काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुनः बस्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार सुरु भएको बैठकमा सबै विषयमा छलफल पूरा हुन नसकेपछि बैठक सोमबारका लागि पुनः तय गरिएको हो।
आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि तथा प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसहित समसामयिक विषयमा छलफल सुरु भएको थियो।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। महामन्त्री प्रदीप पौडेलले बैठकमा छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघि सारिएको छ।
त्यस्तै, महाधिवेशनका लागि प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकका एजेन्डामा रहेका छन्।
पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत बैठकमा छलफल सुरु भएको छ। सरकारको १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद्बाहिर कांग्रेसको भूमिकाका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
त्यसैगरी, प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिका निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।
सोमबारको बैठकले बाँकी एजेन्डामाथि थप छलफल गरी आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ।


