उनले आफ्नो पोस्टमा लेखेका छन्, “एकपक्षीय सम्झौताको युग सकिएको छ। हामीले तपाईंलाई आफ्नो वचनमा अडिग रहन आग्रह गरेका थियौं, अन्यथा त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थियौं। अब सत्य सबैको सामु आउँदैछ।”
गालिबाफले अमेरिकासँग हस्ताक्षर गरिएको भनिएको एक समझदारीपत्र (एमओयू) को पाँचौँ बुँदाको स्क्रिनसट पनि सार्वजनिक गरेका छन्। उक्त बुँदामा एमओयूमा हस्ताक्षर भएपछि इरानले फारसी खाडीबाट ओमानको खाडीसम्म व्यावसायिक जहाजहरूलाई ६० दिनसम्म कुनै शुल्क नलिई सुरक्षित आवतजावत गर्न दिने उल्लेख गरिएको दाबी गरिएको छ।
यसैबीच, भारतस्थित इरानी दूतावासले एक्समार्फत इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक विज्ञप्ति सार्वजनिक गरेको छ।
विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म र क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज जलडमरू हुँदै कुनै पनि जहाजलाई आवतजावत गर्न अनुमति नदिइने उल्लेख गरिएको छ।
बीबीसी फारसीका अनुसार, आईआरजीसीले दक्षिणी इरानमा भएको अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप हर्मुज जलडमरू क्षेत्रमा एक जहाजलाई रोकेको जनाएको छ।
विज्ञप्तिमा प्रतिशोधको दोस्रो चरणअन्तर्गत कतारस्थित अमेरिकी अल–उदेद हवाई अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी पनि गरिएको छ। आईआरजीसीले उक्त आक्रमणबाट लडाकु विमान मर्मत केन्द्र तथा विमानस्थलको कमाण्ड तथा नियन्त्रण केन्द्रमा क्षति पुगेको दाबी गरेको छ।
नोट: माथि उल्लेखित सैन्य कारबाही र क्षतिको विवरण सम्बन्धित पक्षहरूको दाबीमा आधारित छ। यी दाबीहरूको स्वतन्त्र पुष्टि भएको छैन।


