Sunday, July 5, 2026
Home Blog Page 448

नेपाल कसैको मातहतमा रहेन र रहँदैन : प्रधानमन्त्री ओली

0

धुलिखेल, काभ्रेपलाञ्चोक: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो राष्ट्र भए पनि सदा स्वतन्त्र रहेको र कहिल्यै कसैको अधीनमा नपरेको बताएका छन्। काठमाडौं विश्वविद्यालय (केयू) को ३०औं दीक्षान्त समारोहको दोस्रो चरणलाई धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कुनै विदेशी शक्तिको मातहतमा नपरेको र भविष्यमा पनि नपर्ने दृढ विश्वास व्यक्त गरे।

“नेपाल नेभेर पोलोनाइज्ड, कसैको अधीनमा रह्यो र रहने छैन,” उनले भने, “हाम्रा पुर्खाहरूले तोपविरुद्ध चक्कु लिएर लडेर देशको स्वाधीनता जोगाएका हुन्। हामीले विदेशी शक्तिलाई ढिम्किन पनि दिएका छैनौं।”

केयूका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले नेपाली जनताको परिचय अब ‘नेपाली बहादुर’ मात्र नभई, ‘इमान्दार, मेहनती र शालिन’ नागरिकको रूपमा समेत प्रस्तुत गर्नुपर्ने बताए। “नेपाल अब दक्ष जनशक्तिको देश हो, रोजगार खोज्ने होइन, दिने देश बन्ने दिशामा अघि बढ्नुपर्छ,” उनले जोड दिए।

प्रधानमन्त्रीले नेपालमा अनुसन्धान (रिसर्च) र नवप्रवर्तन (इन्टोभेसन) को परम्परा पुरानै रहेको उल्लेख गर्दै भने, “हाम्रा पुर्खाहरूले तुलसी, बरपीपल जस्ता वनस्पतिको औषधीय महत्व पहिल्यै पत्ता लगाइसकेका थिए। अब हाम्रा विद्यार्थीहरूले अनुसन्धानमै समर्पित भएर अगाडि बढ्नुपर्छ।”

विश्वमा जल, वायु र आकाशमा शान्ति रहोस् भन्ने कामनाका साथ कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। “हाम्रा पूर्वजहरूले सधैं सबै क्षेत्रमा शान्तिको कामना गरेका थिए। यही कारण समृद्ध नेपाल, सुखी नेपाली भन्ने लक्ष्य अघि सारिएको हो,” उनले स्पष्ट पारे।

समारोहमा सहभागी दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ज्ञानलाई व्यवहारमा उतार्दै नयाँ चुनौतीको मौलिक समाधान गर्दै अघि बढ्न आह्वान गरे। “अध्ययन कहिल्यै सिद्ध हुँदैन। तपाईंहरूको योगदानले नेपालको शैक्षिक स्तरबारे उठाइएका शंका चिर्न सकिन्छ,” उनले भने।

नेपालको शिक्षा प्रणाली गुणस्तरीय नभएको भए हाम्रा चिकित्सक र नर्सहरू विदेशमा उत्कृष्ट रूपमा कार्य गर्न नसक्ने उल्लेख गर्दै उनले भने, “हाम्रो जनशक्तिको सफलताले नै नेपालको शिक्षा प्रणालीको उत्कृष्टता पुष्टि गर्दछ।”

समाप्तिमा प्रधानमन्त्री ओलीले “विद्याले सबै दिन्छ, तर घमण्ड त्याग्नुपर्छ। मित्रता बढाउनुहोस्, सेवाभावले काम गर्नुहोस्, र आफ्नो जीवनशैलीमा शालिनता ल्याउनुहोस्,” भन्ने सन्देश दिए।
सो अवसरमा उनले विभिन्न संकायमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे।

१४ जुनभित्र एमओयुमा हस्ताक्षर गर्न आइसीसीको एनसीसीहरूप्रति आग्रह, समयसीमापछि मान्यता नदिने चेतावनी

0

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले १४ जुनभित्र आपसी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्न सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह गरेको छ।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिबाट सम्पन्न एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव बाबुराम लामाका अनुसार, शनिबार, जुन १४ बिहान १ बजेसम्म (नेपाली समय) एमओयूमा हस्ताक्षर गर्ने अन्तिम म्याद तोकिएको छ।

महासचिव लामाले स्पष्ट पारे अनुसार, सो समयसीमाभित्र एमओयूमा हस्ताक्षर नगर्ने एनसीसीहरूलाई संघको मान्यता दिइने छैन। त्यस अवस्थामा सदस्यता व्यवस्थापन समिति गठन गरी सदस्यता वितरण प्रक्रिया अगाडि बढाइने उनले बताए।

आइसीसीले याद गराएको छ कि वि.सं. २०७८ सालको वैशाख २०–२१ (सन् २०२१ मे ३–४) मा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न महाधिवेशनबाट महेश कुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आधिकारिक मान्यता दिइसकेको हो। उक्त मान्यताको जानकारी विदेशस्थित कूटनीतिक नियोगहरूलाई वि.सं. २०८२ साल वैशाख ८ गते पत्रमार्फत गराइएको पनि स्मरण गरिएको छ।

आइसीसीका अनुसार, “सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिबाट सम्पन्न निर्वाचनविरुद्ध बद्री केसी पक्षले अदालतमा रिट दायर गरे पनि सर्वोच्च अदालतबाट कुनै अन्तरिम आदेश जारी नभएकाले हालको कार्यसमिति नै आधिकारिक हो भन्नेमा कुनै द्विविधा छैन।”

संघको नेतृत्वमा रहेका महेश कुमार श्रेष्ठको कार्यसमितिले हालको जटिल परिस्थितिमा सर्वपक्षीय सहमति र वृहत् एकता गराउने प्रयास गरिरहेको भन्दै आइसीसीले सबै एनसीसीलाई सहकार्य र समन्वयका लागि आग्रह गरेको छ।

यस प्रक्रियाको सफलतासँगै एनआरएनएमा लामो समयदेखि देखिएको विभाजन अन्त्य हुने र संस्थागत एकता सुदृढ हुने विश्वास गरिएको छ।

ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा चार संगीतकर्मी सम्मानित

0

सिन्धुपाल्चोक, चौतारा: ख्यातिप्राप्त गायक तथा संगीतकार स्वर्गीय प्रेमध्वज प्रधानको ८९औँ जन्मजयन्ती मंगलबार चौतारामा भव्य रूपमा मनाइएको छ। ‘गोल्डेन भ्वाइस’ का रूपमा चिनिने प्रधानको स्मृतिमा आयोजित कार्यक्रममा चार जना संगीतकर्मीलाई नगदसहित सम्मान प्रदान गरिएको हो।

गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा गायिका मीरा राणा, वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढली, गायक सुरजकुमार थापा, र सिन्धुपाल्चोकका गायक चन्द्रसिंह घलेलाई सम्मानित गरिएको हो।

गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ प्रदान गर्दै नगद १ लाख १ रुपैयाँसहित सम्मान गरियो। स्वास्थ्य कारणले कार्यक्रममा उपस्थित हुन नसकेकी राणाको तर्फबाट सम्मान उनका भाइ विजेन्द्र मिश्रले ग्रहण गरे।

त्यस्तै, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान’ वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई प्रदान गर्दै नगद ५० हजार रुपैयाँ दिइयो।

‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२’ गायक सुरजकुमार थापाले प्राप्त गरे भने ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान’ गायक चन्द्रसिंह घलेलाई प्रदान गरिएको थियो। क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगदसहित उनीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानकी पत्नी किरण प्रधानले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापा लगायतको उपस्थिति थियो।

प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले चौतारावासीको तर्फबाट प्रदान गरिएको सम्मानप्रति आभार प्रकट गरिन्।

गीतकार दिनेश अधिकारीले गायक प्रधानको साधना, सरल स्वभाव, र संगीतमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँमाथि विद्यावारिधि (PhD) गरिनु पर्ने आवश्यकता औँल्याए। साथै, चौतारामा कुनै स्थान प्रधानको नाममा नामकरण गर्नुपर्ने र छात्रवृत्ति स्थापना गर्नुपर्ने सुझाव स्थानीय सरकारलाई दिए।

नगरप्रमुख सापकोटाले गायक प्रधानलाई ‘राष्ट्रिय विभूति’ र ‘सिन्धुपाल्चोकको गौरव’ का रूपमा स्मरण गर्दै चोक निर्माण वा अन्य सम्मान कार्यक्रमका लागि नगरपालिकाले कुनै कञ्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिंह घले र रोशन श्रेष्ठले प्रेमध्वज प्रधानका लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। साथै, स्थानीय वनदेवी माविका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

स्व. प्रेमध्वज प्रधानको निधन वि.सं. २०७८ मा भएको थियो। उहाँको स्मृतिमा २०७९ सालमा स्थापना गरिएको प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले प्रत्येक दुई वर्षमा संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिने साधकलाई सम्मान गर्दै आएको छ।

प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

0

काठमाडौँ, ३० जेठ: जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति चैत १५ गते तीनकुनेमा भएको घटनासँग सम्बन्धित मुद्दामा प्रसाईँसहित सात जनालाई थुनामा राख्न आदेश दिएको हो। सोही घटनामा संलग्न अन्य ३२ जनालाई भने अदालतले रु १० हजारदेखि रु एक लाखसम्म धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायको फैसला या अन्याय? सफाइ दिने न्यायाधीशमाथि कालोमोसो

0

काठमाडौं: बम विष्फोटमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँट्टाभट्टामा जलाएको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालतबाट सफाइ दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका कार्यकर्ताहरूले अदालतमै प्रदर्शन गरेका छन्।

उनीहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालोमोसो प्रहार गरेका हुन्। न्यायाधीश थारू र अर्का न्यायाधीश अर्जुन महर्जनको संयुक्त इजलासले आलमविरुद्ध प्रमाण पर्याप्त नभएको ठहर गर्दै सफाइ दिएको थियो।

निर्णयप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका केही कार्यकर्ता इजलासमा पुगेर न्यायाधीश थारूमाथि कालोमोसो लगाएको घटनापछि सुरक्षाकर्मीहरूले हस्तक्षेप गरेका थिए। प्रहरीका अनुसार घटनामा संलग्न दुई जनालाई घटनास्थलबाट नियन्त्रणमा लिइएको छ।

यो घटना न्यायालयप्रति आक्रोशजन्य व्यवहारको एक उदाहरणको रूपमा आएको छ, जसले कानुनी प्रक्रिया र न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

जसपाका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा, विकास कोष दुरुपयोगको आरोप

0

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार सिंहलाई काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ गरिएको हो। प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

सिंहमाथि मधेश प्रदेश सरकारका योजनाहरूमा अनियमितता र योजना खरिद–बिक्रीमा संलग्न रहेको आरोप पनि लागेको छ। आयोगले प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सिंह महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी जनता समाजवादी पार्टीका सक्रिय नेता मानिन्छन्।

अख्तियारले यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूबारे पनि अनुसन्धान जारी रहेको जानकारी दिएको छ। यदि आरोप पुष्टि भएमा सिंहमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कानुनी कारबाही हुनेछ।

नेपाल र वेस्टइन्डिजबीच तीन खेलको टि-२० सिरिज सेप्टेम्बरमा शारजाहमा हुने

0

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा वेस्टइन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै वेस्टइन्डिजसँगको ऐतिहासिक टि-२० सिरिजको जानकारी दिएको हो।

सिरिज अन्तर्गत तीन वटै खेलहरू संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७, २८ र ३० तारिखमा हुनेछ।

यो सिरिज नेपालका लागि ऐतिहासिक हुने अपेक्षा गरिएको छ, किनभने वेस्टइन्डिज टि-२० विश्वकप विजेता टोलीहरूमध्ये एक हो र विश्व क्रिकेटमा ठूलो नाम राख्छ। नेपाल र वेस्टइन्डिजबीचको यो पहिलो द्विपक्षीय टि-२० सिरिज हो, जसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा स्थान थप सुदृढ गर्ने विश्वास गरिएको छ।

क्यानले वेस्टइन्डिजसँगको यो सिरिजले नेपाली युवा खेलाडीहरूलाई उच्चस्तरीय अनुभव दिने विश्वास व्यक्त गरेको छ। साथै, यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि तयारीको अवसर पनि दिने बताइएको छ।

क्यानका महासचिव प्रशान्त विक्रम मल्लले भने, “हामी वेस्टइन्डिज जस्तो अनुभवी र विश्वस्तरको टोलीसँग सिरिज खेल्न पाउँदा निकै उत्साहित छौँ। यो सिरिजले हाम्रो टोलीलाई ठूलो लाभ दिनेछ।”

नेपालले पछिल्ला केही वर्षमा टी–२० ढाँचामा प्रभावशाली प्रदर्शन गर्दै आएको छ। २०२4 मा भएको टी–२० विश्वकपमा नेपालको सहभागिता उल्लेखनीय रहेको थियो, र त्यही लयलाई अगाडि बढाउने प्रयास यस सिरिजमार्फत गरिनेछ।

खेल तालिका:

सेप्टेम्बर २७ — पहिलो खेल

सेप्टेम्बर २८ — दोस्रो खेल

सेप्टेम्बर ३० — तेस्रो खेल
स्थान: शारजाह क्रिकेट स्टेडियम, यूएई

विस्तृत खेल समय, प्रत्यक्ष प्रशारण विवरण तथा नेपाली टोलीको अन्तिम घोषणा चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ।

अहमदावाद विमान दुर्घटनाः २४२ जनाको मृत्युको आशंका, प्रधानमन्त्री मोदीले व्यक्त गरे दुःख

0

अहमदावाद, भारत: बिहीबार लण्डनतर्फ उडान भरिरहेको एक भारतीय यात्रुबाहक विमान भारतको अहमदावाद शहरको एक घना आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको आशंका गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत शोक सन्देश दिँदै भने, “अहमदावादको त्रासदीले हामीलाई स्तब्ध र गहिरो पीडामा डुबाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमै दुर्घटनामा परेको हृदयविदारक घटनाले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको छ।”

अहमदावादका प्रहरी आयुक्त जीएस मलिकले एएफपी समाचार संस्थालाई भने, “दुर्घटनामा कोही पनि जीवित रहेको देखिँदैन। विमान आवासीय र केही कार्यालय रहेको क्षेत्रमा खसेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।”

एक स्थानीय कर्मचारी, जसले आफ्नो नाम गोप्य राख्ने सर्तमा बोले, उनले भने, “हाम्रो कार्यालय दुर्घटनास्थलको नजिकै रहेको भवनमा छ। हामीले भवनका मानिसहरूलाई दोस्रो र तेस्रो तल्लाबाट हामफालेर ज्यान जोगाउने प्रयास गरेको देख्यौँ। विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो।”

भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार, दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा दुई जना पाइलट र आठ चालक दलका सदस्यसहित २४२ जना सवार थिए। लण्डनको ग्याटविक विमानस्थलतर्फ उडेको उक्त विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगाली र एक जना क्यानाडाली नागरिक सवार थिए।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले घटनालाई “विनाशकारी” भन्दै गहिरो समवेदना व्यक्त गरेका छन्। उनले पीडित परिवारप्रति सहानुभूति जनाउँदै सामाजिक सञ्जालमा शोक सन्देश राखेका छन्।

भारतीय नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार, विमानले उडान भरेपछि केही समयमै ‘मे डे’ आपतकालीन कल जारी गरेको थियो र विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ।

स्थानीय पुनम पटनीले एएफपीसँग भनिन्, “जब हामी घटनास्थलमा पुग्यौँ, त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरू आगो निभाइरहेका थिए। कतिपय शवहरू यति जलेका थिए कि पहिचान गर्न असम्भवजस्तै थियो।”

विमान अहमदावादको सिभिल अस्पताल र ‘हर्स क्याम्प’ क्षेत्रको बीचमा खसेको बताइएको छ। उद्धार कार्य जारी छ भने घटना सम्बन्धी विस्तृत अनुसन्धान थालिएको छ।

एयर इन्डियाको विमान दुर्घटनामा मृतक संख्या १०० नाघ्यो, प्रधानमन्त्री मोदी घटनास्थलतर्फ प्रस्थान

0

अहमदाबाद, भारत । एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान AI-171 दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १०० नाघेको छ। भारतीय सञ्चारमाध्यम ‘दैनिक भास्कर’का अनुसार, हालसम्म घटनास्थलबाट १०० जनाको शव निकालिएको पुष्टि भएको छ।

दिउँसो १:४० बजे उडेको केही समयमै अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएको बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा कुल २४२ जना सवार थिए। तीमध्ये १२ जना चालक दलका सदस्य थिए भने बाँकी यात्रु थिए। विमानमा भारतका १६९, बेलायतका ५३, पोर्चुगलका ७ र क्यानाडाका १ जना नागरिक सवार रहेको बताइएको छ।

विजय रूपाणी पनि सवार

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको जानकारी सार्वजनिक भएको छ। उनी बेलायतमा बसोबास गरिरहेकी छोरीलाई भेट्न जाँदै थिए। हाल उनको अवस्था कस्तो छ भन्ने पुष्टि भइसकेको छैन।

दुर्घटनाको कारण: उचाइ लिन नसकेको अनुमान

प्रत्यक्षदर्शीहरूद्वारा खिचिएका भिडियोहरू अनुसार, जहाज धावनमार्गबाट उडेलगत्तै उचाइ लिन नसकी तल झर्न थालेको थियो। केही सेकेन्डमै विमान मेघानीनगर नजिकैको आवासीय भवनमाथि खसेर विस्फोटसहित आगो लागेको देखिन्छ। उक्त भवन डाक्टरहरूको क्वार्टर भएको बताइएको छ, जहाँका कम्तीमा १५ जना डाक्टर घाइते भएका छन्।

घटनास्थलमा कालो धुवाँ र खरानीको मुस्लो

दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो। स्थानीयहरूले खिचेका भिडिओहरूमा कालो धुवाँ आकाशभर फैलिएको देखिन्छ। अहिले पनि उद्धार टोलीहरू आगो निभाउँदै शव निकाल्ने कार्यमा खटिएका छन्। घाइतेहरूलाई अहमदाबादस्थित सरकारी अस्पतालमा भर्ना गरिएको छ।

प्रधानमन्त्री र गृहमन्त्री घटनास्थलतर्फ

दुर्घटनाको खबर सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अहमदाबादतर्फ प्रस्थान गरेका छन्। दुवै नेता गुजरात राज्यका हुन् र घटनालाई उच्च प्राथमिकतामा राखेर समन्वय गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

एयर इन्डियाको विज्ञप्ति

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको पुष्टि गर्दै प्रारम्भिक जानकारी मात्र सार्वजनिक गरिएको छ। यद्यपि, मृतक र घाइतेको विस्तृत विवरण अझै आधिकारिक रूपमा प्रकाशित गरिएको छैन। घटनाको अनुसन्धान सुरु गरिएको जानकारी कम्पनीले दिएको छ।

थप जानकारी:

एनडीआरएफको ६ वटा टोली घटनास्थलमा खटिइरहेका छन्।

बडोदरा र सुरतबाट थप उद्धार टोलीहरू बोलाइएको छ।

रातभर उद्धार र खोजी कार्य जारी रहने भारतीय गृह मन्त्रालयले जनाएको छ।

विमानमा सवार कतिपय यात्रुको शव पहिचान गर्न डीएनए परीक्षण गरिने सम्भावना छ।

सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेजको माग गर्दै व्यवसायीहरूको प्रदर्शन

0

काठमाडौं: सुनचाँदी व्यवसायीहरूले गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।

बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले बजेटमार्फत ल्याएको अनावश्यक कर व्यवस्था तत्काल खारेज गर्नुपर्ने माग गरेका हुन्। उनीहरूका अनुसार बजेटमा सुनचाँदी गहनालाई ‘विलासिताको वस्तु’ मानेर गरिएको कर लागू गर्नु अव्यवहारिक र अन्यायपूर्ण छ।

प्रदर्शनका क्रममा व्यवसायीहरूले “विलासिता कर खारेज गर”, “सुनको भन्सार शुल्क ६ प्रतिशत लागू गर”, “सुनचाँदी व्यवसायका लागि स्पष्ट नीति तथा नियमावली बनाउ” जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

देशभरका सुनचाँदी व्यवसायीहरूले आ–आफ्ना पसलमा कालो व्यानर टाँसेका छन् भने केही स्थानमा पसल नै बन्द गरिएको छ। संघर्ष समितिका अनुसार, व्यवसायीहरूले आजै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन्।