काठमाडौं । नेपाल सरकारको निर्देशनअनुसार सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी भइरहेको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै ती सञ्जालहरू निष्क्रिय बनाउन प्रक्रिया सुरु भइसकेको जनाएको छ।
आईएसप्यानका अनुसार यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका, २०८० अनुसार कार्यान्वयनमा ल्याइएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाएपछि सम्बन्धित सञ्जालहरू क्रमशः बन्द गर्ने तयारी भएको संघले जनाएको छ। यसअघि, भदौ १७ गते नै संघले नेपाल सरकारलाई पत्र पठाएर आवश्यक तयारीबारे जानकारी गराइसकेको थियो।
प्रयोगकर्तालाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आईएसप्यानले अन्य सूचीकरण भएको सामाजिक सञ्जाल भने सामान्य रूपमा सञ्चालनमा रहने स्पष्ट पारेको छ।
संघका अध्यक्ष सुधिर पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “ग्राहक महानुभावहरूलाई हुने असुविधाका लागि क्षमाप्रार्थी छौं।”
बन्द गरिन लागिएका प्रमुख सामाजिक सञ्जालहरू:
१. फेसबुक
२. फेसबुक मेसिन्जर
३. इन्स्टाग्राम
४. युट्युब
५. ह्वाट्सएप
६. ट्विटर (एक्स)
७. लिंक्डइन
८. स्न्यापच्याट
९. रेडिट
१०. डिस्कोर्ड
११. पिन्टरेस्ट
१२. सिग्नल
१३. थ्रेड्स
१४. विच्याट
१५. क्वोरा
१६. टमब्लर
१७. क्लबहाउस
१८. म्यास्टोडन
१९. रम्बल
२०. मिवी
२१. भीके
२२. आइएमओ
२३. जालो
२४. सोल
२५. हाम्रो पात्रो


