म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित तथा सुविधायुक्त खेलमैदान निर्माणको काम सुरु गरिएको छ। समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो।
वडाध्यक्ष रामबहादुर खड्काका अनुसार चालु आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण तथा जग्गा सम्याउने काम सम्पन्न गरिएको छ। खेलमैदानको अभावमा युवायुवतीलाई खेल अभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष २८ लाख रुपैयाँ खर्चेर जग्गा खरिद गरेको उनले बताए।
उनका अनुसार प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ। साथै, क्लबले खरिद गरेको जग्गाको नजिकै रहेको करिब दुई रोपनी सार्वजनिक जमिनमा रहेका ठूला ढुङ्गा पन्छाएर खेलमैदान विस्तार गर्ने योजना पनि रहेको छ। ठूला ढुङ्गा फुटाउन मध्य कालीगण्डकी जलविद्युत् आयोजनासँग सहयोग माग गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए।
४५ मिटर चौडाइ र ७० मिटर लम्बाइमा फुटबल, भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने प्यारापिट र स्टेजसहितको खेलमैदान निर्माणका लागि एक करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ।
आगामी वर्षमा गाउँपालिका, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी थप बजेटको व्यवस्था गरेर खेलमैदान निर्माणलाई पूर्णता दिने योजना रहेको वडाध्यक्ष खड्काले बताए। खेलमैदानका लागि घार युवा क्लबले विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग र चन्दा सङ्कलन गरेर गत वर्ष कुल २८ लाख ४२ हजार रुपैयाँमा जग्गा खरिद गरेको हो।
क्लबका अध्यक्ष सागर खड्काका अनुसार जलविद्युत् आयोजना, स्थानीय संस्था र व्यक्तिहरूबाट आर्थिक सहयोग जुटाइएको छ भने केही रकम ऋणका रूपमा समेत व्यवस्थापन गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा खेलमैदान निर्माण अघि बढाइएकाले यसले घारका युवायुवतीलाई खेलकुद गतिविधिमा सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


