकिएका छन्। यद्यपि प्रभावित क्षेत्रमा सञ्चार, विद्युत्, खानेपानी र ग्यास सेवा भने सुचारु रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका