काठमाडौं, साउन १९ — राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकपश्चात सार्वजनिक गरिएको नतिजा अनुसार कूल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन-ग्रेड (NG) भएका छन्।
निर्धारित मितिमा परीक्षा सञ्चालन हुन नसके पनि परीक्षा गत २१ वैशाखदेखि सम्पन्न गरिएको थियो। यसअघि ११ वैशाखका लागि तय गरिएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण सरेको थियो।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरका ५,२०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी कुल ३ लाख ९५ हजार ८८ विद्यार्थी सहभागी भएका थिए।
त्यस्तै, आंशिकतर्फ १ लाख १५ हजार ६१७ परीक्षार्थी सहभागी भएका थिए। यसरी नियमित र आंशिक दुबै तर्फ गरी कूल परीक्षार्थी संख्या ५ लाख ११ हजार ५२५ पुगेको छ।


