काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा जीवनपद्धतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ।
आदिवासी जनजातिका अधिकार र उनीहरूले भोग्दै आएका समस्या तथा चुनौतीबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्नु पनि दिवसको प्रमुख उद्देश्य हो।
संयुक्त राष्ट्रसङ्घको साधारणसभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। त्यसयता विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आइएको छ।


