काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागमार्फत अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया यथाशीघ्र सुरु गर्न तयारी भइरहेको बताएका छन्।
उक्त विभागको अनुगमन तथा निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले अनलाइन मिडियाको दर्ता र नवीकरणका क्रममा धेरै सञ्चारकर्मीले झन्झट बेहोर्नुपरेको उल्लेख गर्दै सेवा सहजीकरणका लागि विभागलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिएका हुन्।
मन्त्री खरेलले भने, “यो दर्ता प्रक्रिया सम्भवतः तिहार अघि नै अघि बढ्नेछ। विभाग पूर्ण तयारी अवस्थामा छ। अहिले धेरै साथीहरूले झन्झट व्यहोर्नुभएको छ, अब विभागले छिट्टै सहजीकरण र आवश्यक सेवा सुविधा उपलब्ध गराउनेछ।”
उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै मनसुनका विपद् र दसैंका कारण प्रक्रिया मिलाउन समय लागेको बताए। उनले आगामी मन्त्रिपरिषद्को निर्णयपछि राजपत्रमा सूचना प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरे।
सञ्चार मन्त्री खरेलले सूचना प्रविधि विभाग अन्य सरकारी निकायजस्तै ढिलासुस्ती गर्ने स्वभाव नभएको जनाउँदै भने, “यो कार्यालय जनता र पत्रकारसँग प्रत्यक्षरूपमा जोडिएको भएकाले विधि र प्रक्रियामा सहजीकरणका लागि निरन्तर प्रयास भइरहेको छ।”
उनका अनुसार, सीमित स्रोत, साधन र जनशक्तिका बीचमा पनि विभागले राम्रो सेवा प्रवाह गर्दै आएको छ। “अनलाइन मिडियाको नवीकरण यहीँबाट होस् भन्ने चाहना राखेर मन्त्रिपरिषद्बाट निर्णय भएको हो,” उनले स्पष्ट पारे।
मन्त्री खरेलले वर्तमान सरकारको प्रमुख दायित्व सुशासन कायम गर्दै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने रहेको उल्लेख गरे। उनले जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिको अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता जनाए। साथै मन्त्रालय मातहतका निकायहरूमा परिणाममुखी काम अघि बढाउँदै सेवा प्रवाहलाई छिटो र सरल बनाउने आधारशिला स्थापित गर्न सरकार प्रयासरत रहेको बताए।
मन्त्रालयकी सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता, नवीकरण र पत्रकारसम्बन्धी अन्य मागहरू सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको धारणा राखिन्।
त्यसैगरी विभागका महानिर्देशक उदयबहादुर रानामगरले सञ्चारकर्मीका हकहित र सहजीकरणका लागि विभागले निरन्तर काम गरिरहेको जानकारी दिए।


