झापा । यही कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार खेलमैदानमा घाँस काट्ने र प्यारापिट सजाउने काम भइरहेको छ । रङ्गशालाको प्यारापिटमा करिब ३०० दर्शकका लागि प्लास्टिकका कुर्सीहरू जडान गरिँदैछ ।
शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटसहित अन्य भौतिक संरचनाको काम द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले झापाको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको महिला गोल्डकप आयोजना हुन लागेको बताउँदै यसलाई भव्य र सफल बनाउन स्थानीय निकाय, संघ–संस्था र नागरिक सबैले सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनमा करिब रु एक करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, अन्य तीन ए–डिभिजन क्लबका साथै भारत र भूटानका टोलीहरू सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेता टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा सर्वाधिक गोलकर्तालाई रु २५–२५ हजार प्रदान गरिनेछ । हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई रु १५ हजार पुरस्कार दिइनेछ ।


