काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा बिहीबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य पछ्याउन बाध्य बनायो।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो। जनकपुरका वायन पर्नेलले ३८ बलमा ४ छक्का र २ चौकासहित ५० रन बनाएर रिटायर्ड आउट भए। पोखराका बिपिन खत्रीले प्रभावकारी बलिंग गर्दै ४ विकेट हात पारे भने सुमित वर्माले २ विकेट जोडे।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखराले सुमित वर्माको अर्धशतकसहित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो। सुमितले २९ बलमा ४ छक्का र २ चौकासहित ५० रन योगदान दिए। दिनेश खरेलले ३८ रन र तृतराज दासले २९ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोर बनाउन मद्दत गरे। जनकपुरका सञ्जय कृष्णमूर्ति ३ विकेटसहित सर्वाधिक सफल बलर बने।
लगातार तीन खेल खेलेको पोखराले अन्ततः पहिलो जित हात पारेको छ भने गत सिजनको विजेता जनकपुर भने तीनै खेलमा पराजित हुँदै अझै जितविहिन छ।


