Saturday, June 27, 2026
Home Blog Page 525

तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न

0

काबुल: अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ। तालिबान सरकारले पश्चिमी देशहरूको सबै आलोचनाका बाबजुद लगातार नयाँ आदेश जारी गर्दै महिला अधिकारको उल्लङ्घन गरिरहेको छ।

यसअघि तालिबानले महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट हटाइसकेको थियो, र अब नयाँ आदेशअनुसार रेडियोमा पनि महिलालाई हटाइएको छ। अफगानिस्तानको रेडियोमा महिलाको आवाज अब सुनिने छैन।

अफगानिस्तान पत्रकार केन्द्रका अनुसार, तालिबानले कान्दाहारमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो। तालिबानको सूचना र संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार, रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ। यस बाहेक, तालिबानले अन्य कडा निर्देशनहरू पनि दिएका छन् जसको पालना रेडियो स्टेशन्सहरूले अनिवार्य रूपमा गर्नुपर्नेछ।

निर्देशन अनुसार, सबै रेडियो स्टेशनहरूले तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्नुपर्नेछ। साथै, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।

नयाँ अध्यादेशले विज्ञापनहरूको क्षेत्रमा पनि कडा प्रतिबन्ध लगाएको छ। औषधि, कस्मेटिक उत्पादन, र स्वास्थ्य सेवाहरूको विज्ञापनलाई सार्वजनिक स्वास्थ्य निर्देशनालयको आधिकारिक अनुमोदन बिना प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ। यसका साथै, रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीहरूले पनि सूचना र संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ।

अफगानिस्तान पत्रकार केन्द्रले यसका बिरुद्ध आवाज उठाउँदै यसलाई प्रेस स्वतन्त्रता र महिला अधिकारको उल्लङ्घन भएको बताएको छ। यो कदम अफगानिस्तानका पत्रकार र मिडिया प्रतिष्ठानहरूको लागि थप चुनौतीपूर्ण बनाएको छ, जसले स्वतन्त्रता र समावेशी समाजको लागि संघर्ष गर्दै आएका छन्। अन्तर्राष्ट्रिय समुदायले यस प्रवृत्तिको आलोचना गर्दै तालिबानलाई महिला अधिकार र प्रेस स्वतन्त्रता सम्मान गर्न दबाब दिएको छ।

ऊर्जा मन्त्री दिपक खड्काले भने- “अब लोडसेडिङ हुनसक्छ, उज्यालो नेपालको नायक भारत हो”

0

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब देशमा घरघरमा लोडसेडिङ हुने अवस्था आएको बताएका छन्। उनले साँझको समयमा लोडसेडिङ हुने सम्भावना व्यक्त गरे।

भारतबाट लगभग ८०० मेगावाट विद्युत् आयात भइरहेको र स्वदेशी उत्पादन एक हजार मेगावाटको आसपास रहेको भन्दै उनले लोडसेडिङको समस्या यसअघिको जस्तो ठूलो नदेखिएको बताए।

बुधबार राष्ट्रियसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले आफ्ना कार्यहरू प्रभावकारी रूपमा नगरेको आरोप लगाए। लोडसेडिङ अन्त्य भएको भनिएता पनि, उनले उद्योगहरूमा हालसम्म लोडसेडिङ कायम रहेको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘उज्यालोको नायक’का रूपमा प्रस्तुत गरिएकोमा मन्त्री खड्काले असन्तुष्टि जनाए। उनले भने, “उज्यालोको नायक उहाँ (कुलमान घिसिङ) होइन। बरु हामीलाई भारत सरकारलाई धन्यवाद दिनु पर्छ र निजी क्षेत्रलाई धन्यवाद दिनु पर्छ, जसले उत्पादन गरेर आपूर्ति गरेको छ।”

मन्त्री खड्काले प्राधिकरणले नाफा कमाएको भनिए पनि, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा प्राधिकरणले २ खर्ब रुपैयाँभन्दा बढी घाटा भोगिरहेको जानकारी दिए।

काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी

0

काभ्रे: काभ्रेको काभ्रे बहुमुखी क्याम्पस बनेपामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानलले जीत हासिल गरेको छ।

सभापतिका लागि भएको प्रतिस्पर्धामा नेविसंघका उम्मेदवार रोहिन पराजुली १५३ मतको फराकिलो अन्तरले विजयी भए। उनले २७२ मत प्राप्त गर्दा, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्वियुका मिलन गौतमले ११९ मत प्राप्त गरे। गौतम अनेरास्वियु र अखिल क्रान्तिकारी गठबन्धनबाट उम्मेदवार बनेका थिए।

निर्वाचनमा कुल ५४१ मतदातामध्ये ३९६ मत खसेको थियो।

अन्य पदाधिकारीतर्फ सचिवमा नेविसंघकी तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ विजयी भए। सदस्यहरूमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर (नेविसंघ) तथा सन्ध्या गिरी र सुनिता गुँइत (नेकपा एकीकृत समाजवादी निकट अनेरास्वियु) निर्वाचित भएका छन्।

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

0

काठमाडौं: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने तयारी भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे, जबकि राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे तय गरिएको छ।

प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ टेबुल गर्ने कार्यसूची पनि बैठकमा समावेश छ।

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफलको प्रस्ताव पेस गरिनेछ, साथै उक्त विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। गृहमन्त्री लेखकले नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

एएनए सम्मेलन क्यानडामा हुने

0

वासिङ्टन डी.सी.: एसोसिएशन अफ नेपालीज इन द अमेरिकाज (एएनए) द्वारा आयोजित यस वर्षको अन्तर्राष्ट्रिय नेपाली सम्मेलन आगामी अगस्त २२, २३, र २४ मा क्यानडाको क्यालगरीमा आयोजना हुने भएको छ।

एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार सन् २०२५ को सम्मेलन क्यानडाको क्यालगरीमा सम्पन्न हुनेछ। एएनएको ४२ वर्षको इतिहासमा ३७ वर्षपछि दोस्रोपटक क्यानडामा अन्तर्राष्ट्रिय नेपाली सम्मेलन आयोजना हुन लागेको अध्यक्ष अधिकारीले बताएका छन्।

गत मार्च ५, २०२५, बुधबार बसेको एएनएको कार्यसमिति, संरक्षक समिति, र सल्लाहकार समितिको संयुक्त भर्चुअल बैठकले सर्वसम्मत रूपमा सम्मेलनको स्थान र मिति तय गरेको थियो।

एएनए अध्यक्ष अधिकारीले देश-विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सपरिवार उपस्थित भई सम्मेलनका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन आग्रह गरेका छन्।

पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने

0

काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन आग्रह गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार मन्त्रिपरिषद्को २०७७ पुस २० गतेको निर्णयअनुसार समितिको स्वीकृति लिएपछि मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

समितिले स्वीकृति नलिइ प्रकाशित हुने पात्रोमा चाडपर्व, बिदा तथा अन्य महत्वपूर्ण विवरणहरूमा त्रुटि आउन सक्ने भएकाले त्यसो नगर्न अनुरोध गरेको छ। साथै, यस्ता अनधिकृत पात्रो बजारमा नआओस् भन्नका लागि अनुगमनलाई समेत कडा पारिएको छ।

समितिको स्वीकृति बिना प्रकाशित भएका पात्रो तथा भित्तेपात्रो बजार अनुगमनका क्रममा फेला परेमा जफत गरिने र प्रकाशकलाई कानुनी कारबाही गरिने समितिले चेतावनी दिएको छ।

यस विषयमा थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालयमा सम्पर्क गर्न सकिने ढुङ्गेलले जानकारी दिएका छन्।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रूपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ८० पैसा र बिक्रीदर १०४ रूपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २३ पैसा र बिक्रीदर नौ रूपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १० पैसा र बिक्रीदर ३१ रूपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३ रूपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २६ पैसा र बिक्रीदर २० रूपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रूपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६० रूपैयाँ ५९ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको जनाएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

मुआब्जा दिलाउने सहमतिपछि माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनःसञ्चालनमा

0

खोटाङ: मुआब्जाको माग गर्दै स्थानीयवासीले अवरुद्ध गरेको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ। केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार सम्पन्न सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेपछि जलविद्युत् आयोजना पुनः सञ्चालन गरिएको हो।

स्थानीयवासी लामो समयदेखि मुआब्जा नपाएको भन्दै आन्दोलनमा थिए। गत चैत ४ गते सुङ्देल र दिप्सुङको सिमानामा रहेको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्यामबाट पानी खोलामा फर्काएर विद्युत् उत्पादन बन्द गराएका थिए। राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको यस जलविद्युत् आयोजनाले आवश्यक मुआब्जा उपलब्ध नगराएको भन्दै स्थानीयवासीले आन्दोलन चर्काएका थिए।

सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समिति गठन गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए।

रावाखोलामा विभिन्न तीन जलविद्युत् कम्पनी – रावा इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड, र लोवर मिड रावाखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट द्वारा जलविद्युत् आयोजना सञ्चालन भइरहेको छ। केपिलासगढी गाउँपालिका-४ बाक्सिला, वडा नं.–६ दिप्सुङ, र वडा नं.–७ सुङ्देलका स्थानीयवासीले यी कम्पनीहरूले आफ्नो जग्गाको उचित मुआब्जा नदिएको गुनासो गर्दै आएका छन्।

जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन र पाइपलाइन विस्तारका क्रममा प्रयोग भएको जग्गाको क्षतिपूर्ति नपाएपछि स्थानीयवासीले चरणबद्ध आन्दोलन सुरु गरेका थिए। सङ्घर्ष समितिका संयोजक माइतीराज राईका अनुसार, तीनवटै जलविद्युत् कम्पनीहरूले अहिलेसम्म जग्गाधनीलाई क्षतिपूर्ति दिएका छैनन्।

मुआब्जा विवाद र स्थानीयको माग

निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेडले आफ्नो ट्रान्समिसन लाइन विस्तारका क्रममा बाक्सिलाका ३८ जनासहित ४९ जनाको निजी जग्गा प्रयोग गरेको छ। यस्तै, पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४ जना, बाक्सिलाका दुई जना र दिप्सुङका एक जनाको गरी ३८ कित्ता जग्गा प्रयोग भएको छ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सम्पन्न भएपछि मुआब्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नगरेको स्थानीयको गुनासो छ। साथै, उक्त कम्पनीले खोलामा १० प्रतिशत पानी नछाडेको आरोपसमेत लागेको छ।

हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्च अदालतको आदेश विपरीत कृष्णमाया खत्रीको जग्गामा पाइपलाइन निर्माण गरिरहेको पाइएको छ। साथै, उक्त कम्पनीले छ कित्तामा फैलिएको ३८४ रोपनी सरकारी जग्गा समेत विद्युत् उत्पादनका लागि प्रयोग गरिरहेको छ।

गत फागुन २७ गते सङ्घर्ष समितिले रावा इनर्जी डेभलपमेन्ट प्रालि र हलेसी ऊर्जा कम्पनी लिमिटेडलाई जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउन ध्यानाकर्षण गराएको थियो। गाउँपालिकाका सात वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, र जग्गाधनीहरूको सहभागितामा सम्पन्न सर्वपक्षीय भेलाले ३५ दिनभित्र मुआब्जा दिने सहमति गरेपछि आयोजनाको पुनः सञ्चालन सम्भव भएको हो।

पोखरा विमानस्थलबाट पहिलोपटक चीनको छेन्दुमा व्यावसायिक चार्टर उडान

0

छेन्दु (चीन): पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक चार्टर उडान सम्पन्न भएको छ। विमानस्थल उद्घाटन भएको दुई वर्षपछि मङ्गलबार पोखराबाट छेन्दुका लागि पहिलो अन्तर्राष्ट्रिय उडान सफलतापूर्वक सञ्चालन गरिएको हो।

यो ऐतिहासिक उडान पोखरा पर्यटन परिषद्को नेतृत्वमा निजी पर्यटन व्यवसायीहरूको पहल र पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स तथा नेपालस्थित चाइनिज एसोसिएसनको सहकार्यमा सम्पन्न भएको हो।

पहिलो अन्तर्राष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत १२६ सदस्यीय टोली छेन्दु पुगेको छ। टोलीले छेन्दुमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।

छेन्दु विमानस्थलमा नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रान्तका उच्च अधिकारीहरू तथा सिचुवान एयरलाइन्सका प्रतिनिधिहरूले पोखरेली टोलीलाई भव्य स्वागत गरेका थिए।

महानगर प्रमुख आचार्यका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरी १ मा उद्घाटन भए पनि दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। पोखरा महानगरपालिका र पर्यटन व्यवसायीहरूको निरन्तर प्रयासपछि पहिलो व्यावसायिक चार्टर उडान सम्भव भएको हो।

चिनियाँ राजदूतावासको सहयोगमा दुबै देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ (B2B) कार्यक्रमबारे छलफल भइरहेको जानकारी दिँदै उहाँले पोखरामा थप पर्यटक भित्र्याउने योजनासहित थप अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न पहल भइरहेको बताए। छेन्दुबाट १,२५० पर्यटक विभिन्न उडानमार्फत पोखरा आउने तय भइसकेको छ, भने पोखराबाट पनि पर्यटक पठाउने योजनामा महानगरपालिका लागेको छ।

बागलुङमा बेलायती र सिङुगापुर सेनामा भर्ती हुन चाहने युवाका लागि प्रशिक्षण केन्द्र सञ्चालन

0

ढोरपाटन (बागलुङ): बेलायती र सिङ्गापुरे सेनामा भर्ती हुन चाहने नेपाली युवाका लागि बागलुङमा आधुनिक प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ। भूतपूर्व चार जना बेलायती तथा दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाको संयुक्त लगानीमा करिब रु ५ करोड ५० लाखको लागतमा यो केन्द्र सञ्चालन गरिएको हो।

बागलुङ नगरपालिका–४ डाँडाखेतमा स्थापित यस प्रशिक्षण केन्द्रमा छात्रावासको सुविधा रहेको छ। केन्द्रका सचिव जङ्गबहादुर पुनका अनुसार सन् २०२६ को भर्तीका लागि इच्छुक युवाहरूको भर्ना प्रक्रिया सुरु भइसकेको छ। यसअघि बागलुङ, म्याग्दी र पर्वतका युवाहरूलाई तालिमका लागि पोखरा वा बुटवल जानुपर्ने बाध्यता थियो। यही समस्या समाधान गर्न उनीहरूको पहुँचमा प्रशिक्षण उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।

जैमिनी नगरपालिका–३ दमेकका भूतपूर्व बेलायती सैनिक पुनका अनुसार तीन वर्षअघि निर्माण थालिएको यस केन्द्रका लागि ६ रोपनी जग्गा खरिद गरिएको थियो। एकसाथ १०० जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिन सकिने सुविधा यहाँ छ।

पुनका अनुसार “बागलुङ, म्याग्दी र पर्व क्षेत्रका युवाहरू लाहुरे बन्न इच्छुक छन्, तर उपयुक्त प्रशिक्षण केन्द्रको अभाव थियो। यही आवश्यकता पूरा गर्न हामीले यो केन्द्र सञ्चालनमा ल्याएका हौँ। हालसम्म करिब रु ५ करोड ५० लाख लगानी भइसकेको छ।”

केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाका अनुसार १८ देखि २१ वर्ष उमेर समूहका युवाहरू बेलायती वा सिङ्गापुरे सेनामा भर्ती हुन योग्य हुन्छन्, तर तालिममा भने १६ वर्ष पूरा गरेपछि प्रवेश पाउन सकिन्छ। राना स्वयं सिङ्गापुर पुलिसबाट अवकाशप्राप्त व्यक्ति हुन्। हाल काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत छन्।