काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अभ्यास खेलमा साउथ अस्ट्रेलियामाथि २ विकेटको जित निकालेको छ।
शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलिया ४५ ओभरमै २४२ रनमा अलआउट भयो। २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट १०१ रनको शतकीय इनिङ खेले। त्यस्तै, गुल्सन झाले ३६ रन योगदान गरे भने सोमपाल कामीले नटआउट ४० रन बनाए।
बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३–३ विकेट लिए। रूपेश सिंह, सन्दीप लामिछाने र शाहब आलमले १–१ विकेट झारे।
यसअघि बिहीबार खेलिएका दुई टी–२० अभ्यास खेलमा नेपाल पराजित भएको थियो। तर, मंगलबार एसिटी अस्ट्रेलियाविरुद्धका दुवै अभ्यास खेलमा नेपाल विजयी भएको थियो।


