काठमाडौं। विश्वको ध्यान अहिले चीनको बेइजिङतर्फ मोडिएको छ, जहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार ‘द ग्रेट हल अफ द पिपुल’ मा महत्वपूर्ण भेटवार्ता हुँदैछ।
ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो चीन भ्रमणका क्रममा बेइजिङ पुग्नुभएको हो। सन् २०१७ पछि पहिलोपटक भएको यो भ्रमणलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ दिशा तय गर्ने एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ।
विशेषगरी पछिल्लो समय देखिएको भू-राजनीतिक तनाव र व्यापारिक खिचातानीका बीच दुई शक्तिशाली राष्ट्रका प्रमुखहरू आमने-सामने हुन लागेका हुन्।
ट्रम्पको दोस्रो कार्यकालको सुरुवातसँगै चिनियाँ सामग्रीमा लगाइएको भन्सार शुल्कका कारण दुई देशको सम्बन्धमा केही चिसोपन देखिएको थियो। यद्यपि, सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको वार्तामा भन्सार शुल्क ५७ बाट ४७ प्रतिशतमा झारिएपछि दुवै पक्ष संवादप्रति सकारात्मक देखिएका छन्।
यसपटकको भेटमा अमेरिकाले ‘बोर्ड अफ ट्रेड’ अर्थात् नयाँ व्यापारिक ढाँचा प्रस्ताव गर्ने तयारी गरेको छ। अमेरिकाले चिनियाँ खनिज धातुमा आफ्नो पहुँच सुनिश्चित गर्न खोजेको छ भने चीनले पनि अमेरिकी कृषि उत्पादन, विशेषगरी सोयाबिनको आयात बढाउने र ५०० वटा बोइङ विमान खरिद गर्ने सम्भावना देखिएको छ।
बदलामा चीनले उच्च प्रविधि र एआई क्षेत्रमा अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो पार्नुपर्ने माग राख्ने अनुमान गरिएको छ।
भेटमा ताइवानको मुद्दा र सैन्य सहयोगको विषयले पनि प्रमुखता पाउने निश्चित छ। ट्रम्पले ताइवानका लागि प्रस्ताव गरिएको ११ अर्ब डलरको हतियार प्याकेजबारे छलफल गर्ने सङ्केत गर्नुभएको छ, जसको चीनले लामो समयदेखि कडा विरोध गर्दै आएको छ।
यसका साथै जारी इरान युद्ध र त्यसले ऊर्जा बजारमा पारेको प्रभावबारे पनि दुई नेताबीच गहन छलफल हुनेछ। अमेरिका इरानसँगको द्वन्द्वमा प्रत्यक्ष संलग्न रहँदा चीनले इरानबाट ठूलो परिमाणमा तेल खरिद गरिरहेको विषयमा वासिङ्टनले असन्तुष्टि पोख्दै आएको छ। चीनले यसलाई आफ्नो ऊर्जा सुरक्षाको पाटो भने पनि अमेरिकाले यसलाई प्रतिबन्धको उल्लङ्घनका रूपमा लिँदै आएको छ।
आर्थिक र प्राविधिक प्रतिस्पर्धाको यो घडीमा ट्रम्पको भ्रमण टोलीमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिन्कसहित १६ वटा प्रतिष्ठित अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी छन्।
यसले अमेरिका चीनसँगको व्यापारिक सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन चाहेको स्पष्ट पार्छ। विशेषगरी इलेक्ट्रिक गाडीका लागि आवश्यक पर्ने दुर्लभ खनिज धातु (रेयर अर्थ मिनरल्स) र सेमिकन्डक्टर प्रविधिमा एक-अर्काको निर्भरता घटाउने वा सन्तुलन मिलाउने विषयमा पनि कुराकानी हुनेछ।
चिनियाँ विदेश मन्त्रालयले समानता र आपसी सम्मानका आधारमा सहकार्य गर्न तयार रहेको सन्देश दिइरहँदा सन् २०२६ को सुरुवाती तथ्यांकले चीनको निर्यात क्षमता झन् सुदृढ भएको देखाएको छ, जसले यो वार्तालाई अझ रोचक बनाएको छ।


