Friday, June 26, 2026
Homeखेलकुदअन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: फाइनलमा चुक्यो नेपाल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: फाइनलमा चुक्यो नेपाल

काठमाडौं: फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा म्यानमारले खेलको नियन्त्रण लिँदै दुई मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो। नेपालले उत्कृष्ट सुरुवात गरे पनि पहिलो हाफमा सिर्जना भएका अवसरलाई सदुपयोग गर्न सकेन।

म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे। खेलको २४औँ मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहारलाई नेपाली गोलकिपर बिमला विकले उत्कृष्ट बचाउ गर्दै नेपाललाई खेलमा राखेकी थिइन्। ३५औँ मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ को प्रहारलाई म्यानमारकी गोलकिपरले रोकेपछि नेपालले गोल गर्ने मौका गुमायो।

४४औँ मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काए पनि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन्। नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। तर, उपाधि जित्ने नेपालको सपना फेरि अधुरो रह्यो।

नेपालका लागि यो हार निराशाजनक रह्यो, किनकि पछिल्लो १५ वर्षमा खेलेका १३ फाइनलमध्ये नेपालले कुनै पनि उपाधि जित्न सकेको छैन। यसअघि साफ च्याम्पियनसिपका ६ फाइनल (२०१०, २०१२, २०१४, २०१९, २०२२, २०२४) मा नेपाल उपविजेता बनेको थियो। त्यस्तै, २०१०, २०१६, र २०१९ को साग गेम्सको स्वर्ण पदक खेलमा नेपाल भारतसँग पराजित भएको थियो।

२०१९ मा नाडेज्दा कपको फाइनलमा उज्वेकिस्तानसँग, हिरो वुमन्स गोल्डकपमा म्यानमारसँग तथा २०२४ मा वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल पराजित भएको थियो। यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा पनि म्यानमारसँग हार बेहोरेसँगै नेपालको उपाधि जित्ने संघर्ष जारी रह्यो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका