काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्यसँगै देशको महत्वपूर्ण शक्ति भएको बताएका छन्।
विश्व आदिवासी दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले विविधताबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्यलाई थप मजबुत बनाउने बताएका हुन्।
ओलीले जातीय, भाषिक र सांस्कृतिक विविधताको सम्मान गर्दै सबै समुदायबीच आपसी सद्भाव र एकताको भावना बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, “नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामीबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउनेछ।”
नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको संरक्षण तथा सम्मानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना व्यक्त गर्दै उनीहरूको मौलिक संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षणसँगै राष्ट्र निर्माणमा उनीहरूले पुर्याएको योगदानको सम्मान गर्नुपर्ने बताएका छन्।
उनले समावेशी लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय एकता र समृद्धिको शक्तिका रूपमा अघि बढाउनुपर्ने उनको सन्देश छ।


