Monday, August 10, 2026
Homeअर्थ र ब्यापारग्यास लुकाएर राख्ने नेपालगन्जको किराना पसललाई ५० हजार जरिवाना

ग्यास लुकाएर राख्ने नेपालगन्जको किराना पसललाई ५० हजार जरिवाना

नेपालगन्ज । खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ग्यास लुकाएर राखेको आरोपमा नेपालगन्जको एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा अनुगमन गर्दा बिक्री नगरी लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर फेला पारेको हो।

पसलमा ग्यास लुकाएर राखिएको सूचना पाएपछि अनुगमन टोली त्यहाँ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए। अनुगमनका क्रममा बिक्रीका लागि नराखी १३ वटा एलपी ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा पसलबाट उपभोगका लागि अनुपयुक्त केही खाद्य सामग्रीसमेत फेला परेको टोलीले जनाएको छ।

पछिल्लो समय नेपालगन्जलगायत क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गर्दै आएका छन्। अभावको मौका छोपेर ग्यास लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी बढाइएको स्थानीय प्रशासनले जनाएको छ।

बजारमा ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव र कालोबजारीसम्बन्धी गुनासा बढेपछि स्थानीय प्रशासनले केही दिनयता बजार अनुगमनलाई तीव्रता दिएको छ। प्रशासनले कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने व्यवसायीबारे जानकारी गराउन उपभोक्तालाई आग्रहसमेत गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका