Sunday, April 19, 2026
Homeखेलकुदएनपीएल: काठमाडौंलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

एनपीएल: काठमाडौंलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

काठमाडौं — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा आज सम्पन्न इलिमिनेटर खेलमा लुम्बिनीले काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो यात्रा कायम राखेको हो। यससँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ।

जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान दिए।

काठमाडौंको तर्फबाट सन्तोष यादवले दुई विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो।

काठमाडौंका लागि सन्तोष यादवले १७ बलमा एक छक्कासहित सर्वाधिक २३ रन बनाए। जोन सिमसन र मोहमद आदिल आलमले समान १८–१८ रन जोडे भने भीम सार्कीले १४ रनको योगदान दिए। कप्तान करण केसी ९ रनमै आउट भए।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन–तीन विकेट लिए। ट्रम्पलम्यानले दुई विकेट झारे भने अभिषेक गौतमले एक विकेट लिएका थिए।

अब लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेताले मङ्सिर २७ गते फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका