Friday, June 19, 2026
Home Blog Page 636

अमेरिकाको टेक्सास राज्यले डोनाल्ड ट्रम्पलाई दियो अवैध आप्रवासी राख्न जग्गा दिने प्रस्ताव

0

काठमाडौं: अमेरिकाको टेक्सासका अधिकारीहरूले नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन्।

अधिकारीहरुका अनुसार उनीहरुले अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर निर्माण गर्न करिब १४०० एकड जमिन दिने प्रस्ताव गरेका छन् ।

टेक्सास ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्र अनुसार, “अमेरिकाको इतिहासमा हिंसात्मक अपराधीहरूलाई निर्वासन, अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिन्छ।”

डोनाल्ड ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नेछन्। ट्रम्पले अवैध आप्रवासीलाई लिएर कडा नीति अपनाउने कुरा यसअघि नै गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा इजरायलका प्रधानमन्त्री नेतान्याहुविरुद्ध गिरफ्तार वारेन्ट जारी

0

काठमाडौं: अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षा मन्त्री योभ गलान्टलाई गिरफ्तारी वारेन्ट जारी गरेको छ। अदालतले लोकतान्त्रिक देशका नेताहरूविरुद्ध यस्तो वारेन्ट जारी गरेको पहिलो पटक हो।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रि-ट्रायल च्याम्बरका तीन न्यायाधीशले मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा सर्वसम्मतिले वारेन्ट जारी गरेका हुन्।
अभियोजक करीम खानले गाजा नरसंहार हरेको भन्दै मुद्धा दायर गरेका थिए।

यो आदेशपछि नेतान्याहु र ग्यालान्ट दुबै आईसीसीको पक्षमा रहेका १२० भन्दा बढी देशमा यात्रा गरेमा पक्राउ पर्ने छन्। त्यस्तै अदालतले मोहम्मद दीब इब्राहिम अल-मसरी (जसलाई मोहम्मद डेफ भनेर पनि चिनिन्छ) ७ अक्टोबर, २०२३ मा युद्धलाई उत्प्रेरित गर्ने नरसंहारमा वारेन्ट जारी गरेको छ। इजरायलले हवाई हमलामा डेफ मारेको बताए पनि हमासले आफ्नो सैन्य शाखाको प्रमुखको मृत्यु भएको औपचारिक रूपमा कहिल्यै स्वीकार गरेको छैन।

अदालतको यो निर्णयले हाल हमास हिजबुल्लाहवृद्ध लडाईमा रहेका नेतान्याहुलाई मुश्किलमा पार्नसक्ने विश्लेषण गरिएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरे पनि यसको व्यावहारिक प्रभावहरू सीमित हुन सक्ने बताइएको छ किनभने इजरायल र यसको प्रमुख सहयोगी, संयुक्त राज्य अमेरिका, यस अदालतको सदस्य छैनन्।

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रको भाडादर घटायो

0

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय क्षेत्रको भाडादर घटाएको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म घटाएको हो।

भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा भाडादर घटाइएको निगमले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन निर्देशन दिएसँगै भाडादरमा छुट दिने भइएको हो।

दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको निगमले जनाएको छ।

१ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको निगमको भनाइ छ।

काठमाडौंका खोला किनार मापदण्डबारे सर्वोच्च अदालतको सरकार पक्षमा आदेश

0

काठमाडौं: काठमाडौंमा खोला किनारको थप २० मिटर क्षेत्र खाली राख्नुपर्ने विवादास्पद मापदण्ड तत्काल कार्यान्वयन नहुने भएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको निवेदनमा निस्सा दिने फैसला बिहीबार सुनाएको हो।

यसअघि, अधिवक्ता प्रकाशमणि शर्माको रिट निवेदनमाथि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत पुस ३ गते बागमती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने आदेश दिएको थियो। तर, उक्त फैसला त्रुटिपूर्ण र कानुनी नजीरको प्रतिकूल रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट सचिव फणीन्द्र गौतमले सोमबार पुनरावलोकन निवेदन दर्ता गराएका थिए।

सरकारले रिट निवेदकले जिकिर नै नगरेको विषयमा अदालतले आदेश गरेको, कानुनको प्रतिकूल आदेश जारी गरेको, र खोला किनारलाई २० मिटर खुला क्षेत्र छाड्ने फैसला व्यवहारिक रूपमा समस्या सिर्जना गर्ने भन्दै पुनरावलोकनको माग गरेको थियो।

बागमती संरक्षणसँग सम्बन्धित यो विषयले कानुनी, पर्यावरणीय र सामाजिक रूपमा बहस सिर्जना गरेको छ। पुनरावलोकनको आदेशले यस विषयमा थप चर्चा र स्पष्टता आउने अपेक्षा गरिएको छ।

स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ

0

रौतहट: रौतहटको सदरमुकाम गौरस्थित राइस मिलको बाटोमा प्रहरीले गस्तीका क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक पैदल यात्रीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार साँझ गौर नगरपालिका–१ निवासी ५४ वर्षीय वीरेन्द्र कुमार जयसवाल चेकजाँचको क्रममा पक्राउ परेका हुन्। जयसवालले लुकाइछिपाइ राखेको अवस्थामा ५ सय दरका २०० थान र १ हजार दरका ५०० थान नेपाली नोट गरी कुल ६ लाख रुपैयाँसहित १ थान मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिनुभयो।

प्रहरीले बरामद रकमको स्रोत खुलाउन नसकेको भन्दै जयसवाललाई नियन्त्रणमा लिएको छ। रौतहट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बहदुरमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले चार महिनादेखि तलबभत्ता पाएनन्

0

वीरगञ्ज (पर्सा): जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् ।

चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।

स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन ।

नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएकोे झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ ।
बहुदरमाई नगरपालिका उपप्रमुख सुष्माकुमारी कुशवाहाले नगरसभाबाट बजेट पारित भएको एक महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताउनुभयो ।

“मैले पटकपटक, प्रमुखसँग समन्वय गरिसके । तर, उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । ”, उहाँले भन्नुभयो, “नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, स्वास्थ्य निकायका कर्मचारीले २०८१ साउनदेखि तलबभत्ता पाएका छैनन् । विद्यार्थीले छात्रवृत्ति, दैनिक खाजा खर्च,सुत्केरी भत्ता सबै रोकिएको छ । ”

पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन् ।

उपप्रमुख कुशवाहाले साउनदेखि नगरभित्रका सम्पूर्ण विकास निर्माण कार्यहरु पनि रोकिएको जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले पर्साको बहुदरमाई गाउँपालिकाको खाता अहिलेसम्म पनि सञ्चालनमा नआएको बताउनुभयो । गत कात्तिकमा नगरसभा भए पनि नगरपालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिलेसम्म खाता सञ्चालनमा हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “चालु आवको साउनदेखि पालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । आवश्यक समन्वय गरिरहे पनि अहिलेसम्म विवाद समाधान भएको छैन ।”

गत कात्तिक ३० गते नगरपालिकाका उपप्रमुख कुशवाहा, वडा नम्बर १ का वडाध्यक्ष प्रमोदप्रसाद यादव, वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेल, वडा नम्बर ३ का दिनेश यादव, वडा नम्बर ४ का सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष सुनिल महत्तो कोइरी र वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्रप्रसाद गुप्ताले जिल्ला प्रशासन कार्यालय पर्सालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले तलबप्राप्त गर्न नसकेको बताउनुभयो । “नगरप्रमुख ज्यूले अख्तियारी नदिँदा पालिकाको खाता अझैसम्म पनि सञ्चालन गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो ।

नगरपालिका प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण अख्तियारनामा दिन केही ढिलाइ भएको स्वीकार्नुभयो । “गत कात्तिक ८ गते नगरसभाबाट बजेट पारित गरेका छौँ । चाडपर्व र अन्य विविध कारणले अख्तियारी दिन केही समय लागेको हो”, उहाँले भन्नुभयो, “ मङ्सिरभित्रै अख्तियारी दिनेछु ।”

‘विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्’ – राखेप

0

काठमाडौँ: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले तेस्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाउनुभएको छ ।

सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाई दिँदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाउनुभएको हो । “विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केही चिन्ता गर्नुपर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ,” सदस्य–सचिव घिसिङले भन्नुभयो ।

सदस्य–सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोवद्र्धनजस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउँदै थाउलो विश्वकपको पुरस्कारका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो ।

विजयले जापानको योकोहामामा गत अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्वकपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् ।

चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धीमध्ये पाँचौँ स्थानमा रहँदै विजय थाउलो विश्वकपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिनुभयो । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए । विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३ औँ सागमा स्वर्ण जितेका छन् ।

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित

0

बागमती: बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।

“आर्थिक वर्ष २०७६÷७७ मा सुरुङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो”, बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका इञ्जिनियर ज्यानेन्द्रप्रसाद पुनले भन्नुभयो, “सो सरकारको निर्णयअनुसार आव २०७७÷७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ, ” उहाँले भन्नुभयो ।

सरकार फेरिएसँगै सो आयोजना अघि बढाउने वा खारेज गर्ने टुङ्गो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको उहाँले बताउनुभयो
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको सुनिश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएकोे बताउनुभयो । “अन्य आयोजनाजस्तो सरल होइन सुरुङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो”, उहाँले भन्नुभयो, “पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ ।”
सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।

आज नेपाल–भारत सैन्य सहकार्य वार्ता

0

काठमाडौँ: लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न यहाँ आउनुभएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले राससलाई बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

0

काठमाडौँ: क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।

राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्ष्यित गरी शिविर सञ्चालन गरेको हो ।

उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार विगत एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा यस्ता दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो । ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका सङ्ख्या अधिक छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो ।

यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी सहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो ।