काठमाडौं । कर्णाली याक्स स्पोर्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार मंसिरमा हुने एनपीएलका लागि तयार पारिएको नयाँ जर्सी सार्वजनिक भइसकेको र शीघ्र नै समर्थकमाझ उपलब्ध गराउने योजना रहेको छ ।
नयाँ जर्सीमा आकाशी र पहेँलो रंगको संयोजन गरिएको छ, जसले कर्णाली प्रदेशको भौगोलिक विशेषता र सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छ ।
दोस्रो संस्करणका लागि कर्णाली याक्सले तयारीलाई तीव्र बनाएको छ । आगामी नोभेम्बर ५ (कात्तिक १९) मा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने योजना रहेको घिमिरेले बताए ।
पहिलो संस्करण सन् २०२4 (वि.सं. २०८१) मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन भएको थियो, जसमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
यसपटक पनि कर्णालीले कप्तान तथा प्रशिक्षकका रूपमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ भने टोलीका कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा राजु बस्नेत रहने छन् ।


