काठमाडौँ — त्रिभुवन आर्मी फुटबल क्लबले पहिलोपल्ट युथ एकेडेमी सञ्चालनमा ल्याएको छ । एएफसी क्लब लाइसेन्स प्राप्त ‘ए’ डिभिजन टोली आर्मीले अखिल नेपाल फुटबल संघ (एन्फा) र सैनिक आवासीय महाविद्यालयबीचको त्रिपक्षीय सम्झौताअनुसार एकेडेमी स्थापना गरेको हो ।
आर्मी हेडक्वार्टरमा सोमबार उक्त एकेडेमीको औपचारिक उद्घाटन गरिएको छ । गत वर्ष आर्मीले एएफसी क्लब लाइसेन्स पाएको हो । लाइसेन्स पाएपछि क्लबमा यू–१३ र यू–१८ को टिम हुनुपर्ने अनिवार्य छ ।
एकेडेमीमा एन्फाले विभिन्न चरण छनोट गरेका खेलाडी रहेका छन् । तेस्रो चरणबाट छानिएका ४२ युथ खेलाडी (१३ वर्षमुनि) लाई तीन विभागीय क्लबमा १४–१४ खेलाडी गोलप्रथाबाट विभाजन गरिएको थियो ।
एन्फाबाट छानिएका १४ र विभिन्न स्थानका सैनिक महाविद्यालयबाट छानिएका ११ खेलाडी समावेश गरेर भदौदेखि प्रशिक्षण दिइएको आर्मीले जनाएको छ । एकेडेमीलाई खेलाडी उत्पादनको मुख्य स्रोतको रुपमा लिइने सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका महासेनानी शशिकिरण रायमाझीले बताए ।
एकेडेमीको उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले विलक्षण प्रतिभाका युवा खेलाडीलाई नेपाली सेनाले आफ्नो एकेडेमीमा राखेर प्रशिक्षण गराउन पाउँदा खुसी लागेको बताए ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गर्ने उद्देश्यमा ग्रासरुट कार्यक्रम ल्याइएको बताए । ‘एएफसी क्लब लाइसेन्सिङ सुरुआत आर्मीबाटै हुनु र युथ एकेडेमी पनि आर्मीबाट सुरु गर्न पाउनु नेपाली फुटबलका लागि सुखद पक्ष हो,’ अध्यक्ष शेर्पाले भने ।
उद्घाटनका अवसरमा एकेडेमी रहेका खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । आर्मीका खेलाडी भरत खवासको नेतृत्वमा ‘ए’ र जर्जप्रिन्स कार्कीको नेतृत्वमा ‘बी’ टिमले खेलेका थिए । त्यसमा खवासको टिम १–० ले विजयी भयो । युथ खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराइएको खेल सामग्री प्रदान गरिएको थियो ।


