Saturday, August 1, 2026
Homeखेलकुदआईपीएलको उपाधि बेंगलुरुले चुम्यो

आईपीएलको उपाधि बेंगलुरुले चुम्यो

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा मंगलबार सम्पन्न फाइनल खेलमा पंजाब किंग्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले पहिलोपटक आईपीएलको उपाधि आफ्नो नाममा गरेको हो।

बेंगलुरुले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याएको पंजाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो।

पंजाबका लागि शशांक सिंहले आक्रामक अर्धशतक प्रहार गरे। उनले ३० बलमा ३ चौका र ६ छक्कासहित ६१ रन जोडे। जोश इंग्लिसले ३९ रन, प्रभसिमरन सिंहले २६ रन, र प्रियांश आर्याले २४ रन बनाए। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान २/२ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो।

बेंगलुरुका लागि विराट कोहलीले ३५ बलमा सर्वाधिक ४३ रन बनाए जसमा ३ चौका समावेश थिए। कप्तान रजत पाटिदारले १६ बलमा २६ रन, मयंक अग्रवालले १८ बलमा २४ रन (२ चौका, १ छक्का), र लियाम लिभिङस्टोनले १५ बलमा २५ रन (२ छक्का) बनाए।

विकेटकीपर जितेश शर्माले १० बलमा २४ रन, भने रोमारियो शेफर्डले ९ बलमा १७ रन बनाए। पंजाबका बलर कायल जेमिसन र अर्शदीप सिंहले समान ३/३ विकेट लिए।

यो जितसँगै रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो आईपीएल इतिहासको पहिलो उपाधि हात पारेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका