अहमदावाद, भारत: बिहीबार लण्डनतर्फ उडान भरिरहेको एक भारतीय यात्रुबाहक विमान भारतको अहमदावाद शहरको एक घना आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको आशंका गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत शोक सन्देश दिँदै भने, “अहमदावादको त्रासदीले हामीलाई स्तब्ध र गहिरो पीडामा डुबाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमै दुर्घटनामा परेको हृदयविदारक घटनाले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको छ।”
अहमदावादका प्रहरी आयुक्त जीएस मलिकले एएफपी समाचार संस्थालाई भने, “दुर्घटनामा कोही पनि जीवित रहेको देखिँदैन। विमान आवासीय र केही कार्यालय रहेको क्षेत्रमा खसेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।”
एक स्थानीय कर्मचारी, जसले आफ्नो नाम गोप्य राख्ने सर्तमा बोले, उनले भने, “हाम्रो कार्यालय दुर्घटनास्थलको नजिकै रहेको भवनमा छ। हामीले भवनका मानिसहरूलाई दोस्रो र तेस्रो तल्लाबाट हामफालेर ज्यान जोगाउने प्रयास गरेको देख्यौँ। विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो।”
भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार, दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा दुई जना पाइलट र आठ चालक दलका सदस्यसहित २४२ जना सवार थिए। लण्डनको ग्याटविक विमानस्थलतर्फ उडेको उक्त विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगाली र एक जना क्यानाडाली नागरिक सवार थिए।
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले घटनालाई “विनाशकारी” भन्दै गहिरो समवेदना व्यक्त गरेका छन्। उनले पीडित परिवारप्रति सहानुभूति जनाउँदै सामाजिक सञ्जालमा शोक सन्देश राखेका छन्।
भारतीय नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार, विमानले उडान भरेपछि केही समयमै ‘मे डे’ आपतकालीन कल जारी गरेको थियो र विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ।
स्थानीय पुनम पटनीले एएफपीसँग भनिन्, “जब हामी घटनास्थलमा पुग्यौँ, त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरू आगो निभाइरहेका थिए। कतिपय शवहरू यति जलेका थिए कि पहिचान गर्न असम्भवजस्तै थियो।”
विमान अहमदावादको सिभिल अस्पताल र ‘हर्स क्याम्प’ क्षेत्रको बीचमा खसेको बताइएको छ। उद्धार कार्य जारी छ भने घटना सम्बन्धी विस्तृत अनुसन्धान थालिएको छ।


