Tuesday, June 23, 2026
Homeखेलकुदऋषिङ म्याराथनको उपाधि होमलाललाई, आर्मीका धावकको वर्चस्व

ऋषिङ म्याराथनको उपाधि होमलाललाई, आर्मीका धावकको वर्चस्व

डुम्रे (तनहुँ):‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ नाराका साथ आयोजित चौथो ऋषिङ अल्ट्रा म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।

श्रेष्ठले ४२.२ किलोमिटरको दुरी २ घण्टा ५७ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे। यो उपलब्धिसँगै उनले नगद रु ६५,००० पुरस्कार प्राप्त गरे।

नेपाली सेनाकै राजन मेयोङ्वाले २ घण्टा ५९ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरे। उनले नगद रु ४०,००० पुरस्कार जिते। यस्तै, सेनाकै जुनेश खड्काले २ घण्टा ५९ मिनेट ५९ सेकेन्डमा दुरी पूरा गरी तेस्रो स्थान प्राप्त गरे। खड्काले नगद रु २५,००० पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य धावकहरूमा नवलपुरका रिखुलाल सिञ्जाली मगर, सोलुखुम्बुका अर्जुन कुलङ राई, सोलुखुम्बुकै मिलन राई, र स्याङ्जाका हरि सिञ्जाली मगरले सान्त्वना पुरस्कार स्वरूप जनही रु १०,००० प्राप्त गरेका छन्।

ऋषिङ गाउँपालिकाका सूचना अधिकारी सौगात तिमिल्सिनाका अनुसार म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत विभिन्न निकायका ५० धावकहरूले सहभागिता जनाएका थिए।
यो प्रतियोगिता ऋषिङ क्षेत्रको कृषि, पर्यटन, संस्कृति र पूर्वाधार प्रवर्द्धनका लागि आयोजना गरिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका