काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि परीक्षा आवेदन फारम खुला गरेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरेको छ। नियमित अध्ययन गरिरहेका विद्यार्थीहरूका साथै माध्यमिक तहका खुला विद्यालय, वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय, र प्राविधिक धारका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन्।
आवेदन फारम २०८१ पौष १२ देखि माघ १२ गतेभित्र सम्बन्धित निकायमा बुझाउनुपर्नेछ। परीक्षार्थीले प्रति व्यक्ति रु पाँच सय दस्तुरसहित आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
साथै, शिक्षा विकास निर्देशनालयहरूलाई परीक्षा आवेदन फारम संकलन, परीक्षा केन्द्र निर्धारण, र अन्य समन्वयात्मक कार्यहरूमा शिक्षा विकास तथा समन्वय इकाईहरूसँग सहकार्य गर्न आग्रह गरिएको छ।
कार्यालयले आवेदन प्रक्रियालाई समयमै पूरा गर्न सबै पक्षलाई आवश्यक तयारी गर्न पनि अनुरोध गरेको छ।



