काभ्रेपलाञ्चोक — प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालय (केयू) की कुलपति सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिबाट चयन गर्न गृहकार्य भइरहेको जानकारी दिएकी छन्।
आज धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (पहिलो चरण) मा सम्बोधन गर्दै उनले कुलपति नियुक्ति प्रक्रियामा उपकुलपति, विश्वविद्यालय उच्च नेतृत्व र अन्य सरोकारवालासँग परामर्श गर्दै सरकार गृहकार्यमा जुटेको बताइन्।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने वर्तमान व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको उल्लेख गर्दै शिक्षा मन्त्री महावीर पुनले सरोकारवालासँग आवश्यक छलफल र परामर्श गरिरहेको जानकारी दिइन्। उनले भनिन्, “ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ।” यसबाट उच्च शिक्षामा राजनीतिकरणको परम्परा अन्त्य हुने विश्वास लिइएको छ।
युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री बनेको बताउँदै उनले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले उच्च शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भर्चुअल रियालिटी प्रविधिको विकास भएको र युवामा परिवर्तनका आकाङ्क्षा देखिनु स्वाभाविक रहेको बताइन्। उच्च शिक्षामा नेपालको लगानी न्यून रहेको र लगानी नबढाई ती आकाङ्क्षा पूरा गर्न असम्भव रहेको उनले जनाइन्।
सरकारले उच्च शिक्षाको गैरराजनीतिकरण सुनिश्चित गर्न ठोस कदम चालेको भन्दै उनले शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले क्षेत्रमा नकारात्मक असर पुर्याएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले काठमाडौँ विश्वविद्यालयले गरेका नवप्रवर्तन, प्राज्ञिक दक्षता अभिवृद्धि र तुलनात्मक रूपमा शिक्षक तथा कर्मचारीलाई उचित पारिश्रमिक जस्ता सकारात्मक पहललाई अन्य विश्वविद्यालयले पनि अनुशरण गर्नुपर्नेमा जोड दिइन्। साथै, देशभित्र गुणस्तरीय शिक्षा सस्तो मूल्यमा उपलब्ध गराउने र नयाँ कार्यक्रम थप गर्ने कार्यमा शिक्षा मन्त्रीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिइएको बताइन्।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूका सहकुलपति महावीर पुनको पनि उपस्थिति रहेको थियो। समारोहमा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन्।


