Sunday, July 5, 2026
Home Blog Page 449

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, २४२ जना सवार, उद्धार कार्य जारी

0

काठमाडौं: भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको एक अन्तर्राष्ट्रिय विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ देखिएको छ भने उद्धार टोलीहरू तत्कालै घटनास्थलमा परिचालन गरिएको छ।

विमान उडेको दुई मिनेटमै दुर्घटना

एयर इन्डियाको AI-171 उडान नम्बरको बोइङ ७८७-८ ड्रीमलाइनर विमान बिहीबार दिउँसो १:३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको थियो। तर उडान भरेको मात्र दुई मिनेटपछि, १:४० बजे, विमान मेघानीनगर नजिकै दुर्घटनामा परेको हो।

२४२ जना सवार, पूर्व मुख्यमन्त्री पनि यात्रुमा

विमानमा दुई पाइलटसहित १२ जना चालक दलका सदस्यहरू र २३० यात्रुहरू गरी कुल २४२ जना सवार थिए। स्रोतका अनुसार, गुजरातका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ भाजपा नेता विजय रुपानी पनि सोही विमानमा सवार थिए।

दमकल र उद्धार टोली सक्रिय

दुर्घटनापछि घटनास्थलमा ७ वटा दमकलका गाडी पठाइएका छन् र आगो निभाउने प्रयास जारी छ। बीएसएफ र एनडीआरएफका टोलीहरू पनि घटनास्थलमा सक्रिय छन्। एनडीआरएफले गान्धीनगरबाट तीन टोली र बडोदराबाट थप तीन टोली खटाएको जनाएको छ।

धुवाँले आकाश ढाकियो

धारपुरदेखि मेघानीनगरसम्म आकाशमा बाक्लो धुवाँ देखिएको स्थानीयहरूले बताएका छन्। सामाजिक सञ्जालहरूमा विमान दुर्घटनाका थुप्रै भिडियोहरू भाइरल भएका छन्, जसमा कालो धुवाँको विशाल मुस्लो देखिन्छ।

दुर्घटनाको कारण अज्ञात

हालसम्म दुर्घटनाको कारण पुष्टि भइसकेको छैन। अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेका छन्। अग्नि नियन्त्रक जयेश खाडियाले विमानमा आगो लागेको र नियन्त्रणमा लिन दमकल खटाइएको जानकारी दिएका छन्।

अरनिको राजमार्ग विस्तार: सूर्यविनायक–साँगा सडक सीमाभित्रका संरचना हटाइयो

0

काठमाडौँ, २९ जेठ: अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको क्रममा सडक सीमाभित्र रहेका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ। ६ लेनमा विस्तार भइरहेको सूर्यविनायक–धुलिखेल खण्डमा विशेषगरी भक्तपुर क्षेत्रअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको सडकमा सडक सीमा (७५ फिट) भित्र निर्माण गरिएका संरचना हटाइएका हुन्।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर क्षेत्रमा रहेका संरचना हटाउन निर्देशन दिएपछि धेरै घरधनीले स्वयंभू रूपमा संरचना हटाउन थालेका छन्।

आयोजनाले पहिलो चरणमा काभ्रेपलाञ्चोकतर्फको सडक सीमामा रहेका संरचना हटाएको थियो भने दोस्रो चरणमा भक्तपुर क्षेत्रको संरचना हटाइएको हो।

आयोजनाका अनुसार विस्तारित सडकको ७५ फिट क्षेत्रभित्र निर्माण गरिएका ८६ वटा घर तथा टहरा भत्काउनुपर्ने आवश्यकता छ।

राजमार्गको सीमाभित्र रहेका संरचना हटाउने विषयमा मुआब्जा लगायतका विषयमा विवाद हुँदै आएको र यही कारण करिब साढे दुई वर्षसम्म संरचना हटाउन ढिलाइ भएको थियो।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ, २९ जेठः नेपाल राष्ट्र बैङ्कले आज (जेठ २९ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

अन्य प्रमुख मुद्राको विनिमय दर यस प्रकार रहेको छ:

युरोपियन युरो: खरिददर १५६.०२, बिक्रीदर १५६.७०

बेलायती पाउन्ड (स्ट्रलिङ): खरिददर १८४.१०, बिक्रीदर १८४.९१

स्विस फ्र्याङ्क: खरिददर १६५.९२, बिक्रीदर १६६.६५

अष्ट्रेलियन डलर: खरिददर ८८.८१, बिक्रीदर ८९.२०

क्यानेडियन डलर: खरिददर ९९.७५, बिक्रीदर १००.१०

सिङ्गापुर डलर: खरिददर १०६.११, बिक्रीदर १०६.५७

जापानी येन (१० येन): खरिददर ९.४०, बिक्रीदर ९.४४

चिनियाँ युआन: खरिददर १८.९९, बिक्रीदर १९.०८

साउदी रियाल: खरिददर ३६.४०, बिक्रीदर ३६.५६

कतारी रियाल: खरिददर ३७.४६, बिक्रीदर ३७.६३

युएई दिराम: खरिददर ३७.१७, बिक्रीदर ३७.३४

थाई भाट: खरिददर ४.१८, बिक्रीदर ४.२०

मलेसियन रिङ्गेट: खरिददर ३२.२२, बिक्रीदर ३२.३६

दक्षिण कोरियन वन (१०० वन): खरिददर ९.९४, बिक्रीदर ९.९८

स्विडिस क्रोनर: खरिददर १४.२०, बिक्रीदर १४.२६

डेनिस क्रोनर: खरिददर २०.९२, बिक्रीदर २१.०१

हङकङ डलर: खरिददर १७.३९, बिक्रीदर १७.४७

कुवेती दिनार: खरिददर ४४५.७४, बिक्रीदर ४४७.६९

बहराइन दिनार: खरिददर ३६२.०१, बिक्रीदर ३६३.६०

ओमानी रियाल: खरिददर ३५४.५८, बिक्रीदर ३५६.१४

भारतीय रुपैयाँ (१०० रुपैयाँको दरमा) को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैङ्कले आवश्यक परेमा विनिमय दर जुनसुकै बेला परिमार्जन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैङ्कहरूले अपनाउने दर फरक हुन सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिइएको छ।

राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

0

वाशिङ्टन डीसी (अमेरिका), २९ जेठः अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

बुधबार ह्वाइट हाउसमा आयोजित विशेष समारोहमा राजदूत रेग्मीले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति ट्रम्पलाई बुझाउनुभएको नेपाली दूतावासले जनाएको छ।

सो अवसरमा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा सम्पूर्ण नेपाली जनताका तर्फबाट राष्ट्रपति ट्रम्पको उत्तम स्वास्थ्य, दीर्घायु र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, नेपाल–अमेरिकाबीचको द्विपक्षीय तथा आपसी हितका सम्बन्धहरू आगामी दिनमा अझै सुदृढ र प्रभावकारी हुँदै जाने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

राजदूत रेग्मीले अमेरिकाले सामाजिक तथा आर्थिक क्षेत्रका साथै नेपालका विकास प्राथमिकतामा दिँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो।

राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि बधाई दिनुभयो। उनले नेपाल–अमेरिका सम्बन्धलाई साझा चासोका क्षेत्रमा सहकार्यमार्फत थप मजबुत बनाउन अमेरिकाको प्रतिबद्धता दोहोर्‍याउनुभयो।

मलखादबिना कसरी पूरा होला ‘मधेशले देशलाई खुवाउने अभियान ?’

0

बरहथवा (सर्लाही), २९ जेठ:गत शुक्रबार मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भयो। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै ‘उत्पादन मधेशमा, विस्तार देशमा’ भन्ने नारा अघि सारेको छ। कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न ‘मधेशले देशलाई खुवाउने अभियान’ घोषणा गरिएको छ।

तर यथार्थमा भने मधेशका किसानहरू धान रोपाइँको सिजन सुरु भइसक्दा पनि मलखाद नपाएर समस्यामा परेका छन्। असारको सुरुमै धान रोप्न खेत खाली राखेका किसानहरूले जेठको दोस्रो साता तिर ब्याड राख्न थालेका छन्, तर ब्याड राम्रोसँग उम्रन डिएपी मल आवश्यक पर्छ। तर स्थानीय सहकारी संस्था र मल डिलरहरूमा हाल कुनै पनि मल उपलब्ध छैन।

बागमती नगरपालिका–१२, काजिराम टोलका किसान कालु बोट भन्छन्, “चारपटक सहकारीमा गएँ, तर मल आएको छैन भनेर फर्काइरहेका छन्। धान रोप्ने बेला आइसक्यो, तर मल कहिले पाइने हो भन्ने टुङ्गो छैन। यसरी कृषि मेरुदण्ड बन्ने भनेर भाषण गर्ने कुरा व्यवहारमा कसरी लागू हुने?”

साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत सहकारीहरूले मल वितरण गर्दै आएका छन्। बागमती–११ स्थित बागमती बचत तथा ऋण सहकारीका अध्यक्ष वासु खड्काका अनुसार मल वितरणको व्यवस्था दामासाही रूपमा हुने गरेको छ। तर, मल कहिल्यै समयमा नपाउने किसानहरूको साझा गुनासो हो।

बरहथवा नगरपालिका–५, हात्तीडण्डाका किसान सुरेन्द्र महतोले यस वर्ष दुई बिगाहा खेत धान खेतीका लागि तयारी अवस्थामा राख्नुभएको छ। हाइब्रिड मकै भित्र्याएर खेत खाली गरेकाले असारको सुरुमै रोपाइँ गर्ने तयारी थियो, तर मल नपाउँदा समस्या भएको उहाँ बताउनुहुन्छ।

“ब्याडमा धेरै मल नचाहिने भएर केही गरी टारेँ,” उहाँ भन्छन्, “तर रोपाइँमा त धेरै मल चाहिन्छ। उत्पादन लिन मल हाल्नै पर्छ, नत्र खेती खेर जान्छ।”

चुरे क्षेत्रका किसानहरू सठिया मकैमा युरिया हाल्न मल खोजिरहेका छन्। बागमती–१, हिरेडाँडाकी जमुना गोलेको मकै फौजी कीराले नष्ट गर्ने अवस्थामा पुगेको थियो। “कसैगरी विषादी छिटेर बचायौँ,” उहाँ भन्छिन्, “अब गोडमेल गर्नुपर्छ, त्यसपछि मल हाल्नुपर्छ। तर मल छैन, कहिले पाइन्छ थाहा छैन।”

सर्लाहीस्थित कृषि सामग्री केन्द्रका प्रमुख ध्रुव साहका अनुसार गोदाममा अहिले डिएपी र युरिया दुवै मल सकिएको छ। ढुवानीमा ढिलाइ भएका कारण मल आपूर्ति प्रभावित भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार केही दिनमै डिएपी मल आइपुग्नेछ र वितरण सुरु गरिनेछ।

यहाँका किसान वर्षमा तीन बाली लगाउने गर्छन्। त्यसैले जिल्लामा अन्य क्षेत्रको तुलनामा रासायनिक मलको माग दोब्बर छ। तर, मल प्रदेश सरकारको निर्णयबमोजिम मात्र पठाइने भएकाले समयमा पर्याप्त मल पाउन समस्या हुँदै आएको छ।

यसैका कारण कतै मल नपुग्ने त कतै बढी हुने अवस्था सिर्जना भएको र कालोबजारी हुने घटना समेत देखिएको छ। जिल्लास्थित नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले भन्नुभयो, “राज्यले आवश्यकतालाई हेरेर मल वितरण गर्नुपर्छ, नत्र किसान सधैँ मारमा पर्छन्।”

वीरगञ्जस्थित कृषि सामग्री कम्पनीका प्रमुख दुर्गाप्रसाद पाण्डेले युरिया र डिएपी मलको ढुवानी तीव्र गतिमा भइरहेको बताउँदै केही दिनमै डिपोहरूमा पुग्ने जानकारी दिनुभयो। तर, उहाँका अनुसार यो ‘सिजन’का लागि मलको कोटा प्रदेश सरकारले तोकेको छैन। यसैले अझै केही समय मल अभाव झेल्नुपर्ने देखिन्छ।

सर्लाहीमा कुल ८४ हजार ६७८ हेक्टर क्षेत्रफल कृषियोग्य भूमि छ। यहाँ हरेक वर्ष झन्डै २५ हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी मलको माग हुन्छ। तर, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत वितरण हुने मल मात्रा क्रमशः १० हजार र ८ हजार मेट्रिकटन मात्र हो।

साना किसान कृषि सहकारी कर्मैयाका अध्यक्ष उत्तम आचार्य भन्छन्, “मागको आधा मात्र मल वितरण हुने भएकाले किसानहरू भारतबाट मल ल्याउन बाध्य छन्। राज्यले समयमै, मागअनुसार र पारदर्शी रूपमा मल उपलब्ध गराउनुपर्छ।”

धानको उचित मूल्य नपाउँदा किसान निराश

0

त्रिवेणी (नवलपरासी), २९ जेठः चैतेधानको उचित मूल्य नपाएपछि नवलपुरका किसान निराश भएका छन् । उत्पादन राम्रो भए पनि बजार मूल्य न्यून हुँदा उनीहरूको लगानीसमेत उठ्न सकेको छैन ।

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा १० क्विन्टल चैतेधान उत्पादन गर्नुभयो । तर बजारमा प्रतिक्विन्टल रु. २,२०० मात्रै पाएपछि उहाँ चिन्तित हुनुहुन्छ । गत वर्ष भने उस्तै परिमाणको धान रु. ३,००० भन्दा बढी मूल्यमा बिक्री गर्नुभएको थियो ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनुभएका आलेका अनुसार, यस समूहले पाँच बिघामा धान खेती गरेको थियो । तर उचित मूल्य नपाएका कारण अधिकांश किसानले धान घरमै थन्क्याएका छन् ।

गैंडाकोटका अर्का किसान मानबहादुर थारु पनि प्रतिक्विन्टल रु. २,२०० मै धान बेच्न बाध्य भएको बताउनुहुन्छ । उहाँले लगानीसमेत नउठेको गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्र, नवलपुरका प्रमुख कूलप्रसाद तिवारीका अनुसार, सरकारले चैतेधानको समर्थन मूल्य रु. २,८७९ प्रतिक्विन्टल तोकेको छ । तर भारतबाट सस्तो मूल्यमा धान आयात भएकाले यहाँका किसानले बजारमा उचित मूल्य नपाएको हुनसक्ने उहाँको भनाइ छ ।

यो वर्ष नवलपुरमा झण्डै १,१०० हेक्टर जमिनमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दूध र मह बिक्रीबाट मनग्य आम्दानी गर्दै बागलुङका रघुनाथ

0

गलकोट (बागलुङ), २९ जेठः बसाइँसराइका कारण सुनसान भएको जैमिनी नगरपालिका–८ स्थित छिस्ती फुर्केसल्ला गाउँबीचमा एउटा उदाहरणीय परिवार अझै मेहनतको खेती गर्दै छ । बाँझिएको बारी, खण्डहर घरहरूका बीच, रघुनाथ पौडेलको परिवारले कृषिमा समर्पित जीवनशैलीले गाउँमै सम्भावना खोजिरहेको छ ।

६२ वर्षीय रघुनाथ र उनका ३३ वर्षीय छोरा राजन दिनभर गाईभैंसीको स्याहार तथा दूध व्यवस्थापनमा व्यस्त रहन्छन् । घरमै प्लास्टिक टनेल, तोरी पेल्ने मिल र कुटानी–पिसानी मिल रहेको यो परिवारको आयआर्जनको आधार पशुपालन, घाँसखेती र मह उत्पादन बनेको
छ ।

पाँच वर्षदेखि बाउछोरा मिलेर व्यावसायिक ढंगले दूध र मह उत्पादन गर्दै आएका छन् । गाउँमा बसाइँसराइ र बाँदरको आतङ्कका कारण परम्परागत बाली खेती घट्दो अवस्थामा छ भने पौडेल परिवार भने पशुपालनमा नयाँ सम्भावना देखिरहेको छ । “गाउँ खाली भयो, थुप्रै सहरतिर सरे तर हामी भने यही गाउँमै केही गर्ने सोच लिएर लागिरहेका छौं”, रघुनाथले भन्नुभयो, “हाल हामीसँग छवटा मुर्रा भैँसी, तीन गाई, आँगनमा ३० वटा मौरीका घार, दुईवटा टनेल, १० रोपनी घाँसखेतीको जमिन र तेल पेल्ने र पिस्ने मिल छन् । मासिक १ लाख २० हजार रुपैयाँ दूध बिक्रीबाटै आम्दानी हुन्छ ।”

गाईभैंसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्न घरमै मिल सञ्चालनमा छ । चितवनमा माछापालन गरेर फर्केका छोरा राजनको पनि विदेश जाने सोच छैन । बरु गाउँमै व्यावसायिक कृषक बन्ने लक्ष्यसाथ उनी क्रियाशील छन् । “दैनिक ४० लिटर दूध बागलुङ बजार पठाइरहेका छौं । ‘छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म’ मार्फत संरक्षण र आम्दानी दुवै भइरहेको छ”, राजनले बताउनुभयो । हाल फार्ममा छ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छाहरू हुर्कंदै छन् ।

बाँदरको आतङ्कका कारण अधिकांश स्थानीयले खेत जोत्न छाडेका बेला पौडेल बाउछोराले १० रोपनीमा बहुवर्षीय घाँसखेती गर्दै आएका छन् । साथै, बार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर रु दुई लाखभन्दा बढी आम्दानी गरिरहेको राजनले जानकारी दिनुभयो ।

उजाडिँदै गएको गाउँमा कृषि र पशुपालनलाई व्यावसायिक बनाउँदै पौडेल परिवार उदाहरणीय बनेको छ ।

माडीको धनलक्ष्मी झरना पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

0

भरतपुर (चितवन), २९ जेठ: चितवनको माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पहिल्यैदेखि पर्यटकीय गन्तव्यका रूपमा परिचित छन्। तर, यही क्षेत्रभित्र रहेको करिब ६० मिटर अग्लो ‘धनलक्ष्मी झरना’ भने अझै पनि धेरैको नजरबाट ओझेलमा छ।

वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले झरनालाई समेटेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पहल थालेको छ। बैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने यो झरना पछिल्लो समय स्थानीयस्तरमै आकर्षक गन्तव्य बन्दै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले जानकारी दिनुभयो।

तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको र बाँकी सिँढी आगामी वर्ष सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो। “बजेटको अभावले योजना अनुसार अघि बढ्न सकिएको छैन, तर बाटो बने पर्यटक सहजै लैजान सकिने अवस्था आउँछ,” परियारले भन्नुभयो।

माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडी क्षेत्रमा विसं २०२०–२२ तिर बस्ती बस्न सुरु भएको थियो। त्यसैबेलादेखि बैकुण्ठ ताल वरपर मेला लाग्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा चल्दै आएको हो। स्थानीय किंवदन्तीअनुसार धन प्राप्तिको कामना पूरा हुने विश्वासका कारण उक्त झरनालाई ‘धनलक्ष्मी झरना’ नाम दिइएको अधिकारीले बताउनुभयो।

धनलक्ष्मी झरनासम्म पुग्न भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत खरकट्टाबाट तीन किलोमिटर पक्की सडक हुँदै मोटर चल्ने बाटो छ। त्यसपछि करिब २० मिनेट उकालो हिँडेर बैकुण्ठ ताल पुगिन्छ। तालबाट झरनासम्म पुग्न डेढ घण्टाको पैदल यात्रा लाग्छ।

“अहिले धार्मिक आस्था र घुमफिर दुबैका लागि मानिसहरू यहाँ आउने गरेका छन्,” अधिकारीले भन्नुभयो, “सिँढी लगायत पूर्वाधार बनेमा अझ धेरै पर्यटक आकर्षित गर्न सकिन्छ।” हाल झरना र बैकुण्ठधाम क्षेत्रका अन्य सम्पदालाई समेटेर एकीकृत रूपमा प्रवर्द्धन गर्ने काम थालिएको उहाँको भनाइ छ।

वैकुण्ठधाम क्षेत्रमा पर्ने बैकुण्ठ ताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहारजस्ता स्थलहरू धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिन्छन्। यी सम्पदाहरूले माडीलाई पर्यटकको चासोको केन्द्र बनाइरहेका छन्।

पूर्ववडाध्यक्ष अधिकारीका अनुसार कान्तिपुर सामूहिक खेती, फार्म स्टे, अयोध्या मार्गजस्ता योजनाले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाइरहेका छन्।

नगर उपप्रमुख खेमप्रसाद महतोका अनुसार बैकुण्ठ क्षेत्रको एकीकृत विकास योजना अन्तर्गत धनलक्ष्मी झरनासम्म पर्यटक पु¥याउने लक्ष्यसहित काम अघि बढाइएको छ। “झरनाप्रति चासो बढ्दो छ, तर जङ्गलभित्र परेकाले धेरैलाई अझै जानकारी छैन,” उहाँले भन्नुभयो, “यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमार्फत यो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ।”

माडी भौगोलिक रूपमा निकै आकर्षक भए पनि दर्जनौँ खहरे खोला र तीनतर्फबाट चितवन निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले जङ्गली जनावरको समस्याले स्थानीयलाई सास्ती दिँदै आएको छ। निकुञ्जका वन्यजन्तु देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा क्षतिको भार बढी परेको स्थानीयको गुनासो छ।

“झरना, ताल र धार्मिक क्षेत्रलाई केन्द्रमा राखेर माडीको समग्र विकासको योजना बनाइएको छ,” उपप्रमुख महतोले भन्नुभयो, “अब बजेटको सुनिश्चितता गर्दै काम अघि बढाइन्छ।”

एकीकृत समाजवादीद्वारा मुद्दामा प्रतिरक्षाका लागि कार्यदल गठन

0

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा प्रतिरक्षा गर्न कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा कानुनी प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ।

अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित उक्त कार्यदलमा अधिवक्ता गजबहादुर ऐरी, दुर्गाप्रसाद चिमरिया र कपिलदेव ढकाल सदस्य रहेका छन्।

केन्द्रीय कानुन विभागका प्रमुख डा. देउमान सम्वाहाङ्फेका अनुसार कार्यदलले आवश्यक कागजात अध्ययन गरी विशेष अदालतमा पार्टी संगठनको तर्फबाट कानुनी प्रतिरक्षा प्रस्तुत गर्नेछ।

विभागले कानुनी शासनप्रति प्रतिबद्ध रही, राजनीतिक उद्देश्यले प्रेरित गलत आरोपहरू जनतामाझ स्पष्ट पार्ने जनाएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ २२ गते अध्यक्ष नेपालसहित ९३ जनालाई दोषी ठहर गर्दै १८ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

एलन मस्कले डोनाल्ड ट्रम्पसँग माफी मागे

0

काठमाडौं:गत हप्ता अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी एलन मस्कबीच सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भएको थियो। यसैक्रममा मस्कले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै पछिल्लो अभिव्यक्तिहरूको लागि माफी मागेका छन्। उनले लेखे, “गत हप्ताका केही पोस्टहरूका लागि म माफी चाहन्छु, ती अलि बढी भए।”

दुवैबीचको विवाद त्यसबेला गहिरिएको थियो जब मस्कले अमेरिकी सरकारको दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिए। त्यसपछि उनले ट्रम्पको खर्च र कर कटौतीसम्बन्धी विधेयकको तीव्र आलोचना गरे।

त्यतिमात्र होइन, मस्कले ट्रम्पविरुद्धको महाभियोगको समर्थनमा पोस्टसमेत गरेका थिए, यद्यपि उनले पछि उक्त पोस्ट हटाएका थिए। विवाद अझ बढ्दै जाँदा मस्कले ट्रम्प र बदनाम फाइनान्सियर जेफ्री एपस्टाइनबीचको विगतको सम्बन्धसमेत उल्लेख गरे, जसलाई ट्रम्पले “झूटो र पुरानो मुद्दा” भनेर खारेज गरे।

यता ट्रम्पले मस्कमाथि तीव्र प्रतिक्रिया दिँदै उनका कम्पनीहरू, विशेषगरी स्पेसएक्ससँग भएका सरकारी सम्झौता र अनुदानहरू पुनरवलोकन गर्ने चेतावनी दिए। एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भने, “मलाई लाग्छ एलन अहिले धेरै दुःखी र निराश छन्। हाम्रो सम्बन्ध अब सकिएको जस्तो देखिन्छ।”