Sunday, May 17, 2026
Homeखेलकुदकुशल भुर्तेलको विस्फोटक शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित

कुशल भुर्तेलको विस्फोटक शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित

काठमाडौं । कुशल भुर्तेलको उत्कृष्ट शतकीय प्रदर्शनको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको छ।

अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। नेपालको प्रभावशाली जितसँगै कीर्तिपुर मैदानमा दर्शकहरू उत्साहले भरिएका थिए।

नेपालको जितका नायक बनेका ओपनर कुशल भुर्तेलले आक्रामक र संयमित ब्याटिङ गर्दै अविजित १ सय २० रन बनाए। उनले १ सय १७ बल खेल्दै १३ चौका र ४ छक्का प्रहार गरे। उनलाई अर्का ओपनर आसिफ शेखले उत्कृष्ट साथ दिए।

कुशल र आसिफबीच पहिलो विकेटका लागि १ सय ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो। आसिफले ७२ बलमा ५९ रन बनाए। उनी आउट भएपछि मैदान प्रवेश गरेका इसान पाण्डे १६ रनमा अविजित रहे।

अमेरिकाका लागि मोहम्मद मोहसिनले नेपालको एकमात्र विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ ओभर ३ बलमा १ सय ९५ रनमा समेटिएको थियो।

अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। उनले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै अमेरिकालाई बलियो अवस्थामा पुर्‍याएका थिए। शेहानले ५० रन बनाए।

१ सय २२ रनसम्म मात्र १ विकेट गुमाएको अमेरिका त्यसपछि भने नेपाली बलरहरूको दबाबमा लगातार विकेट गुमाउन पुगेको थियो।

अमेरिकाका मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य ब्याटर ठूलो योगदान दिन असफल भए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट हात पारे।

अमेरिकामाथि प्रभावशाली जित निकालेको नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्यान्डसँग खेल्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका