Thursday, June 25, 2026
Homeखेलकुदअन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप: लेबनानलाई हराउँदै नेपाल फाइनलमा

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप: लेबनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ। सावित्रा भण्डारी साम्बाको निर्णायक गोलसहित नेपालले लेबनानलाई १-० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै अग्रता लिएको थियो। खेलको ४२औं मिनेटमा सावित्राले डिबक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरको खुट्टामा लाग्दै जाली चुमेको थियो।

यो जितसँगै नेपालले लिग चरणको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा स्थान बनाएको हो। नेपालले अघिल्लो खेलमा किर्गिस्तानलाई पनि १-० गोल अन्तरले हराएको थियो। फाइनलमा नेपालसँगै म्यानमार पुगेको छ, जसले लेबनानलाई ३-१ र किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गरेको थियो। अब नेपालले आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि बुधबार फाइनल खेल्नेछ।

नेपालका लागि खेलको नवौं मिनेटमै चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो। लेबनानकी क्रिस्टी महालुफको प्रहारलाई नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गर्दै क्रसबारमाथि पञ्च गरिन्।

नेपालले खेलभरि केही थप अवसरहरू खेर फाल्यो। १२औं मिनेटमा लेबनानकी लैला डिबक्सभित्रबाट गोल गर्न असफल भइन्। ३०औं मिनेटमा नेपालकी गोलकिपर एन्जिलाले लैलासँग वान भर्सेस वानको अवस्थालाई सफलतापूर्वक सम्हालिन्।

पहिलो हाफको इन्जुरी समयमा साम्बाले नेपालको अग्रता दोब्बर पार्ने अवसर गुमाइन्, जब उनको प्रहार लेबनानकी गोलकिपरको खुट्टामा लागेर फर्कियो। दोस्रो हाफमा ५९औं मिनेटमा साम्बाको पासमा सविताले प्रहार गरे पनि बल पोष्टमाथि गयो।

खेलको इन्जुरी समयमा लेबनानले बराबरी गर्ने सुनौलो मौका पाएको थियो। जाहवा अरबीको प्रहार क्रसबारमा लाग्दा नेपालको संकट टर्यो, र अन्ततः नेपाल फाइनलमा प्रवेश गर्न सफल भयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका