Monday, August 10, 2026
Homeसामाचारअविरल वर्षापछि बीपी राजमार्ग अवरुद्ध, नार्केमा लेदो र पहिरोले सडक पुरियो

अविरल वर्षापछि बीपी राजमार्ग अवरुद्ध, नार्केमा लेदो र पहिरोले सडक पुरियो

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित भएको हो।

राजमार्गको कुन–कुन स्थानमा पहिरो तथा लेदोले अवरोध पुर्‍याएको छ भन्ने यकिन भइसकेको छैन। पहिरो खसेका स्थानमा सडक खुलाउन पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।

बीपी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट आएको लेदो र पहिरोले सडकको ठूलो हिस्सा पुरिएको छ। वर्षा अझै जारी रहेकाले उक्त क्षेत्रमा थप पहिरो खस्ने जोखिमसमेत रहेको जनाइएको छ।

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न काभ्रे र सिन्धुली प्रहरीले यात्रुलाई आग्रह गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने तथा पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्।

काठमाडौंबाट पूर्वतर्फ गएका सवारीसाधन भकुण्डेमा रोकिएका छन् भने पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधन खुर्कोटमा रोकिएका छन्।

सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण पहिरो झर्ने क्रम जारी रहेकाले यातायात सञ्चालनमा थप समस्या आउन सक्ने प्रहरीले जनाएको छ। यात्रुलाई जोखिम मोलेर अवरुद्ध सडकतर्फ नजान तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका