Saturday, September 19, 2026
Homeअन्तराष्ट्रिययुक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने सम्झौता ‘अन्तिम चरणमा’

युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने सम्झौता ‘अन्तिम चरणमा’

काठमाडौं: युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने एक सम्झौता अन्तिम चरणमा पुगेको युक्रेनी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले जानकारी दिएकी छन्।

स्टाफनीशिनले सामाजिक सञ्जाल एक्समा “वार्ता धेरै रचनात्मक भएको र प्रायः सबै प्रमुख विषयहरू टुङ्गिएको” बताउँदै छिट्टै हस्ताक्षर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

तर, सम्झौतामाथि अमेरिकाको दबाब बढ्दै गएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की असन्तुष्ट देखिएका छन्। गत सेप्टेम्बरमा डोनल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवार रहँदा जेलेन्स्कीले खनिजसम्बन्धी सम्झौतालाई तथाकथित “विजय योजना” का रूपमा प्रस्तुत गरेका थिए। उनले अमेरिकाले युक्रेनलाई दिइरहेको सहयोगलाई औचित्य दिन उक्त प्रस्ताव अघि सारेका थिए।

अमेरिकी पहुँच र युक्रेनी असहमति

युक्रेनले आफ्नो भूगर्भीय अध्ययनका आधारमा विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण खनिज भण्डारण आफ्नै देशमा रहेको दाबी गरेको छ। यसमा एक करोड ९० लाख टन ग्राफाइट, लिथिअम, टाइटानिअम र रेअर अर्थ तत्वहरू छन्।

तर, सम्झौतासँगै अमेरिकाले युक्रेनी खनिज स्रोतहरूमा व्यापक पहुँच खोजेको र सम्झौताका शर्तहरू युक्रेनका लागि असहज हुँदै गएको देखिन्छ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रस्तावमा असहमति जनाउँदै गत बुधवार युक्रेनका रेअर अर्थ खनिजमध्ये ५० प्रतिशत अमेरिका दिने प्रस्ताव अस्वीकार गरेका थिए। उनले भनेका थिए, “म हाम्रो देश बेच्न सक्दिनँ।”

तर, आइतवार तयार गरिएको सम्झौताको दोस्रो मस्यौदा पहिलेभन्दा पनि कठोर बनेको बताइएको छ। पहिले राजस्व बाँडफाँटको प्रस्ताव भए पनि संशोधित सम्झौतामा अमेरिकाले खनिज स्रोतमा पूर्ण नियन्त्रण कायम गर्ने विषय समेटिएको छ।

रुसको कब्जा र रणनीतिक महत्त्व

युक्रेनका कतिपय खनिज भण्डारहरू रुसले कब्जा गरिसकेको छ। युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोका अनुसार, युक्रेनका ३५९ अर्ब डलर बराबरका स्रोतहरू रुसको नियन्त्रणमा छन्।

सन् २०२२ मा गरिएको मूल्याङ्कन अनुसार, रुसले युक्रेनको ६३ प्रतिशत कोइला खानी कब्जा गरेको छ। साथै, म्याङ्गनीज, सिजिअम, ट्यान्टलम र रेअर अर्थ खनिजहरूको ठूलो हिस्सा रुसको नियन्त्रणमा रहेको छ।

खनिजहरूलाई २१औँ शताब्दीको अर्थतन्त्रको बलियो जग मानिन्छ। यी खनिजहरू नवीकरणीय ऊर्जा, सैन्य उपकरण, विद्युतीय गाडी ब्याट्री तथा औद्योगिक पूर्वाधार निर्माणमा अत्यावश्यक मानिन्छन्।

चीनसँगको प्रतिस्पर्धा र अमेरिकी स्वार्थ

अमेरिका-युक्रेन खनिज सम्झौताका पछाडि अर्को प्रमुख कारण चीनसँगको प्रतिस्पर्धा हो। हाल विश्वका ७५ प्रतिशत रेअर अर्थ खनिज स्रोत चीनमा रहेको छ।

डिसेम्बरमा चीनले केही रेअर अर्थ खनिजहरूको अमेरिकामा निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकाले नयाँ आपूर्तिकर्ता खोज्न खोजिरहेको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले उक्त सम्झौताले “अमेरिका र युक्रेनलाई भविष्यमा सँगै ल्याउने” बताएका छन्।

तर, सम्झौतामाथि युक्रेनी असहमति बढ्दो छ। अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले अमेरिका-युक्रेन सम्झौतालाई समर्थन जनाउँदै भनेका छन्, “अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहयोग बराबरको खनिज स्रोत पाउनुपर्छ।”

जेलेन्स्कीले भने, युक्रेनलाई दिइएको सहायता अनुदान हो, ऋण होइन, त्यसकारण खनिज स्रोत साट्नुपर्ने कुनै बाध्यता नरहेको बताएका छन्।

कतिपय विश्लेषकहरूले अमेरिकी प्रस्तावलाई “औपनिवेशिक सम्झौता” भन्दै आलोचना गरेका छन्। तर, युक्रेनी सरकारले भने अमेरिकी लगानीकर्ताहरूलाई खनिज उत्खननमा आकर्षित गर्ने सम्भावनालाई फाइदाजनक बताउँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका