Friday, June 19, 2026
Home Blog Page 637

लेकबाट बेँसी झर्न थाले भेडाका बथान

0

लमजुङ: चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ झर्न थालेका छन्। चरनमा समस्या देखिएपछि जिल्लाका घुम्ती गोठका गोठालाले आफ्ना भेडाबाख्रा तल्लो क्षेत्रतिर ल्याउन थालेका हुन्।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेका अनुसार जिल्लामा साना र ठूला गरी तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्। यी सबै गोठ अहिले लेकबाट बेँसी झरिरहेका छन्। भेडीगोठका लागि सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेजस्ता ग्रामीण क्षेत्र प्रसिद्ध छन्।

गर्मी महिनामा भेडाबाख्रा लेकतर्फ लैजाने चलन भए पनि चिसोयाम सुरु भएसँगै ती बथान पुनः बेँसी फर्काइने गरेको घुम्ती भेडीगोठाला कमल अधिकारीले बताउनुभयो। उहाँका अनुसार, “गर्मीको ६ महिना लेकमा र चिसोको ६ महिना बेँसीमा भेडीगोठ राखिन्छ। बेँसीमा झारिएका भेडाबाख्राका बथानबाट निस्किएको मल खेतबारीमा प्रयोग हुन्छ।”

क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँका दीर्घराज घलेले गाउँका दुई वडामा रहेका भेडीगोठ चिसो बढेसँगै लेकबाट गाउँतर्फ ल्याउन लागिएको जानकारी दिनुभयो। त्यस्तै, कास्कीको सिमानामा रहेको पसगाउँको भेडीगोठ पनि क्युबे–ल्हेदे हुँदै गाउँ फर्किन थालेको स्थानीयले बताएका छन्।

लमजुङको उत्तरी ताघ्रिङ्का भेडीगोठ यसअघि थुर्जुलेकमा पुगेका थिए। ती बथान अहिले ठूलागी आइपुगेका छन् र केही हप्तापछि गाउँमै झारिने योजना छ। गुरुङ समुदायको पुर्खौँली पेशा तथा परम्पराका रूपमा भेडीगोठलाई विशेष महत्व दिइन्छ।

लमजुङका भेडीगोठहरू लमजुङ, मनाङ, र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखसम्म लैजाने गरिन्छ। पसगाउँको भेडीगोठ कास्की र लमजुङको सिमाना डाँडा तिङ्जेसम्म पुग्छ भने ताघ्रिङका भेडीगोठ लके थुर्जु क्षेत्रमा चलायमान हुन्छन्।

बेँसीतर्फ झरेपछि भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग हुन्छ। यस्तै, भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाउन उपयोग गरिन्छ। जिल्लामा २३ हजार भेडाबाख्रा रहेका तथ्याङ्क छ। यसबाट वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ, जसको प्रतिकिलो मूल्य रु ३ सय रहेको छ।

चरनको खोजीमा गर्मी र चिसो मौसमअनुसार लेक र बेँसीबीच घुम्ती रहने भेडीगोठ जिल्लाका ग्रामीण जीवन र कृषि उत्पादनका लागि महत्वपूर्ण छन्। तापक्रम परिवर्तनका कारण चरन व्यवस्थापन चुनौती भए पनि गोठालाहरूले आफ्नो परम्परागत पेसालाई जीवन्त राखेका छन्।

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

0

काठमाडौँ: क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसदबीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिनुभएको थियो ।

पुटिनले भारत भ्रमण गर्ने

0
फाइल तस्बिर

काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकट भविष्यमा भारतको भ्रमण गर्न तयारी गरिरहेका छन्। रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभको भनाइलाई उद्धृत गर्दै रुसी टाइम्सको भारतीय सेवाले यो जानकारी दिएको छ। भ्रमणको मिति अझै सार्वजनिक नभए पनि छिट्टै घोषणा हुने विश्वास गरिएको छ।

समाचार एजेन्सी एएनआईले पेस्कोभको एक भिडियो साझा गरेको छ, जहाँ उनले भनेका छन्, “मलाई आशा छ, हामीले चाँडै भ्रमणको मिति तय गर्नेछौं। प्रधानमन्त्री मोदीले रुसका दुई भ्रमणपछि हाम्रा राष्ट्रपतिले भारतको भ्रमण गर्नेछन्।”

यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक रुसको यात्रा गरिसकेका छन्। पहिलोपटक उनी जुलाई महिनामा आफ्नो तेस्रो कार्यकालको सुरुवातसँगै मस्को पुगेका थिए। त्यसपछि कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको क्रममा मोदी र पुटिनबीच भेटघाट भएको थियो।

रुसी राष्ट्रपति पुटिनको यो भारत भ्रमणलाई रणनीतिक साझेदारीको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। रुस-भारत सम्बन्ध ऊर्जा, रक्षा, व्यापार, र अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा ऐतिहासिक रूपमै सुदृढ छ। पछिल्ला वर्षहरूमा भारत र रुसले बहुपक्षीय प्लेटफर्महरूमा निकट सहकार्य गरेका छन्।

तर, पुटिनले गत वर्ष भारतको अध्यक्षतामा आयोजित जी–२० शिखर सम्मेलनमा सहभागीता जनाएका थिएनन्, जसलाई भूराजनीतिक चुनौतीहरू र उनका आफ्नै कूटनीतिक प्राथमिकतासँग जोडेर हेर्न सकिन्छ।

रुसी राष्ट्रपति पुटिनको आगामी भ्रमणले भारत-रुस सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। यो भ्रमणका क्रममा रक्षा क्षेत्रका ठूला सम्झौतादेखि ऊर्जा सहयोग र बहुपक्षीय साझेदारीका मुद्दामा वार्ता हुने सम्भावना छ।

विश्लेषकहरूको विश्वास छ कि यो भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउनुका साथै भूराजनीतिक सन्तुलन कायम राख्न भारतको भूमिकालाई बलियो बनाउनेछ

अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावास बन्द गर्ने

0

काठमाडौं: अमेरिकाले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको
छ ।

युक्रेनमा रहेको अमेरिकी दूतावासले एक विज्ञप्तिमा नोभेम्बर २० मा ठूला हवाई हमलाको बारेमा “ठोस जानकारी” प्राप्त गरेको र धेरै सावधानी अपनाएर यो कदम चालिएको बताएको छ।

यस विज्ञप्तिमा भनिएको छ, “सुरक्षा कारणले दूतावास बन्द रहनेछ र यसका कर्मचारीहरूलाई सुरक्षित स्थानमा शरण लिन भनिएको छ।”

अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई हवाई हमलाको सूचना पाएलगत्तै सुरक्षित स्थानमा जान सल्लाह दिएको छ ।

तर, कीभमा अमेरिकी दूतावास बन्द हुनु कुनै नौलो कुरा होइन । यसअघि पनि नयाँ वर्ष र युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा यस्तै चेतावनी जारी गरिएको थियो ।

साउदीमा यो वर्ष १०१ विदेशीले मृत्युदण्ड पाए, सबैभन्दा धेरै पाकिस्तानी

0

काठमाडौं: साउदी अरबमा मृत्युदण्डको संख्या यस वर्ष नयाँ रेकर्डमा पुगेको छ। सन् २०२४ मा हालसम्म १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिइएको छ, जुन अघिल्लो दुई वर्षको तुलनामा झन्डै तीन गुणा बढी हो।

सन् २०२३ र २०२२ मा साउदी अरबले ३४–३४ विदेशी नागरिकलाई मृत्युदण्ड दिएको थियो। यस वर्षको तथ्याङ्कले मृत्युदण्डको संख्यामा तीव्र वृद्धि भएको देखाएको छ। पछिल्लो घटनामा एक यमनी नागरिकलाई लागुऔषध तस्करीको अभियोगमा दोषी ठहर गर्दै शनिबार मृत्युदण्ड दिइएको छ।

विदेशी नागरिकहरू मृत्युदण्डको सूची

यस वर्ष मृत्युदण्ड पाउने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै २१ जना पाकिस्तानका छन्। अन्य देशहरूको स्थिति यस्तो छ:

  • यमन: २० जना
  • सिरिया: १४ जना
  • नाइजेरिया: १० जना
  • इजिप्ट: ९ जना
  • जोर्डन: ८ जना
  • इथियोपिया: ७ जना
  • सुडान र अफगानिस्तान: ३–३ जना
  • भारत: ३ जना
  • श्रीलंका, इरिट्रिया र फिलिपिन्स: १–१ जना

मानव अधिकारको चासो

साउदी अरबमा मृत्युदण्डको उच्च संख्या र विशेष गरी विदेशी नागरिकमाथिको सजायले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चासो बढाएको छ। मानव अधिकारवादी समूहहरूले बारम्बार साउदी सरकारलाई मृत्युदण्डको प्रयोगलाई सीमित गर्न र निष्पक्ष न्याय प्रणाली सुनिश्चित गर्न आग्रह गर्दै आएका छन्।

विशेषज्ञहरूले साउदी अरबमा मृत्युदण्डका मुद्दामा कानुनी प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएका छन्। विदेशी श्रमिकहरू, विशेष गरी दक्षिण एसियाली र अफ्रिकी देशका नागरिकहरू, कमजोर कानुनी प्रतिनिधित्वका कारण अधिक जोखिममा पर्ने देखिन्छ।

पृष्ठभूमि

साउदी अरबमा प्रचलित इस्लामिक कानुनअनुसार लागुऔषध तस्करी, हत्या, बलात्कार र आतंकवादजस्ता गम्भीर अपराधमा मृत्युदण्डको सजाय दिइन्छ। तर, विदेशी नागरिकमाथि सजायको यस्तो उच्च अनुपातले साउदीको आप्रवासी नीति र न्याय प्रणालीमाथि आलोचना बढाएको छ।

यस घटनाले खाडी क्षेत्रका देशहरूमा काम गर्न जाने आप्रवासी श्रमिकहरूका लागि थप चुनौती खडा गरेको मानव अधिकारवादीहरू बताउँछन्।

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

0

काठमाडौं: चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा देशभित्रको खपतपछि बाँकी रहेको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारतलाई बिक्री गरिएको हो। चार महिनाको औसत प्रति युनिट दर ७ रुपैयाँ ६३ पैसा रहेको छ।

प्राधिकरणले बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गरेको र द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा पनि विद्युत् पठाएको जनाएको छ। भारतको प्रसारण संरचनाको प्रयोग गर्दै बंगलादेशमा समेत विद्युत् निर्यात सुरु भइसकेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारु आम्दानी गरिरहेको छ।

बाढीपहिरोको प्रभाव
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण विद्युत् उत्पादन र निर्यातमा असर परेको जानकारी दिए।

“४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाका संरचनामा पहिरोले क्षति पुर्याउँदा उत्पादन बन्द छ। अन्य साना आयोजना र काबेली करिडोर प्रसारण लाइनमा पनि बाढीले क्षति पुर्याएपछि करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ,” घिसिङले भने। “यसले असोज र कात्तिकको विद्युत् निर्यातमा प्रभाव परेको छ, जसका कारण चालू आर्थिक वर्षमा राखिएको ३० अर्ब रुपैयाँ निर्यातको लक्ष्य प्रभावित हुनसक्छ।”

हाल माथिल्लो तामाकोशीको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा आइसकेको छ।

विद्युत् उत्पादन घट्ने संकेत
हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव कम हुने भएकाले जलविद्युत् आयोजनाको उत्पादन आन्तरिक माग धान्नमै सीमित हुने देखिन्छ। यसले विद्युत् निर्यात क्रमशः घटाउँदै जानेछ, र केही महिनामा नेपाललाई विद्युत् आयात गर्नुपर्ने आवश्यकता पर्न सक्छ।

महिनावार निर्यात विवरण

  • साउन: ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँ बराबरको ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत्, औसत प्रति युनिट दर ८ रुपैयाँ ३६ पैसा।
  • भदौ: ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँ बराबरको ५५ करोड ९४ लाख ४७ हजार युनिट, औसत प्रति युनिट दर ६ रुपैयाँ ५८ पैसा।
  • असोज: ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको ३७ करोड ९२ लाख ६३ हजार युनिट, औसत प्रति युनिट दर ८ रुपैयाँ ०८ पैसा।
  • कात्तिक: १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँ बराबरको २३ करोड ३५ लाख ७६ हजार युनिट, औसत प्रति युनिट दर ७ रुपैयाँ ८४ पैसा।

चार महिनामा जम्मा ९४१ मेगावाट क्षमताका २८ वटा आयोजना भारतमा बिक्रीका लागि स्वीकृत भइसकेका छन्।

आयात–निर्यात तुलना
गत आर्थिक वर्षमा नेपालले भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरे पनि १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गर्यो। यसले नेपाललाई खुद विद्युत् आयातकर्ताबाट निर्यातकर्तामा परिणत गरेको छ।

चौबीस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्स कम्पनीहरूलाई पर्यटनमन्त्रीकोे निर्देशन

0

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडा वृद्धिको विषयमा मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री पाण्डेले यो निर्देशन जारी गरेका हुन्।

मन्त्री पाण्डेले भने, “हामीले नागरिककै सेवाका लागि हवाई कम्पनीहरूलाई सहुलियत उपलब्ध गराएका थियौं। तर, त्यसको उपहास गर्दै राज्य र नागरिकप्रतिको दायित्व बेवास्ता गरी गैरजिम्मेवारी देखाइएको छ। प्रतिष्ठित व्यापारी र एयरलाइन्सले नागरिकमाथि द्वन्द्व व्यापारजस्तो व्यवहार देखाएका छन्, जुन अत्यन्तै खेदजनक छ। यसले मलाई निकै दु:खी बनाएको छ।”

यसअघि, नियामक निकायसँगको छलफलमा हवाई सेवा कम्पनीहरूले भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरे पनि त्यसको कार्यान्वयन नगरेकोप्रति मन्त्री पाण्डेले कडा आपत्ति जनाएका छन्। हवाई भाडा वृद्धिबारे गुनासो बढ्दै गएपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीहरूको संयुक्त बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने निर्णय गरेको स्मरण गराउँदै मन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई राज्य र नागरिकप्रति जिम्मेवार बन्न चेतावनी दिए।

 

देशका अधिकांश भागमा आज मौसम सफा रहने

0

काठमाडौँ, ५ मङ्सिरः देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपालमा खुला दिशामुक्त अभियानले सफलता पाएको छः मन्त्री यादव

0

काठमाडौँ: खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा खुला दिसामुक्त अभियानले उल्लेखनीय सफलता पाएको बताउनुभएको छ ।
खानेपानी विभाग तथा अन्तर्राष्ट्रिय संस्था वाटर एडको सयुक्त आयोजनामा विश्व शौचालय दिवस, २०२४ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री यादवले नेपालले खुला दिसाको समस्यासँग लडेको र यस अभियानले उल्लेखनीय सफलता पाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “खुला दिसाको अभ्यासले स्वास्थ्यमा प्रत्यक्ष जोखिम ल्याएको थियो, पानीजन्य सङ्क्रमणले बालबालिकाको जीवन जोखिममा परेको र अन्य स्वास्थ्य जटिलता निम्त्याएको थियो । खुला दिसामुक्त अभियानले सफलता पाएको छ, अधिकांशले शौचालयको प्रयोग गर्न थालेका छन् ।”

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले सुधारिएको शौचालय प्रयोग गर्ने बढेसँगै नेपालले प्रभावकारी रूपमा पाँच वर्ष मुनिका बालबालिकामा झाडापखाला रोगको सङ्क्रमण लाग्ने दर घटाउन सफल भएको देखाएको र देशभरबाट खुला दिसा प्रथा उन्मूलन गर्ने उद्देश्यले यस अभियान सञ्चालन गरिएको मन्त्री यादवको भनाइ थियो ।

उहाँले भन्नुभयो, “सरकारको दीर्घकालीन सरसफाइ गुरुयोजनाको एक भागका रूपमा सन् २०११ मा राष्ट्रव्यापी अभियान सुरु गरिएको थियो । शौचालयमा विशेष ध्यान केन्द्रित गरी थप स्वच्छ सरसफाइ अभ्यासमा पहुँच बढाएर देशभरबाट खुला दिसा प्रथा उन्मूलन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको थियो ।”

‘एक घरः एक शौचालय’ भन्ने नाराले देशमा सन् २०१९ को सेप्टेम्बर खुला दिसामुक्त राष्ट्र बन्ने सपना साकार भएको तथा यसका लागि सबै जिल्ला र स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्री यादवको भनाइ थियो । अभियानका क्रममा देशभर ५० लाखभन्दा बढी शौचालय निर्माण गरिएको मन्त्री यादवले बताउनुभयो ।

मन्त्री यादवले शौचालय मात्रै निर्माण गरेर नहुने उल्लेख गर्दै शौचालय प्रयोग गर्ने एवं प्रयोग गरिसकेपछि साबुन पानीले हात धुनुपर्ने बानीको विकास गर्न आवश्यक रहेको बतानुभयो ।

विशिष्ट परिवेशमा कांग्रेस-एमालेको सरकार बन्योः नेता महत

0

कर्णाली: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संयुक्त सरकार गठन विशिष्ट परिस्थितिमा भएको स्पष्ट गर्नुभएको छ।

मंगलबार प्रेस युनियन सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो वातावरण उत्पन्न भएकाले दुई शक्तिबीच सहकार्यमा सरकार बनेको बताउनुभयो।

उहाँले आसन्न उपनिर्वाचनमा कतै समीकरण भए पनि आगामी निर्वाचनमा गठबन्धनका वर्तमान दलहरूले आ-आफ्नो ढंगले प्रतिस्पर्धा गर्ने कुरा प्रष्ट्याउनुभयो।

कांग्रेसको सय दिनको अभियान र उपनिर्वाचन प्रचारका क्रममा कर्णाली आइपुग्नुभएका पूर्वअर्थमन्त्री महतले आफ्नो कार्यकालमा कर्णाली राजमार्ग र अपर कर्णाली क्षेत्रका लागि ठूलो बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो। तर, बजेट विनियोजन गरेपछि सरकारबाट बाहिरिनुपरेकाले कार्यान्वयनमा ढिलाइ भएको उहाँले थप्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमात्र नभई पार्टी उपसभापति धनराज गुरुङविरुद्ध पनि आवश्यक छानबिन र अनुसन्धान भइरहेको जानकारी दिँदै प्रवक्ता महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको हितमा केन्द्रित हुने बताउनुभयो।

बागलुङ हुँदै रुकुम, जाजरकोट, र दैलेखजस्ता जिल्लाहरूमा यात्रा गर्ने क्रममा उपनिर्वाचनमा देखिएको व्यापक उत्साहले आफूलाई ऊर्जा मिलेको उहाँले व्यक्त गर्नुभयो।