Friday, July 31, 2026
Homeखेलकुदकप्तान सावित्रा भण्डारीलाई तनहुँमा सम्मान

कप्तान सावित्रा भण्डारीलाई तनहुँमा सम्मान

दमौली (तनहुँ)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा नं. ४ ले तीजको अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगितामा भण्डारीलाई नगद रु ५० हजारसहित दोसल्लाले सम्मान गरिएको हो।

सम्मान गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले प्रदान गरेका हुन्। खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन गरेको योगदानका लागि भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले बताए।

कार्यक्रममा भण्डारीले जुन क्षेत्रमा भए पनि कडा मेहनत गरे सफलताको शिखर चुम्न सकिने बताइन्। गाउँमा मोजाको बल खेल्दै सुरु गरेको यात्रा स्मरण गर्दै उनले मेहनतकै कारण आजको स्थानमा पुगेको उल्लेख गरिन्।

सो अवसरमा प्रदेशसभा सदस्य गुरुङले खेलकुदले नेपालीलाई एकआपसमा जोड्ने माध्यम बनेको बताउँदै भण्डारीको योगदानले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका