Friday, June 26, 2026
Home Blog Page 542

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

0

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर रु. १३९.२४ र बिक्रीदर रु. १३९.८४ कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर रु. १४५.८९ र बिक्रीदर रु. १४६.५२, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु. १७५.८७ र बिक्रीदर रु. १७६.६३, स्वीस फ्रयाङ्क एकको खरिददर रु. १५५.४५ र बिक्रीदर रु. १५६.११ निर्धारण गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर रु. ८८.१९ र बिक्रीदर रु. ८८.५७, क्यानेडियन डलर एकको खरिददर रु. ९७.६३ र बिक्रीदर रु. ९८.०५, सिङ्गापुर डलर एकको खरिददर रु. १०३.९६ र बिक्रीदर रु. १०४.४१ तोकिएको छ।

जापानी येन १० को खरिददर रु. ९.२९ र बिक्रीदर रु. ९.३३, चिनियाँ युआन एकको खरिददर रु. १९.१७ र बिक्रीदर रु. १९.२५, साउदी अरेबियन रियाल एकको खरिददर रु. ३७.१३ र बिक्रीदर रु. ३७.२९, कतारी रियाल एकको खरिददर रु. ३८.२० र बिक्रीदर रु. ३८.३६ कायम गरिएको छ।

थाइ भाट एकको खरिददर रु. ४.१३ र बिक्रीदर रु. ४.१५, युएई दिराम एकको खरिददर रु. ३७.९१ र बिक्रीदर रु. ३८.०८, मलेसियन रिङ्गेट एकको खरिददर रु. ३१.४८ र बिक्रीदर रु. ३१.६२, साउथ कोरियन वन १०० को खरिददर रु. ९.७० र बिक्रीदर रु. ९.७५, स्वीडिस क्रोनर एकको खरिददर रु. १३.०९ र बिक्रीदर रु. १३.१५, डेनिस क्रोनर एकको खरिददर रु. १९.५६ र बिक्री दर रु. १९.६४ निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर रु. १७.९१ र बिक्रीदर रु. १७.९९, कुवेती दिनार एकको खरिददर रु. ४५१.३३ र बिक्रीदर रु. ४५३.२८, बहराइन दिनार एकको खरिददर रु. ३६९.४४ र बिक्रीदर रु. ३७१.०३, ओमनी रियाल एकको खरिददर रु. ३६१.६६ र बिक्रीदर रु. ३६३.२२ कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर रु. १६०.०० र बिक्रीदर रु. १६०.१५ तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमय दर कुनै पनि समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकताः उपराष्ट्रपति यादव

0

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक प्रविधि, दक्षता, अध्ययन-अनुसन्धानमा पारङ्गतता, र कूटनीतिक कौशलले सुसज्जित सेना आजको आवश्यकता भएको बताएका छन्।

सेना दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि स्वदेशमा उत्पादन नहुने तथा आर्थिक तथा प्राविधिक क्षमताका कारण आत्मनिर्भरता अभाव हुनु राष्ट्रिय हितका लागि संवेदनशील विषय भएको बताए। उनले सेनाको दक्षता, सशक्तीकरण, र आधुनिकीकरणमा परनिर्भरता कम गर्न सबै सरोकारवालाको ध्यान जान आवश्यक रहेको उल्लेख गरे।

महाशिवरात्रि सेना दिवसका अवसरमा उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि, र उत्तम स्वास्थ्यका लागि शुभकामना व्यक्त गरे।

उपराष्ट्रपति यादवले सेना दिवसले सेनाको साहस, वीरता, समर्पण, र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने बताए। उनले नेपाली सेनाले राष्ट्रको सुरक्षा र सम्मानको रक्षा गर्दै आइरहेको उल्लेख गर्दै नेपाली सेना साहस र समर्पणका साथ जिम्मेवारी निर्वाह गरिरहेको धारणा व्यक्त गरे।

“सेना दिवसका अवसरमा हामी सबैले राष्ट्रको सुरक्षा र विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ,” उनले भने। साथै, नेपाली सेनाले बाह्य सुरक्षा मात्र नभई प्राकृतिक प्रकोप तथा विपद्को समयमा समेत देश र समाजको सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

देशका अधिकांश भागमा मौसम सफा रहने

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको
छ । तराईका केही भागमा हल्का हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले हिमपात र वर्षाबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन ती क्षेत्रका सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

८४ करोड रुपैयाँको शौचालय पाँच मिनेटमा चोरी

0

काठमाडौं: इङ्ग्ल्याण्डको ऐतिहासिक ब्लेनहाइम दरबारबाट चोरहरूले ४८ लाख पाउण्ड मूल्य बराबरको सुनको शौचालय चोरेको खुलासा भएको छ। अदालतमा भएको सुनुवाइका क्रममा यो चोरी चोरहरूले मात्र पाँच मिनेटमै सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।

यो अनौठो चोरी सेप्टेम्बर १४, २०१९ मा भएको थियो। अक्सफोर्डशायरस्थित ब्लेनहाइम दरबारमा कला प्रदर्शनीको एक भागको रूपमा सुनको शौचालय जडान गरिएको थियो, जुन पूर्ण रूपमा प्रयोगयोग्य थियो। उक्त दरबार बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको जन्मस्थानसमेत हो।

यस घटनामा संलग्न भएको आरोपमा अक्सफोर्डका ३९ वर्षीय माइकल जोन्सले चोरीमा संलग्न रहेको आरोप अस्वीकार गरेका छन्। यस्तै, विन्डसरका ३६ वर्षीय फ्रेड डो र पश्चिम लन्डनकी ४१ वर्षीया बोरा गुकुकले चोरीपछिको आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्रको आरोप अस्वीकार गरेका छन्।

अक्सफोर्ड क्राउन कोर्टमा सुनुवाइको क्रममा अभियोजन पक्षका वकिल जुलियन क्रिस्टोफर केसीले अदालतलाई जानकारी गराएअनुसार, चोरीका लागि दुईवटा गाडीमा आएका पाँच जनाको गिरोहले दरबारभित्र प्रवेश गरेर शौचालय उखेल्न सफल भएको थियो। चोरीपछि उनीहरू केही मिनेटमै भाग्न सफल भए।

शौचालय चोरी भएयता अहिलेसम्म फेला परेको छैन। अनुसन्धानकर्ताहरूका अनुसार, चोरहरूले शौचालयलाई पगालेर सुनको रूपमा बेचिसकेको हुनसक्ने अनुमान गरिएको छ।

यस घटनाले बेलायतमा व्यापक चर्चा पाएको थियो, किनभने उक्त सुनको शौचालय इटालियन कलाकार मौरिजियो कात्तेलनद्वारा डिजाइन गरिएको थियो। यसलाई ‘अमेरिका’ नाम दिइएको थियो र यसअघि न्युयोर्कको गुगेनहाइम संग्रहालयमा प्रदर्शन गरिएको थियो।

चोरीपछि ब्लेनहाइम दरबारका अधिकारीहरूले गह्रौं सुरक्षाका बाबजुद चोरहरूले शौचालय कसरी चोरे भन्नेबारे छानबिन गरिरहेको बताएका थिए। दरबारमा पानीको मुख्य पाइपलाइनमा जडान गरिएको शौचालय चोरी भएपछि ठूलो क्षति भएको थियो, जसका कारण दरबारका केही भागहरू डुबानमा परेका थिए।

अहिले अदालतमा मुद्दाको कारबाही जारी छ, र अभियोजन पक्षले यो योजनाबद्ध चोरी भएको दाबी गरेको छ। अभियुक्तहरूले भने आरोप अस्वीकार गर्दै आएका छन्।

युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने सम्झौता ‘अन्तिम चरणमा’

0

काठमाडौं: युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने एक सम्झौता अन्तिम चरणमा पुगेको युक्रेनी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले जानकारी दिएकी छन्।

स्टाफनीशिनले सामाजिक सञ्जाल एक्समा “वार्ता धेरै रचनात्मक भएको र प्रायः सबै प्रमुख विषयहरू टुङ्गिएको” बताउँदै छिट्टै हस्ताक्षर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

तर, सम्झौतामाथि अमेरिकाको दबाब बढ्दै गएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की असन्तुष्ट देखिएका छन्। गत सेप्टेम्बरमा डोनल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवार रहँदा जेलेन्स्कीले खनिजसम्बन्धी सम्झौतालाई तथाकथित “विजय योजना” का रूपमा प्रस्तुत गरेका थिए। उनले अमेरिकाले युक्रेनलाई दिइरहेको सहयोगलाई औचित्य दिन उक्त प्रस्ताव अघि सारेका थिए।

अमेरिकी पहुँच र युक्रेनी असहमति

युक्रेनले आफ्नो भूगर्भीय अध्ययनका आधारमा विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण खनिज भण्डारण आफ्नै देशमा रहेको दाबी गरेको छ। यसमा एक करोड ९० लाख टन ग्राफाइट, लिथिअम, टाइटानिअम र रेअर अर्थ तत्वहरू छन्।

तर, सम्झौतासँगै अमेरिकाले युक्रेनी खनिज स्रोतहरूमा व्यापक पहुँच खोजेको र सम्झौताका शर्तहरू युक्रेनका लागि असहज हुँदै गएको देखिन्छ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रस्तावमा असहमति जनाउँदै गत बुधवार युक्रेनका रेअर अर्थ खनिजमध्ये ५० प्रतिशत अमेरिका दिने प्रस्ताव अस्वीकार गरेका थिए। उनले भनेका थिए, “म हाम्रो देश बेच्न सक्दिनँ।”

तर, आइतवार तयार गरिएको सम्झौताको दोस्रो मस्यौदा पहिलेभन्दा पनि कठोर बनेको बताइएको छ। पहिले राजस्व बाँडफाँटको प्रस्ताव भए पनि संशोधित सम्झौतामा अमेरिकाले खनिज स्रोतमा पूर्ण नियन्त्रण कायम गर्ने विषय समेटिएको छ।

रुसको कब्जा र रणनीतिक महत्त्व

युक्रेनका कतिपय खनिज भण्डारहरू रुसले कब्जा गरिसकेको छ। युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोका अनुसार, युक्रेनका ३५९ अर्ब डलर बराबरका स्रोतहरू रुसको नियन्त्रणमा छन्।

सन् २०२२ मा गरिएको मूल्याङ्कन अनुसार, रुसले युक्रेनको ६३ प्रतिशत कोइला खानी कब्जा गरेको छ। साथै, म्याङ्गनीज, सिजिअम, ट्यान्टलम र रेअर अर्थ खनिजहरूको ठूलो हिस्सा रुसको नियन्त्रणमा रहेको छ।

खनिजहरूलाई २१औँ शताब्दीको अर्थतन्त्रको बलियो जग मानिन्छ। यी खनिजहरू नवीकरणीय ऊर्जा, सैन्य उपकरण, विद्युतीय गाडी ब्याट्री तथा औद्योगिक पूर्वाधार निर्माणमा अत्यावश्यक मानिन्छन्।

चीनसँगको प्रतिस्पर्धा र अमेरिकी स्वार्थ

अमेरिका-युक्रेन खनिज सम्झौताका पछाडि अर्को प्रमुख कारण चीनसँगको प्रतिस्पर्धा हो। हाल विश्वका ७५ प्रतिशत रेअर अर्थ खनिज स्रोत चीनमा रहेको छ।

डिसेम्बरमा चीनले केही रेअर अर्थ खनिजहरूको अमेरिकामा निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकाले नयाँ आपूर्तिकर्ता खोज्न खोजिरहेको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले उक्त सम्झौताले “अमेरिका र युक्रेनलाई भविष्यमा सँगै ल्याउने” बताएका छन्।

तर, सम्झौतामाथि युक्रेनी असहमति बढ्दो छ। अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले अमेरिका-युक्रेन सम्झौतालाई समर्थन जनाउँदै भनेका छन्, “अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहयोग बराबरको खनिज स्रोत पाउनुपर्छ।”

जेलेन्स्कीले भने, युक्रेनलाई दिइएको सहायता अनुदान हो, ऋण होइन, त्यसकारण खनिज स्रोत साट्नुपर्ने कुनै बाध्यता नरहेको बताएका छन्।

कतिपय विश्लेषकहरूले अमेरिकी प्रस्तावलाई “औपनिवेशिक सम्झौता” भन्दै आलोचना गरेका छन्। तर, युक्रेनी सरकारले भने अमेरिकी लगानीकर्ताहरूलाई खनिज उत्खननमा आकर्षित गर्ने सम्भावनालाई फाइदाजनक बताउँदै आएको छ।

विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

0

काठमाडौं: बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ। सोमबार विषादी सेवन गरेका थापाको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

धादिङको धुनीबेसी–९ का ३६ वर्षीय थापा कलंकीस्थित एक साथीको डेरामा सोमबार दिउँसो २ बजे बेहोस अवस्थामा फेला परेका थिए। विषादी सेवन गरेका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा सोमबार बेलुकी ६:३८ बजे निधन भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले पुष्टि गरेका छन्।

प्रहरीले थापाको साथबाट एक पत्र बरामद गरेको छ। उक्त पत्रमा उनले सहकारीको रकम लेनदेनसँग जोडेर आफूलाई बेइज्जत गर्न खोजिएको आरोप लगाएका छन्।

प्रहरीका अनुसार, सुमेरु सहकारी प्रकरणसँग जोडिएको अडियो सार्वजनिक भएपछि थापाको नाम विवादमा आएको थियो। बरामद पत्रमा मन्त्री श्रेष्ठ र उनको सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरेर प्रयोग गरिएको दाबी गरिएको छ।

यस घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

0

काठमाडौँ: नेपाली दूतावास बैंककले सरकारद्वारा तोकिएका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुनः अनुरोध गरेको छ।

कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र पर्ने घटनाहरू बढ्दै गएकाले उद्धार प्रक्रियामा कठिनाइ भइरहेको भन्दै दूतावासले पुनः सचेत गराएको हो।

विशेष गरी अनलाइन ठगी (स्क्यामिङ) कार्यमा लगाइएका नेपाली नागरिकलाई उद्धार गर्न दूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्दार गरेको छ। हालै, दूतावासले दुई नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काएको जनाएको छ।

दूतावासले छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नपरी, प्रक्रिया पुर्‍याईमात्र वैदेशिक रोजगारीमा जान पुनः अनुरोध गर्दै सम्भावित जोखिमबारे सचेत रहन सबैलाई आग्रह गरेको छ।

राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका ‘एनसिसी’ प्रतिनिधिमण्डलको शिष्टाचार भेट

0

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान-प्रदान कार्यक्रम २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएका ती देशका टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेटवार्ता गरेका हुन्।

नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्ध सुदृढ गर्न ‘क्याडेट’ बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।

यस कार्यक्रमले सहभागी देशहरूबीच सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थ बुझ्न सहयोग पुर्‍याउने तथा आपसी सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ।

राष्ट्रिय सेवा दल (एनसिसी) द्वारा प्रदान गरिने तालिमले युवाहरूलाई अनुशासित, जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रूपमा विकास गर्न मद्दत गर्ने लक्ष्य राखिएको छ। एनसिसीले असल अभ्यासको आदान–प्रदान गर्दै युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाको भावना प्रवर्द्धन गर्ने प्राथमिकता दिएको छ।

यही फागुन ९ गते नेपाल आएका उक्त भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेका छन्। भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ

0

काठमाडौँ: सशस्त्र प्रहरी बल (एपीएफ)की इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान गर्दै जाँदा सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई नियन्त्रणमा लिइएको हो।

गत शनिबार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन मा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। पीडित परिवारले जोशीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको हो। परिवारले जोशीले महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएका छन्।

सशस्त्र प्रहरी स्रोतका अनुसार, महत र जोशी प्रेम सम्बन्धमा रहेको खुलेको छ। घटनाको विस्तृत छानबिन गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

सिन्धुपाल्चोककी महत शौचालयको ढोकाको बलोमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। सशस्त्र प्रहरी जवान र असई हुँदै उनले यसै वर्ष इन्स्पेक्टरमा पदोन्नति हासिल गरेकी थिइन्।

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

0

काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि जनताको अपेक्षित रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताउनुभएको छ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतान्त्रिक व्यवस्थामाथि षड्यन्त्र भइरहेको भन्दै सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, र आर्थिक समृद्धि खोजेपनि उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र, र समुदायका जनताले अझै मौलिक हकको पूर्ण उपभोग गर्न नपाउँदा निराशा देखिएको बताउनुभयो।

“परिवर्तन विरोधी शक्तिहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेका छन्, त्यसप्रति हामी सचेत रहनुपर्छ,” अध्यक्ष दाहालले भन्नुभयो।

राष्ट्रको समृद्धिमा शिक्षाको भूमिकालाई जोड दिँदै उहाँले शिक्षित र दक्ष जनशक्ति नै देशको समग्र विकासको मेरुदण्ड हुने उल्लेख गर्नुभयो। साथै, विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीका अनुसार हाल विद्यालयमा ११२ छात्र र १३५ छात्रा अध्ययनरत छन्। गत वर्षको कक्षा १२ को परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएका थिए।

सो अवसरमा विद्यालयका जग्गादाता र संस्थापकलाई सम्मान गरिनुका साथै विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो।