काठमाडाैँ । अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुरक्षामा गम्भीर समस्या देखिएको नयाँ प्रतिवेदनले जनाएको छ।
एडेलेड विश्वविद्यालयले सार्वजनिक गरेको अध्ययनले सुरक्षा प्रणालीको कमजोरीका कारण उच्च र अत्यन्त उच्च स्तरको मनोसामाजिक जोखिम बढिरहेको उल्लेख गरेको छ। अष्ट्रेलियन अनुसन्धान परिषद्को आर्थिक सहयोगमा गरिएको विश्वविद्यालय कर्मचारी कल्याणसम्बन्धी राष्ट्रिय सर्वेक्षणअनुसार व्यवस्थापकीय सहयोग कमजोर हुनु, कर्मचारी हितलाई प्राथमिकता नदिनु, सीमित संवाद र परामर्श प्रक्रिया तथा मनोसामाजिक जोखिमको पहिचान र व्यवस्थापनमा कमी हुनु प्रमुख कारण देखिएका छन्।
अध्ययनमा सहभागी ८० प्रतिशतभन्दा बढी कर्मचारीहरूले आफूहरू अत्यधिक भावनात्मक थकानमा रहेको बताएका छन्। मूल्याङ्कन गरिएका सबै ३६ विश्वविद्यालयमा अत्यन्त उच्च मनोसामाजिक सुरक्षा जोखिम भेटिएको छ, जुन सामान्य कार्यक्षेत्रको तुलनामा दोब्बरभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
मनोसामाजिक सुरक्षा वातावरणको सूचकाङ्कमा अग्रस्थानमा चार्ल्स डार्विन विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय र क्वीन्सल्याण्ड विश्वविद्यालय रहेका छन्।
अध्ययनका मुख्य अनुसन्धानकर्ता प्राध्यापक मोरेन डलार्डले कर्मचारीहरूको मानसिक स्वास्थ्य सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले उत्पादनमुखी व्यवस्थापनभन्दा कर्मचारी कल्याणमुखी व्यवस्थापन प्रणाली अपनाउनुपर्नेमा जोड दिएका छन्।
अष्ट्रेलियाको कार्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कानुनअनुसार विश्वविद्यालयहरूले मनोसामाजिक जोखिमको रोकथाम तथा उचित व्यवस्थापन गर्नु अनिवार्य दायित्व मानिन्छ।


