Tuesday, June 30, 2026
Home Blog Page 492

कोशी, गण्डकी र बागमतीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

0

काठमाडौँ: हाल देशमा मुख्यतः स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहेको छ।

कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो मौसमीय स्थिति राति पनि कायम रहनेछ।

महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने

0

काठमाडौं: पोप फ्रान्सिसको अन्त्येष्टि आगामी शनिबार, अप्रिल २६ मा हुने भएको छ। भ्याटिकनले अन्त्येष्टि समारोह स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुने जानकारी दिएको छ।

अन्त्येष्टि भ्याटिकन सिटीस्थित सेन्ट पिटर बासिलिकाको अगाडि सम्पन्न हुनेछ। भ्याटिकनका अनुसार पोपको पार्थिव शरीर बुधबार बिहान ९ बजे सेन्ट पिटर बासिलिकामा सार्वजनिक श्रद्धाञ्जलीका लागि ल्याइनेछ।

अन्त्येष्टिसम्मको समयसम्म पोपको पार्थिव शरीर त्यहीं राखिनेछ, ताकि श्रद्धालुहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सकून्।

हाल उनको शव सान्ता मार्टा निवासको प्रार्थना गृहमा राखिएको छ। यही निवासमा उनी विगत १२ वर्षदेखि पोपका रूपमा बस्दै आएका थिए।

१ हजार भ्रष्टाचार गर्नेलाई १ करोड २० लाख जरिवाना

0

काठमाडौं: संसारका केही देशहरूमा भ्रष्टाचारप्रति पूर्ण शून्य सहनशीलता नीति लागू गरिएको छ। जापान पनि त्यस्ता मुलुकहरूमध्ये एक हो, जहाँ सानो भ्रष्टाचारले पनि ठूलो मूल्य चुकाउनुपर्छ।

यस्तै एउटा घटना हालै जापानमा घट्यो, जसले सिस्टममा भ्रष्टाचार गर्नेलाई कडा सन्देश दिएको छ। एएफपी समाचार एजेन्सीका अनुसार, क्योटो शहरका एक बस चालकले जम्मा १ हजार जापानी येन (करीब ९७० नेपाली रूपैयाँ) व्यक्तिगत रूपमा राखेको आरोप लागेपछि उनलाई १ करोड २० लाख जापानी येन (करीब १ करोड १६ लाख नेपाली रूपैयाँ) बराबरको पेन्सन गुमाउनुपर्‍यो।

उक्त चालकले सन् १९९३ देखि २९ वर्षसम्म इमान्दारीपूर्वक बस चलाएका थिए। तर सन् २०२२ मा ५८ वर्षको उमेरमा, उनले यात्रुबाट प्राप्त भएको १ हजार येनको भाडा मेसिनमा हाल्नुको सट्टा आफ्नै खल्तीमा राखेका थिए, जुन बसमा जडित क्यामेराले रेकर्ड गर्‍यो। त्यतिबेला बसमा ५ जना यात्रु सवार थिए र कुल १,१५० येन तिरेका थिए।

प्रारम्भमा चालकले आरोप अस्वीकार गरे पनि भिडियो प्रमाणपछि उनी दोषी ठहरिए। त्यसपछि उनलाई जागिरबाट बर्खास्त गरियो र जीवनभरको पेन्सनसमेत खोसियो। उनले यो निर्णयविरुद्ध मुद्दा दायर गरे, जसमा तल्लो अदालतले उनीप्रति सहानुभूति देखाउँदै सजाय अत्यधिक भएको ठहर गर्‍यो।

तर पछि जापानको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्ट्याउँदै क्योटो शहरको निर्णयलाई सदर गर्‍यो। सर्वोच्च अदालतको भनाइ थियो, “यस किसिमका कार्यहरूले सार्वजनिक सेवा प्रणालीको भरोसा गुमाउँछ।”

यो घटनालाई लिएर सामाजिक सञ्जालमा मतविभाजन देखिएको छ। केहीले टिप्पणी गरेका छन्, “उनले गरेको गल्ती सानो थियो, सजाय भने अत्यधिक भयो। २९ वर्षको इमान्दारितालाई पनि ध्यानमा राखिनुपर्थ्यो।” तर अर्कातर्फ कतिपयले भनेका छन्, “यो भ्रष्टाचारको सुरुआत हो। चाहे सानो होस् या ठूलो, यस्ता गतिविधि सुरुदेखि नै रोकिनुपर्छ।”

“शिक्षकहरूले आन्दोलन रोक्नु हुँदैन”- प्रचण्ड

0

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐन जारी नहुँदासम्म आन्दोलन जारी राख्न शिक्षकहरूलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पटक–पटक भएका वार्ताहरू विफल भएपछि अब आन्दोलनलाई धैर्यपूर्वक अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

‘शिक्षक साथीहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभयो, पटक–पटक सम्झौता गर्नुभयो, तर पटक–पटक धोका पनि भयो। यसपटक त्यो स्थिति दोहोरिन नदिने जिम्मेवारी हामी सबैको हो,’ उनले भने।

उनका अनुसार शिक्षकहरूको माग अझै धेरै बाँकी छन्, र ती माग सम्बोधन नभएसम्म आन्दोलन रोकिनु हुँदैन।

एमालेकी नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउनुले सरकार शिक्षकहरूको मागप्रति कत्तिको गैरजिम्मेवार छ भन्ने कुरा प्रमाणित भएको बताइन्।

शिक्षकहरूको माग कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै प्रचण्डले अघिल्ला सम्झौताहरू कार्यान्वयन नगरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक भूमिका रहेको टिप्पणी गरे।

ब्राजिलियन लेजेण्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

0

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन्। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्न उनी नेपाल आएका हुन्।

एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार कार्लोस मंगलबार बिहान ८:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनले बुधबार हुने दोस्रो क्वालिफायर खेल— धनगढी एफसी र पोखरा थान्डर्सबीचको प्रतिस्पर्धा — हेर्ने कार्यक्रम रहेको छ।

यसअघि कार्लोस शुक्रबार नेपाल आउने कार्यक्रम तय भए पनि स्वास्थ्य समस्याका कारण भ्रमण स्थगित भएको थियो।

५१ वर्षीय कार्लोसलाई विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ। उनले सन् १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्दै सन् २००२ मा ब्राजिललाई फिफा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रचण्डको भनाइ: मानव संकटको समाधान क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग मात्र सम्भव

0

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले मानव जातिले भोगिरहेको संकटको समाधान क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गरेका छन्।

रूसी क्रान्तिका नेता भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।

प्रचण्डले सन्देशमा भनेका छन्, “महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरेर शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने प्रमाणित गर्नुभयो। आजको विश्वमा पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेका सन्दर्भमा लेनिनको विचार झन् सान्दर्भिक बनेको छ। मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ।”

उनले सन्देशमा नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्यसहित भएको पनि उल्लेख गरेका छन्।

“कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भएका छन्। उत्पीडित जनताको संघर्ष, त्याग र बलिदानका कारण हामी आज समावेशी, धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं,” उनले भनेका छन्।

प्रचण्डले अहिले केही प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताको उपलब्धि खोस्ने दुस्साहस गरिरहेको उल्लेख गर्दै भनेका छन्, “संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताको युगौँदेखिको सपना हो। यसको रक्षा र थप विकासमार्फत मात्रै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ।”

सङ्घीय संसद्का तीन समितिको बैठक आज बस्दै

0

काठमाडौं: सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठक बस्ने समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति रहेका छन्।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयले गरेका कामकारबाही, हालसम्मको कार्यप्रगति तथा आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट तयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग प्रत्यक्ष छलफल गरिनेछ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरूको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २:३० बजेका लागि बोलाइएको छ। बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको “सङ्घीय निजामती सेवा विधेयक, २०८०” माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गरिनेछ।

धनगढीमा जारी टिम ११औँ संस्कार क्रिकेट लिगको फाइनलमा कञ्चनपुर र टीकापुर भिड्दै

0

कैलाली: धनगढीमा जारी टिम ११औँ संस्कार क्रिकेट लिग प्रतियोगिताको फाइनल खेलमा नारायण स्पोर्ट्स क्लब कञ्चनपुर र युथ अफ टीकापुर, कैलालीबीच प्रतिस्पर्धा हुने भएको छ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी, धनगढीलाई चार विकेटले पराजित गर्दै नारायण स्पोर्ट्स क्लबले फाइनल यात्रा तय गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नारायण क्लबले २० ओभरमा ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको वेष्ट्रन एकेडेमी १७.५ ओभरमै ११९ रनमै अल आउट हुँदै प्रतियोगिताबाट बाहिरियो।

त्यसैदिन सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सायल गाउँपालिका, डोटीलाई पराजित गर्दै युथ टीकापुरले फाइनलमा स्थान सुरक्षित गरेको हो। सायलले दिएको १०६ रनको लक्ष्य युथ टीकापुरले १५.३ ओभरमै पूरा गर्दै सहज जित दर्ता गर्‍यो।

प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ बजे हुने आयोजकले जनाएका छन्। विजेता टोलीले रु १ लाख ११ हजार १११ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु ५५ हजार ५५५ नगदसहित ट्रफी प्रदान गरिनेछ।

गत चैत ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ।

मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण

0

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ। आयोजनाका लागि नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा र पाँचवटा घर अधिग्रहण गरिएपछि मुआब्जा वितरण गरिएको हो।

केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमका अनुसार प्रभावित १४ परिवारका जग्गा र पाँचवटा घरका लागि रु २१ करोड ७८ लाख ८५ हजार ९६७ मुआब्जा वितरण गरिएको छ। यसमध्ये रु १७ करोड ८७ लाख ८६ हजार ६५२ जग्गा र रु ३ करोड ९० लाख ९९ हजार ३१५ घर तथा टहराका लागि छुट्याइएको थियो।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको निर्णयअनुसार, प्रतिरोपनी रु १ करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मूल्यांकन गरिएको हो।

आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाको माग गर्दै लामो समयदेखि आन्दोलनरत थिए। मुआब्जा पाएपछि उनीहरू खुसी भएका छन्।

केन्द्र प्रमुख गौतमले मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध आसपास रहेका स्थानीयको स्थायी पुनर्स्थापनाका लागि आवश्यक मुआब्जा वितरण कार्य सम्पन्न भएको जानकारी दिनुभयो। ६९ मेगावाट क्षमता रहेको यस आयोजनाको बाँधले स्थानीय बस्तीमा डुबान र कटानको जोखिम उत्पन्न गरेपछि उक्त जग्गा अधिग्रहण गरिएको हो।

मानवीय क्षति हुन सक्ने सम्भावना देखिएपछि प्रभावित परिवारहरू सरकारले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गरिदिनुपर्ने माग गर्दै आएका थिए।

“ढिलो भए पनि मुआब्जा पाउँदा स्थानीय खुसी छन्,” भन्दै गाउँपालिका अध्यक्ष शुक्र चुमानले अब प्रभावित परिवारको सुरक्षा र पुनःस्थापनातर्फ थप पहल आवश्यक रहेको बताए।

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

0

नवलपरासी: पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडमा करिब ८५ लाख ८० हजार रुपैयाँ हिनामिना भएको खुलेको छ। संस्थाको सञ्चालक समितिका १५ सदस्यको मिलेमतोमा यस्तो अनियमितता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सहकारी रकम हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालत, नवलपरासीमा दर्ता भइसकेको छ। सो मुद्दामा प्रतिवादी सुरेश चौधरी (कुर्मी), वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी (कुर्मी) जनही रु ५ लाख धरौटी राखेर तारेखमा बसेका छन्।

जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले बाँकी १२ जना प्रतिवादी — अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव — अहिलेसम्म अदालतमा हाजिर नभएको जानकारी दिनुभयो।

“अदालतले १५ जना प्रतिवादीलाई पक्राउ पुर्जीसहित ३५ दिनभित्र उपस्थित हुन पत्र पठाएको छ,” खनालले बताए।

जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधका अनुसार सो सहकारी संस्थाविरुद्धको जाहेरी मुस्तफा शेखले दाङ (देउखुरी) मा रहेको राप्ती उपत्यका सहकारी दर्ता कार्यालयमा दर्ता गराएका थिए। जाहेरीका आधारमा नेपाल सरकार वादी भई जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार, सहकारी रकम हिनामिना गरेमा बिगो बराबरको जरिवाना र अधिकतम तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको लोधले बताए।