काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः कम हुँदै गएको छ। नेपाल आयल निगमका अनुसार भारतबाट ग्यास आयातको परिमाण बढाउनुका साथै वितरण प्रणालीलाई व्यवस्थित बनाएपछि बजारमा आपूर्ति सहज हुन थालेको हो।
गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको पूर्ण सिलिन्डर बिक्री सुरु गरिएपछि सुरुमा माग र आपूर्तिबीच असन्तुलन देखिएको थियो। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले सुरुआती समस्या अहिले क्रमशः कम हुँदै गएको बताए।
उनका अनुसार इन्डियन आयल कर्पोरेसनको रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास लोड भएर नेपाल आइरहेको छ। ७.१ किलोग्रामको आधा सिलिन्डरबाट १४.२ किलोग्रामको पूर्ण सिलिन्डरमा पुनः सिफ्ट हुँदा केही समय समस्या देखिएको भए पनि बढीमा एक साताभित्र बिक्री वितरण सामान्य हुने उनले बताए।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद तथा भण्डारण गर्न आग्रह गरेको छ।
आधा सिलिन्डरभन्दा पूर्ण सिलिन्डरमै उपभोक्ताको रुचि
पश्चिम एसियामा विकसित परिस्थितिलाई ध्यानमा राख्दै निगमले गत फागुन २९ गतेदेखि ७.१ किलोग्राम ग्यास भएको आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो। तत्कालीन अवस्थामा आपूर्ति सहज बनाउन गरिएको उक्त व्यवस्थाले माग केही घटाए पनि उपभोक्ताले पूर्ण सिलिन्डर पाउने आशामा सिलिन्डर ‘होल्ड’ गर्दा पछिल्लो समय समस्या देखिएको उद्योगीहरूको भनाइ छ।
नेपालमा सामान्य अवस्थामा मासिक करिब ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ। फागुन २९ देखि असार ३१ गतेसम्म करिब चार महिनाको अवधिमा अघिल्लो मागको तुलनामा करिब ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको निगमले जनाएको छ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो समय आयातको परिमाण निरन्तर बढिरहेकाले बजारमा बिक्री वितरण पनि सहज हुँदै गएको बताए। उनले अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र अत्यावश्यक उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
साउनमा ५५ हजार मेट्रिक टनसम्म ग्यास आयात हुने अनुमान
निगमका अनुसार ग्यासको आयात पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो। चालु आर्थिक वर्षको साउनका पछिल्ला २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ।
हालको आयात दर कायम रहे साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन एलपी ग्यास आयात हुने अनुमान गरिएको निर्देशक उपाध्यायले बताए।
ठूला चाडपर्व नजिकिँदै गर्दा ग्यासको अभाव हुन नदिन सरकारले तीन महिनाका लागि आयात कोटा बढाउन भारतसँग कूटनीतिक पहलसमेत गरिरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको बताएकी छन्।
नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा कुल १० हजार १६६ मेट्रिक टन ग्यास भण्डारण क्षमता र दैनिक एक करोड ७५ लाख सिलिन्डर रिफिलिङ क्षमता रहेको निगमले जनाएको छ।
मन्त्रीसहितको टोलीद्वारा बजार अनुगमन तीव्र
ग्यासको बिक्री वितरण सहज बनाउन उद्योगमन्त्री यादवसहित निगमका उच्च अधिकारीले उद्योग तथा डिलरहरूको अनुगमनलाई तीव्र बनाएका छन्।
शनिबार मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरी बोटलिङ तथा वितरण प्रणालीबारे जानकारी लिएकी थिइन्। त्यसपछि टोलीले टेकुस्थित निगम परिसर, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका बिक्री केन्द्रको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा ग्यास लिन पुगेका उपभोक्ताले सहज रूपमा ग्यास पाएको भन्दै सरकारको पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा कृत्रिम अभाव तथा कालोबजारी भएको नदेखिएको निगमले जनाएको छ।
क्विक रेस्पोन्स टिमले ५०० भन्दा बढी गुनासा सम्बोधन गर्यो
एलपी ग्यासको आपूर्ति तथा वितरणसम्बन्धी उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न निगममा गठन गरिएको ‘क्विक रेस्पोन्स टिम’ले हालसम्म ५०० भन्दा बढी गुनासा सम्बोधन गरेको छ।
वाणिज्य मन्त्रालय, निगम तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासाका आधारमा ग्यास उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ।
टोलीका सदस्य तथा आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गादत्त भट्टका अनुसार ग्यास नपाएका उपभोक्ताको समस्या तत्काल समाधान गर्ने उद्देश्यले टोलीले काम गरिरहेको छ।


