काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी कैदी पक्राउ परेकी छन्। शुक्रबार राति कारागारबाट भागेकी २५ वर्षीया सपना तामाङलाई काठमाडौंको असनस्थित बाँगेमुढाबाट पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार तामाङलाई फरार भएको केही घण्टामै प्रहरीले नियन्त्रणमा लिएको हो।
तामाङ अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेकी थिइन्। प्रहरीका अनुसार उनी शुक्रबार मध्यरातमा कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्।
प्रहरीले उनलाई भगाउन सहयोग गरेको आरोपमा भोजपुर नगरपालिका–११ का २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा समीरले फरार हुन सहयोग गरेको खुलेको प्रहरीको भनाइ छ।
एसएसपी खड्काका अनुसार समीरकी आमा सिता थापा पनि उदयपुर कारागारमा कैद सजाय भुक्तान गरिरहेकी छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केन्द्रीय कारागारबाटै कैदी फरार भएपछि प्रहरी र कारागार प्रशासनले आन्तरिक छानबिनसमेत सुरु गरेका छन्।


