सिन्धुपाल्चोक, चौतारा: ख्यातिप्राप्त गायक तथा संगीतकार स्वर्गीय प्रेमध्वज प्रधानको ८९औँ जन्मजयन्ती मंगलबार चौतारामा भव्य रूपमा मनाइएको छ। ‘गोल्डेन भ्वाइस’ का रूपमा चिनिने प्रधानको स्मृतिमा आयोजित कार्यक्रममा चार जना संगीतकर्मीलाई नगदसहित सम्मान प्रदान गरिएको हो।
गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा गायिका मीरा राणा, वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढली, गायक सुरजकुमार थापा, र सिन्धुपाल्चोकका गायक चन्द्रसिंह घलेलाई सम्मानित गरिएको हो।
गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ प्रदान गर्दै नगद १ लाख १ रुपैयाँसहित सम्मान गरियो। स्वास्थ्य कारणले कार्यक्रममा उपस्थित हुन नसकेकी राणाको तर्फबाट सम्मान उनका भाइ विजेन्द्र मिश्रले ग्रहण गरे।
त्यस्तै, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान’ वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई प्रदान गर्दै नगद ५० हजार रुपैयाँ दिइयो।
‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२’ गायक सुरजकुमार थापाले प्राप्त गरे भने ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान’ गायक चन्द्रसिंह घलेलाई प्रदान गरिएको थियो। क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगदसहित उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानकी पत्नी किरण प्रधानले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापा लगायतको उपस्थिति थियो।
प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले चौतारावासीको तर्फबाट प्रदान गरिएको सम्मानप्रति आभार प्रकट गरिन्।
गीतकार दिनेश अधिकारीले गायक प्रधानको साधना, सरल स्वभाव, र संगीतमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँमाथि विद्यावारिधि (PhD) गरिनु पर्ने आवश्यकता औँल्याए। साथै, चौतारामा कुनै स्थान प्रधानको नाममा नामकरण गर्नुपर्ने र छात्रवृत्ति स्थापना गर्नुपर्ने सुझाव स्थानीय सरकारलाई दिए।
नगरप्रमुख सापकोटाले गायक प्रधानलाई ‘राष्ट्रिय विभूति’ र ‘सिन्धुपाल्चोकको गौरव’ का रूपमा स्मरण गर्दै चोक निर्माण वा अन्य सम्मान कार्यक्रमका लागि नगरपालिकाले कुनै कञ्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिंह घले र रोशन श्रेष्ठले प्रेमध्वज प्रधानका लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। साथै, स्थानीय वनदेवी माविका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
स्व. प्रेमध्वज प्रधानको निधन वि.सं. २०७८ मा भएको थियो। उहाँको स्मृतिमा २०७९ सालमा स्थापना गरिएको प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले प्रत्येक दुई वर्षमा संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिने साधकलाई सम्मान गर्दै आएको छ।


