Monday, June 22, 2026
Home Blog Page 594

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

0

काठमाडौँ: जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ ।

विश्वविद्यालयमा बन्द हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन: शिक्षामन्त्री भट्टराई

0

भक्तपुर: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरू र ख्वपः अस्पतालको निरीक्षणपछि आयोजित अन्तरक्रियामा यस्तो धारणा राख्नुभएको हो।

ख्वपः विश्वविद्यालयको विधेयकमा प्रगति
मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको प्रयासलाई प्रशंसा गर्दै ख्वपः विश्वविद्यालय विधेयकलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। विधेयक मन्त्रिपरिषद्मा पुगेको जानकारी दिँदै उहाँले सकारात्मक छलफल भइरहेको उल्लेख गर्नुभयो।

स्थानीय तहलाई विश्वविद्यालय सञ्चालनको आग्रह
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालनको अधिकार दिनुपर्ने धारणा राख्नुभयो। उहाँले ख्वपः विश्वविद्यालयलाई जनताको विश्वविद्यालयका रूपमा स्थापना गरी देशभरका विद्यार्थीलाई सहज रूपमा उच्च शिक्षाको अवसर दिनुपर्ने बताए।

भक्तपुर नगरपालिकाको सक्रियता
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वपः विश्वविद्यालय स्थापनाका लागि सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्त गर्न नेपाल ट्रष्टसँग पटक–पटक पत्राचार गरेको जानकारी दिनुभयो। उहाँले ख्वपः विश्वविद्यालय विधेयक २०८० पारित गर्न शिक्षा मन्त्रालयले पहल गर्नुपर्ने माग राख्दै मन्त्री भट्टराईलाई अनुरोध पत्र हस्तान्तरण गर्नुभयो।

स्थलगत निरीक्षण
मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू, अस्पताल र प्राविधिक कलेजहरूको निरीक्षण गर्नुभएको थियो। उहाँले ख्वपः माध्यमिक विद्यालय, ख्वपः कलेज, शारदा क्याम्पस मावि, ख्वपः कलेज अफ ल, ख्वपः अस्पताल, ख्वपः बहुप्राविधिक अध्ययन संस्थान, र ख्वपः इञ्जिनियरिङ कलेजलगायतका संस्थाहरूको सेवा, विद्यार्थी संख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभयो।

स्मरणीय उपहार प्रदान
कार्यक्रममा सचिव सुवालले मन्त्री भट्टराईलाई पार्टीका प्रकाशनहरू उपहार दिनुभएको थियो भने नगर प्रमुख प्रजापतिले नगरपालिकाका प्रकाशनहरू तथा कलेजका प्रकाशनहरू प्रदान गर्नुभयो।

जनकपुरधाम परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह

0

महेन्द्रनगर (धनुषा): मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरण र उपभोग निषेध गर्न आग्रह गर्नुभएको छ । यसलाई कडाइका साथ पालना गर्न उहाँले जोड दिनुभयो ।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गर्नुभएको छ । सो क्षेत्रमा मासु र मदिरा निषेध कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहका साथै सरोकारवालासँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटनलाई जोगाउन पनि मासु र मदिरा निषेध गर्न जनकपुरधामवासीले चासो लिनुपर्छ”, उहाँले भन्नुभयो–“जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत दिँदैनन् । तर अनुमतिबिना किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ ।”

यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

0

गलेश्वर (म्याग्दी): गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ ।

साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो ।

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो ।

चालु आर्थिक वर्षमा तीन हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो ।

अनुकूल, मौसम रोगको कम प्रभाव, रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

दुई हजार दुई सय ९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ । हाल १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती भएको छ ।

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष सन् २०२५ को शुभकामना

0

काठमाडौँ, १७ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।

हवाई सुरक्षामा व्यापक छानबिन गर्न दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिको आदेश

0

काठमाडौं: दक्षिण कोरियामा हालै भएको भीषण विमान दुर्घटनापछि कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले देशभरका एयरलाइन्समा आपतकालीन सुरक्षा निरीक्षण गर्न आदेश दिएका छन्। यो निर्णयले हवाई यात्राको सुरक्षा सुनिश्चित गर्न सबै विमानको द्रुत र गहन जाँच गर्ने अपेक्षा गरिएको छ।

दुर्घटनाको पृष्ठभूमि

आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको एउटा विमान अवतरणको क्रममा आगलागी हुँदा दुईजनाबाहेक सबै १७९ यात्रुको मृत्यु भएको थियो। यो घटना दक्षिण कोरियाको उड्डयन इतिहासकै सबैभन्दा घातक दुर्घटना हो।

दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। कार्यवाहक राष्ट्रपति चोईले घटनाको छानबिन गर्न अनुसन्धान टोलीलाई तत्काल निर्देशन दिएका छन्। उनले दुर्घटनाका सबै पृष्ठभूमि उजागर गर्न र भविष्यमा यस्ता घटना रोक्न आवश्यक कदम चाल्न जोड दिएका छन्।

सुरक्षा निरीक्षण र थप घटनाहरू

नागरिक उड्डयन उपमन्त्री जु जोङ-वानका अनुसार देशका छवटा वायुसेवा कम्पनीले सञ्चालन गर्ने यस मोडलका १०१ विमानको विस्तृत निरीक्षण गरिनेछ। यस्तै, जेजु एयरको अर्को विमान सोमबार ल्यान्डिङ गियरमा समस्या देखिएपछि टेक अफ भएको केही समयमै सियोल फर्किएको थियो।

समाचार एजेन्सी योनहापका अनुसार, जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान ६:३५ बजे उडेको उक्त विमान एक घण्टाभन्दा कम समयमै ल्यान्डिङ गियरको गडबडीका कारण फर्किएको थियो।

सरकारको प्रतिक्रिया

दुर्घटनाका कारण देशभर हवाई यात्रुहरूमा त्रास फैलिएको छ। सरकारले विमानहरूको सुरक्षा सुनिश्चित गर्न चालेका कदमहरू यात्रुहरूलाई आश्वस्त पार्ने उद्देश्यले गरिएको हो। कार्यवाहक राष्ट्रपति चोईले सार्वजनिक सुरक्षा र हवाई सुरक्षालाई सरकारको मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

विशेषज्ञहरूले यी घटनाहरूले दक्षिण कोरियाको उड्डयन क्षेत्रमा सुधार आवश्यक रहेको र नियमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न बल दिएको बताएका छन्।

जिन्स लगाएका चेस खेलाड़ी प्रतियोगिताबाट निष्कासित : फेरि खेल्न सहमत

0

काठमाडौं: विश्व नम्बर एक चेस खेलाडी म्याग्नस कार्लसन प्रमुख चेस प्रतियोगितामा सहभागी हुन फेरि सहमत भएका छन्। अन्तर्राष्ट्रिय चेस फेडेरेसनले ड्रेस कोडमा केही लचिलोपन अपनाएपछि कार्लसनले आफ्नो निर्णय बदलेका हुन्।

न्यूयोर्कमा शुक्रबार सुरु हुने वर्ल्ड र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा भाग लिन आएका कार्लसनले ड्रेस कोडसम्बन्धी विवादका कारण आफ्नो नाम फिर्ता लिएका थिए। आयोजकले जिन्स लगाएर प्रतियोगितामा सहभागी हुन नसक्ने बताएपछि उनले प्रतियोगिताबाट हट्ने निर्णय गरेका थिए।

पाँच पटकका विश्व च्याम्पियन ३४ वर्षीय कार्लसनलाई गत हप्ता प्रतियोगिताको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा २०० डलर जरिवाना गरिएको थियो। उनले लञ्च बैठकको समयमा जीन्स लगाएका थिए, जसलाई ड्रेस कोड उल्लङ्घनको रूपमा लिइएको थियो। कार्लसनले ट्राउजर लगाउनेतर्फ ध्यान नदिएको स्वीकार्दै यो विवाद अनावश्यक भएको बताएका थिए।

अन्तर्राष्ट्रिय चेस फेडेरेसनले कार्लसनको गुनासोको जवाफ दिँदै ड्रेस कोडमा लचिलोपन अपनाउने घोषणा गरेको छ। यसपछि कार्लसनले सोमबार प्रतियोगितामा भाग लिने र त्यो समयमा जीन्स लगाउने आफ्नो निर्णय सार्वजनिक गरेका छन्।

यस घटनाले ड्रेस कोडजस्ता नियमहरूको आवश्यकता र लचिलोपनमाथि बहस चर्काएको छ। चेस खेलमा कार्लसनजस्तो प्रतिष्ठित खेलाडीको सहभागिता आयोजकहरूका लागि महत्त्वपूर्ण मानिन्छ। चेस जगतका केही विशेषज्ञहरूले यस विषयलाई खेलका परम्परागत नियमहरू र आधुनिक आवश्यकताहरूबीचको टकरावको रूपमा व्याख्या गरेका छन्।

कार्लसन आफ्नो उपाधि रक्षा गर्न यो प्रतियोगितामा आएका थिए, र उनको सहभागिताले खेलको प्रतिष्पर्धात्मकतामा थप आकर्षण ल्याउने अपेक्षा गरिएको छ।

चीनले आफ्नो सिस्टम ह्याक गरेको अमेरिकी वित्त विभागको आरोप

0

काठमाडौं: अमेरिकी ट्रेजरी डिपार्टमेन्टका प्रणालीहरूमा चिनियाँ सरकार प्रायोजित ह्याकरहरूको आक्रमण भएको अमेरिकी अधिकारीहरूले सोमबार पुष्टि गरेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार ह्याकरहरूले ट्रेजरी डिपार्टमेन्टका कर्मचारीहरूको कार्यस्थल प्रणाली र केही संवेदनशील कागजातहरूमा पहुँच हासिल गरेका थिए। यो साइबर आक्रमण डिसेम्बर महिनाको शुरुवाती दिनहरूमा भएको बताइएको छ।

अर्थ विभागले यो घटनाका सम्बन्धमा अमेरिकी सिनेटरहरूलाई पत्र पठाएर जानकारी गराएको थियो, जसपश्चात् घटना सार्वजनिक भएको हो। विभागले यसलाई ‘ठूलो घटना’को रूपमा परिभाषित गरेको छ। घटनाको थप अनुसन्धानका लागि एफबीआई र अन्य सम्बन्धित एजेन्सीहरूसँग सहकार्य भइरहेको जानकारी पनि दिइएको छ।

यस घटनालाई लिएर चिनियाँ दूतावासका प्रवक्ताले भने, “यो आरोप चीनमाथि गरिएको निन्दनीय आक्रमण हो, जसमा कुनै तथ्यको आधार छैन।” उनले बीबीसीसँग कुरा गर्दै यो आरोप ‘निराधार’ भएको जिकिर गरेका छन्।

अमेरिकी साइबर सुरक्षा विशेषज्ञहरूले यो घटनालाई गम्भीरताको साथ लिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार, ह्याकरहरूले अत्याधुनिक प्रविधि प्रयोग गरी अमेरिकी सरकारको प्रणालीमा घुसपैठ गरेका थिए। घटनापश्चात् अमेरिकी अधिकारीहरूले साइबर सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चीनमाथि यसअघि पनि विभिन्न समय अमेरिकी संस्थाहरूमा ह्याक गर्ने आरोप लाग्दै आएको छ। तर, चीनले आफ्नो भूमिकालाई सधैं अस्वीकार गर्दै आएको छ।

विशेषज्ञहरूले यो घटना केवल अमेरिकी ट्रेजरी विभागका लागि मात्र नभई, अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि पनि चेतावनीको संकेत भएको बताएका छन्।

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

0

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन्।

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

रविसहित ७ जनाको थुनछेक बहस सुरु

0

पोखरा: प्रतिवादीतर्फ २० भन्दा बढी वकिलले वकालतनामा दर्ता गरेका छन् भने सरकारी वकिल र पीडित पक्षका वकिलहरूको संख्या १६ छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध, र राष्ट्र बैंक ऐन उल्लंघनसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ। सात जना प्रतिवादीसँग बयान सकिएपछि मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो।

यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल बञ्जाडे जोशी, पूर्व सांसद मीना गुरुङ, जिबी राई समूहकी लिला पछाईं, रामबहादुर खनाल, सहकारीका पूर्व सञ्चालक सदस्य कृष्णबहादुर गुरुङ, र आरती गुरुङसँग बयान लिएपछि बहसको प्रक्रिया अगाडि बढाइएको छ। बहस सुरु भएसँगै कास्की जिल्ला अदालतमा सबैको ध्यान केन्द्रित भएको छ। आदेश आउन कति समय लाग्छ भन्ने यकिन गर्न सकिँदैन, तर कम्तीमा तीन दिन लाग्ने अनुमान गरिएको छ।

बुधबार सरकारी वकिलहरूले बहस गर्नेछन्। बिहीबार पीडित पक्षका वकिलले बहस सकेपछि शुक्रबार प्रतिवादीका वकिलहरूले बहस गर्ने पालो आउनेछ। यदि सोही दिन जवाफी बहस सकिएमा आदेश आउने सम्भावना छ। तर, बहस नसकिएमा प्रक्रिया लम्बिन सक्छ।

मंगलबारको दिन मुद्दाको संक्षिप्त परिचय प्रस्तुत गरिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्मा र सुजाता पौडेलले प्रतिवादीका अभियोगहरूको व्याख्या गरेका थिए।

स्रेस्तेदार राजन खनालका अनुसार, अभियोजन पक्षको बहस अझै बाँकी छ। पीडित पक्षबाट बहस सकिएपछि प्रतिवादीतर्फका वकिलहरूले आफ्नो तर्क प्रस्तुत गर्नेछन्। कति दिन लाग्छ भन्ने यकिन गर्न गाह्रो छ। मंगलबारको बहसका क्रममा प्रतिवादी कृष्णबहादुर गुरुङको रुवाबासीका कारण बहस स्थगित गरिएको थियो।

गुरुङको नाम आएपछि उनले तत्काल प्रतिवाद गर्दै आफू सहकारी ठग नभएको दाबी गरेका थिए। “म त्यस्तो व्यक्ति होइन, बरु यहीँ मर्छु। अरूले गरेको गल्तीका लागि मलाई दोषी बनाइएको छ,” उनले भनेका थिए। यस क्रममा अदालतको माहोल केहीबेर अशान्त बनेको थियो। कार्यालय समय समाप्त हुने भएपछि बहस अर्को दिनका लागि स्थगित गरिएको हो।