काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकट भविष्यमा भारतको भ्रमण गर्न तयारी गरिरहेका छन्। रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभको भनाइलाई उद्धृत गर्दै रुसी टाइम्सको भारतीय सेवाले यो जानकारी दिएको छ। भ्रमणको मिति अझै सार्वजनिक नभए पनि छिट्टै घोषणा हुने विश्वास गरिएको छ।
समाचार एजेन्सी एएनआईले पेस्कोभको एक भिडियो साझा गरेको छ, जहाँ उनले भनेका छन्, “मलाई आशा छ, हामीले चाँडै भ्रमणको मिति तय गर्नेछौं। प्रधानमन्त्री मोदीले रुसका दुई भ्रमणपछि हाम्रा राष्ट्रपतिले भारतको भ्रमण गर्नेछन्।”
यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक रुसको यात्रा गरिसकेका छन्। पहिलोपटक उनी जुलाई महिनामा आफ्नो तेस्रो कार्यकालको सुरुवातसँगै मस्को पुगेका थिए। त्यसपछि कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको क्रममा मोदी र पुटिनबीच भेटघाट भएको थियो।
रुसी राष्ट्रपति पुटिनको यो भारत भ्रमणलाई रणनीतिक साझेदारीको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। रुस-भारत सम्बन्ध ऊर्जा, रक्षा, व्यापार, र अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा ऐतिहासिक रूपमै सुदृढ छ। पछिल्ला वर्षहरूमा भारत र रुसले बहुपक्षीय प्लेटफर्महरूमा निकट सहकार्य गरेका छन्।
तर, पुटिनले गत वर्ष भारतको अध्यक्षतामा आयोजित जी–२० शिखर सम्मेलनमा सहभागीता जनाएका थिएनन्, जसलाई भूराजनीतिक चुनौतीहरू र उनका आफ्नै कूटनीतिक प्राथमिकतासँग जोडेर हेर्न सकिन्छ।
रुसी राष्ट्रपति पुटिनको आगामी भ्रमणले भारत-रुस सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। यो भ्रमणका क्रममा रक्षा क्षेत्रका ठूला सम्झौतादेखि ऊर्जा सहयोग र बहुपक्षीय साझेदारीका मुद्दामा वार्ता हुने सम्भावना छ।
विश्लेषकहरूको विश्वास छ कि यो भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउनुका साथै भूराजनीतिक सन्तुलन कायम राख्न भारतको भूमिकालाई बलियो बनाउनेछ


