सिड्नी — नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले सन् २०२५ लाई बिदाइ गरेको छ। डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका असफल प्रयासहरूका कारण २०२५ विश्व राजनीतिका लागि अशान्त वर्षका रूपमा चिनियो।
सन् २०२५ विश्वकै तातो वर्षहरूमध्ये एकको रूपमा पनि अभिलेखमा दर्ज भएको छ। युरोपमा भीषण डढेलो, अफ्रिकामा लामो खडेरी र दक्षिणपूर्व एसियामा घातक वर्षाले जनजीवन प्रभावित बनायो। यिनै घटनाबीच अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको स्वागतका तयारी उत्साही देखिए पनि उत्सवमा उदासी मिसिएको थियो।
बोनडी समुद्रतटमा ३० वर्षयताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डमा १५ जनाको मृत्यु भएपछि सिड्नीको उत्सव शोकपूर्ण बनेको हो। घटनाको सम्मानमा राति ११ बजे एक मिनेट मौन धारण गरिने र सिड्नी हार्बर ब्रिज सेतो प्रकाशमा झलमल्ल पारिने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले भिडियो सन्देशमा भने, “हाम्रो नयाँ वर्षको उत्सव प्रायः पुराना पीडासँग मिसिएको हुन्छ।”
मध्यरातमा करिब नौ टन आतिशबाजी प्रज्वलन हुने अपेक्षा गरिएको छ। सिड्नीका स्थानीय बासिन्दा र पर्यटकहरू ओपेरा हाउस वरपरका फोरशोर क्षेत्रमा भेला भएका छन् भने उत्कृष्ट दृश्यका लागि सेलबोटहरू बन्दरगाहमा तैनाथ भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था सामान्यभन्दा कडा बनाइएको छ।
यसैबीच, विश्वभर नयाँ वर्षका उत्सवहरू क्रमिक रूपमा सुरु भएका छन्। न्युयोर्कदेखि स्कटल्यान्डको हगमानय पर्वसम्म उत्सवको रौनक फैलिएको छ। ब्राजिलको कोपाकाबाना समुद्रतटमा २० लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ। तर हङकङमा नोभेम्बरमा भएको आगलागीमा १६१ जनाको मृत्यु भएपछि प्रमुख आतिशबाजी कार्यक्रम रद्द गरिएको छ।
सन् २०२५ ले विश्वलाई विभिन्न अनौठा र ऐतिहासिक घटनाहरू पनि दिएको थियो। लाबुबु पुतलीको विश्वव्यापी क्रेज, लुभ्र संग्रहालयमा भएको साहसी डकैती, के–पप समूह बीटीएसको पुनरागमन, अग्रणी प्राणीशास्त्री जेन गुडअलको निधन र भ्याटिकनमा नयाँ पोपको चयन वर्षका प्रमुख घटनामा परे। अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या राजनीतिक विभाजनको प्रतीक बनेको विश्लेषण गरिएको छ।
डोनाल्ड ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्किएपछि कर वृद्धि नीतिका कारण विश्व बजारमा मन्दीको संकेत देखिएको थियो। उनले सामाजिक सञ्जालमार्फत मध्यावधि चुनावअघि आफ्नो समर्थन दर बढाउने प्रयास जारी राखेका छन्।
गाजामा दुई वर्षसम्म चलेको युद्धपछि अमेरिकी दबाबमा अक्टोबरमा इजरायल र हमासबीच नाजुक युद्धविराम भएको थियो। तर दुवै पक्षले एक–अर्कामाथि उल्लंघनको आरोप लगाइरहेका छन् र स्थायी शान्ति अझै अनिश्चित देखिएको छ। युद्धका क्रममा हजारौं सर्वसाधारणको ज्यान गएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा शुभकामना साटासाट गरेका छन्। सीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने संकेत दिएका छन्।
युक्रेन युद्ध सन् २०२२ मा सुरु भएको हो र २०२५ को अन्त्यसम्म पनि स्थायी युद्धविराम हुन सकेको छैन।
आगामी वर्ष खेलकुद, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) का क्षेत्रमा चुनौतीपूर्ण रहने अपेक्षा गरिएको छ। नासाको आर्टेमिस–२ मिसनले एलन मस्कको समर्थनमा अपोलो अभियानपछि ५० वर्षमै पहिलो पटक चन्द्रमाको परिक्रमा गर्ने तयारी गरिरहेको छ।
एआई क्षेत्रमा अत्यधिक लगानीपछि नियमन र छानबिनको दबाब बढेको छ भने लगानीकर्ताहरूले यसको भविष्यलाई लिएर सतर्कता अपनाउन थालेका छन्।
यसैगरी, शीतकालीन ओलम्पिकका खेलाडीहरू इटालीको डोलोमाइट्समा तयारी गर्दैछन् भने अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुने इतिहासकै ठूलो फुटबल विश्वकपका लागि विश्वका राष्ट्रहरू जुट्नेछन्।
(रासस/एएफपी)


